जेठ १, २०८३ शुक्रबार May 15, 2026

एसइईमा चार जिपिए ल्याउने विद्यार्थीलाई एक लाखसहित सम्मान

गुल्मी जिल्लाभरबाट कुल छ जना विद्यार्थीले चार जिपिए ल्याएका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तम्घास (गुल्मी), १ जेठ : माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार जिपिए ल्याउने विद्यार्थीलाई गुल्मीमा नगद एक लाख रुपैयाँसहित सम्मान गरिएको छ । रेसुङ्गा नगरपालिका–१ मा रहेको महेन्द्र माध्यमिक विद्यालयले एसइईमा चार जिपिए ल्याउने विद्यार्थी अस्मिता पाण्डेलाई नगद एक लाखसहित सम्मानपत्रले सम्मान गरेको हो ।

आज विद्यालयमा आयोजित विद्यार्थी सम्मान कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीलगायतले पाण्डेलाई चेक र सम्मानपत्र प्रदान गर्नुभयो । गत चैतमा भएको एसइईमा महेन्द्र माविबाट ८० विद्यार्थी सहभागी थिए । जसमध्ये ६८ जना उत्तीर्ण भएको सहायक प्रधानाध्यापक लक्ष्मी पन्थी अर्यालले जानकारी दिनुभयो ।

गुल्मी जिल्लाभरबाट कुल छ जना विद्यार्थीले चार जिपिए ल्याएका छन् । जसमा पाण्डेसहित रेसुङ्गा माविकी दीक्षा पोखरेल, रुरुक्षेत्र गाउँपालिकाको रिडी माविकी मर्यादा पौडेल, रेन्बो इङ्लिस बोर्डिङ स्कुलका आरुसा श्रेष्ठ र खोमराज पन्थी एवं चन्द्रकोट गाउँपालिका दिब्रुङस्थित शारदा माविकी रीतिका गौतम रहेका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख थानेश्वर गौतमका अनुसार गुल्मीबाट साधारण धारतर्फ तीन हजार ३३९ विद्यार्थी सहभागी भएकामा २९३ अर्थात् ६८.६८ प्रतिशत उत्तीर्ण भएका छन् । साधारण धारमा ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थी २२१ जना छन् । त्यसैगरी, प्राविधिक धारतर्फ २५९ विद्यार्थी सहभागी भएकामा १८२ जना उत्तीर्ण भएका छन् । जुन कुल सहभागी सङ्ख्याको ७०.२८ प्रतिशत हो । महेन्द्र माविका प्रधानाध्यापक मरासिनीका अनुसार विद्यार्थी एवं शिक्षकको कडा मिहिनेत, अभिभावकको पूर्ण सहयोग एवं सरकारी पक्षबाट पनि आवश्यक सहयोगको कारण सफलता हासिल गरेको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया