काठमाडौँ, वैशाख ३० गते । अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा नर्भिक इनटरनेसनल अस्पतालले चार जना उत्कृष्ट नर्सिङ कर्मचारीलाई ‘डेजी अवार्ड‘ र अन्य २७ जना कर्मचारीलाई सम्मान गरेको छ ।
अस्पतालको सेवाप्रवाहमा नर्सिङ र पारामेडिकल कर्मचारीले महत्त्वपूर्ण योगदान पुर्याउँदै आएकाले अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा उहाँलाई लक्षित गरेर अवार्ड तथा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।
अस्पतालले अमेरिकास्थित डेजी फाउन्डेसनसँगको सम्झौता र सहकार्यमा अन्तर्राष्ट्रिय नर्स दिवसका अवसरमा अस्पतालका चार जना नर्सलाई डेजी अवार्डबाट सम्मान गरेको हो ।अवार्ड पाउनेमा सम्झना तामाङ, निलीमा श्रेष्ठ, अञ्जली गोले र रोनिसा पाण्डे हुनुहुन्छ ।
अस्पतालले उत्कृष्ट नर्सको छनोटका लागि केही समयअघि मनोनयनको प्रक्रिया खुला गरेको थियो । जसमा बिरामी तथा बिरामीका आफन्त, सहकर्मी नर्स, चिकित्सक र अन्य कर्मचारीले आफूलाई उत्कृष्ट लागेका नर्सलाई मनोनयन गर्ने व्यवस्था गरिएको थियो ।
मनोनयनमा परेकामध्येबाट उत्कृष्ट १० भित्र परेका अन्य छ जनालाई पनि अस्पतालले सम्मान गरेको छ । उत्कृष्ट १० मा पर्नेमा सिर्जना धामी, सृजना धौलाकोटी, उषा पन्त, सदीक्षा भट्टराई, वर्षा मैनाली र रुक्साना राई महर्जन हुनुहुन्छ ।
नर्सको सेवाभावको कदर र सम्मान गर्ने र उनीहरूको दक्षतालाई अन्तर्राष्ट्रिय रूपमा नै पहिचान दिने उद्देश्यले अस्पतालले डेजी फाउन्डेसनसँग सहकार्य गरेको हो । डेजी फाउन्डेसनमा हालसम्म ४६ देशका सात हजार नौ सयभन्दा बढी स्वास्थ्य संस्थाहरू आबद्ध छन् ।
कार्यक्रममा अस्पतालका निर्देशक मेघा चौधरीले डेजी अवार्ड नेपालमै पहिलोपटक नर्भिकले सुरु गरेको जानकारी दिनुभयो । उहाँले डेजी अवार्ड नर्सको करुणामय सेवाको सम्मान बताउँदै नर्सिङ टोलीप्रति प्रेम, सम्मान र गर्व गर्न चाहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै अस्पतालका नर्सिङ प्रमुख सरिता श्रेष्ठले नर्सको करुणा, समर्पण, उत्कृष्ट सेवा र मानवीय सेवाप्रतिको सम्मान डेजी अवार्ड भएको बताउनुभयो ।
यस्तै स्वास्थ्य मन्त्रालयको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी वरिष्ठ अस्पताल नर्सिङ प्रशासक बाला राईले बिरामी सेवामा नर्सको ठुलो भूमिका रहेको उल्लेख गर्दै सेवा मात्र नभएर व्यावसायिकतालाई सँगै लैजानु पर्ने बताउनुभयो ।
नर्सिङ एसोसिएसन अफ नेपालकी अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माले नर्भिकले नर्सलाई प्रोत्साहन गर्न डेजी अवार्ड सञ्चालन गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
अस्पतालले अन्तर्राष्ट्रिय नर्स दिवसकै अवसरमा नर्भिकमा नै १० वर्षभन्दा बढी समयदेखि निरन्तर काम गरिरहेका २१ जना नर्सिङ तथा पारामेडिक्सलाई पनि सम्मान गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया