जेठ ८, २०८३ शुक्रबार May 22, 2026

आलुखेतीबाट आत्मनिर्भर बन्दै किसान

विद्युत् जडानसँगै केही प्राविधिक उपकरण जडानको काम बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दशरथचन्द (बैतडी),  जेठ ८ गते ।  बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान केशव विष्ट यस वर्ष आलु राम्रो फल्ने आशामा हुनुहुन्छ । वार्षिक आलुखेतीबाट आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएका विष्ट उत्पादनसँगै आम्दानी पनि बढ्ने भएकाले दङ्ग हुनुहुन्छ ।

“समयमै पानी परेका कारण उत्पादन राम्रो हुने आशामा छौँ । खेतहरू आलुखेतीले हरियाली भएका छन्”, विष्टले भन्नुभयो, “हामीले आलुसँगै अन्य सिजनअनुसारका तरकारीखेती पनि गर्दै आएका छौँ ।”

बैतडीको पाटन नगरपालिका–८, ९ र १० आलुखेतीका लागि पकेट क्षेत्र हुन् । विष्टजस्तै यहाँका अधिकांश किसान आलुखेतीसँगै अन्य मौसमअनुसारका तरकारीखेतीबाट नै आत्मनिर्भर बन्दै गएका छन् । बैतडीबाट मात्रै वार्षिक डेढदेखि दुई करोड रुपैयाँसम्मको आलु निर्यात हुने गरेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । यस वर्ष समयसमयमा पानी परेकाले विगतको तुलनामा २० प्रतिशतसम्म वृद्धि हुनसक्ने कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जोशीले जानकारी दिनुभयो ।

आलुसँगै अन्य मौसमी तथा बेमौसमी तरकारीका लागि यो पकेट क्षेत्र भए तापनि शीतभण्डार र सिँचाइको अभावमा किसानले प्रत्येक वर्ष घाटा व्यहोर्दै आएका छन् । यस क्षेत्रमा एउटा शीतभण्डार छैन, आलुको बीउ राख्नका लागि यहाँबाट डडेल्धुरा लैजानुपर्ने बाध्यता रहेको किसानहरूले बताउँदै आएका छन् ।

शीतभण्डार सञ्चालनमा नआउँदा मर्कामा किसान

प्रदेश र सङ्घीय सरकारको लगानीमा पाटन–८ खोड्पे क्षेत्रमै बनेका दुई शीतभण्डारहरू वर्षौैँदेखि प्रयोगविहीन छन् । वर्षौँदेखि अलपत्र अवस्थामा रहेको शीतभण्डार सञ्चालनमा नआउँदा कृषि उपजलाई सुरक्षित राख्न नपाएको र आलुको बीउसमेत राख्न समस्या हुने गरेको अर्का किसान नरबहादुर विष्ट बताउनुहुन्छ । यस क्षेत्रमा बनेका शीतभण्डार पनि प्रयोगमा छैनन्, शीतभण्डार सञ्चालन गर्न सरोकरवाला निकायले चासो नदेखाएको उहाँको गुनासो छ ।

पाटन नगरपालिका–८ खोडपेमा प्रदेश सरकारको सहयोगमा करिब ४२ लाख रुपैयाँ लागतमा बनेको शीतभण्डार सञ्चालनमा आएको छैन । आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारको सहयोगमा निर्माण सम्पन्न भएको शीतभण्डार सञ्चालनमा आउन सकेको छैन । शीतभण्डारका सञ्चालक मोहनदेव भट्टले प्रदेश सरकारको रु १५ लाख अनुदानमा निर्माण गरेको भए पनि प्रयोगमा ल्याएका छैनन् । शीतभण्डार निर्माणका क्रममा अनुदान पाएका भट्ट अहिले सम्पर्कमा नरहेको कृषि ज्ञान केन्द्रका प्रमुख जोशीले बताउनुभयो ।

त्यसैगरी, खोडपे क्षेत्रमै बनेको अर्को शीतभण्डारको काम सम्पन्न हुनसकेको छैन । साविकको नयाँ सहर आयोजनाको कार्यालयद्वारा ८४ लाख २९ हजार ८१ रूपैयाँ लागतमा बनेको शीतभण्डारमा विद्युत् जडान नहुँदा प्रयोगमा आउन सकेको छैन ।

विद्युत् जडानसँगै केही प्राविधिक उपकरण जडानको काम बाँकी छ । उक्त शीतभण्डारमा विद्युत् जडानका लागि बजेट नआएकाले आगामी वर्षका लागि माग गरिएको नयाँ सहर आयोजनाको कार्यालय गाभिएको सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयका सूचना अधिकारी विशाल श्रेष्ठले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आलुखेतीबाट आत्मनिर्भर बन्दै किसान
२०८३ जेठ ८, शुक्रबार
विश्वकप २०२६ : समूह ‘ए’ बाट नकआउट पुग्ने टोलीको अनुमान गर्न कठिन
२०८३ जेठ ८, शुक्रबार
‘विश्व स्वास्थ्य सङ्गठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध’
२०८३ जेठ ८, शुक्रबार
लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा
२०८३ जेठ ८, शुक्रबार
विश्वकप क्रिकेट लिग–२ः नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै
२०८३ जेठ ८, शुक्रबार
नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा सिसि क्यामरा जडान गरिने
२०८३ जेठ ८, शुक्रबार
सीमान्तकृत विद्यार्थीलाई उच्च शिक्षामा पहुँच अभिवृद्धि गर्न छात्रवृत्ति कार्यक्रम
२०८३ जेठ ८, शुक्रबार