रसुवा, ३० वैशाखः मित्रराष्ट्र चीन सरकारको सहयोगमा रसुवाको कालिकास्थान–५ स्थित जिबजिबेमा नीलकण्ठ नमुना आवासीय माध्यमिक विद्यालय भवन निर्माणको काम ६५ प्रतिशत पूरा भएको छ ।
चिनियाँ प्राविधिक तथा कामकादारको प्रत्यक्ष संलग्नतामा तीव्र गतिमा निर्माण भइरहेको सुविधासम्पन्न एवं भूकम्प प्रतिरोधी सो भवनको शिलान्यास २०८१ साल कात्तिकमा भएको थियो ।
विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद देवकोटाका अनुसार भवन निर्माणका लागि केही सामग्री चीनतर्फबाट झिकाइएको र गिटी–बालुवालगायतका सामग्री स्थानीय खोलानदीबाट ल्याएको, भवन निर्माण प्रक्रियामा केही स्थानीयबाहेक चिनियाँ पक्ष नै खटेको, अहिले पिलार तथा ढलानको काम सम्पन भएको तथा प्लाष्टरलगायतका काम भइरहेको र आगामी कात्तिक महिनभित्र भवन हस्तान्तरण गर्ने तयारीसहित निर्माणकार्य तीव्रगतिमा अघि बढिरहेको छ ।
निवनिर्मित विद्यालय भवनमा सानाठूला गरी ६० वटा कक्षाकोठा रहेको र घरबाट हिँडेर विद्यालय आउन नभ्याउने विद्यार्थीलाई लक्षित गरी करिब १५० क्षमताको आवासीय भवन निर्माण भइरहेको प्रधानाध्यापक देवकोटाले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समिति कार्यवाहक अध्यक्ष लोकनाथ पौडेलले २०७२ सालको गोर्खा भूकम्पका कारण सो विद्यालयमा क्षति पुगेपछि अस्थायी प्रकृतिको भवनमा पठनपाठन हुँदै आएको र विशेषगरी चिसोको समयमा विद्यार्थी बिरामी हुनेगरेको अवस्थामा नवनिर्मित सुविधासम्पन्न सो भवनबाट स्थानीय विद्यार्थीले अपेक्षा गरेभन्दा बढी राहत पाउने भएसँगै आमअभिभावकमा खुसी छाएको स्पष्ट गर्नुभयो ।
विसं २०२१ मा स्वर्गीय चुडामणि पौडेल, गोविन्दप्रसाद देवकोटा, डिल्लीराज देवकोटा र देविदत्त पौडेल तथा शिवप्रसाद देवकोटा, झग्रेन्द्रप्रसाद देवकोटासमेतका बुद्धिजीवीको सक्रियतामा स्थापना भएको सो विद्यालय २०३५ सालमा निम्न माध्यमिक र २०५८ सालमा माध्यमिक तहमा स्तरोन्नति भएको ज्येष्ठ नागरिक रुद्रनारायण देवकोटाले जानकारी दिनुभयो । हाल सो विद्यालयमा ३५० विद्यार्थी अध्ययनरत छन् । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया