जेठ ८, २०८३ शुक्रबार May 22, 2026

‘सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान’ सुरु

सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई झोला स्टिकर ‘ब्यागेज ट्याग’ प्रदान गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ८ जेठः मनसुनजन्य विपद्का कारण हुनसक्ने सडक र सवारी क्षतिलाई न्यूनीकरण गर्न ‘सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान-२०८३’ सुरु गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र विभिन्न मजदूर सङ्घसङ्गठनको सहकार्यमा उक्त अभियानको आज गोँगबुस्थित नयाँबसपार्कबाट शुभारम्भ गरिएको हो ।

अभियानको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले शुभारम्भ गर्नुभयो । कार्यक्रममा उहाँले मनसुनजन्य विपद्का कारण हुनसक्ने सडक र सवारी क्षतिलाई न्यूनीकरण गर्न अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले पछिल्ला समय मौसम पूर्वानुमान महाशाखाबाट जारी गरिएको मौसम पूर्वानुमानको जानकारी मिल्न थालेको भन्दै उक्त मौसमलाई पछ्याएर यात्रा गर्दा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो । मौसमको पूर्वानुमानको कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी चालक, सहचालक र यात्रुको भएको उहाँको भनाइ छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले काठमाडौँको गोँगबुमा नयाँबसपार्क सञ्चालन भए पनि जथाभावी रूपमा बसपार्क बाहिरबाट सार्वजनिक यातायात सञ्चालन गर्दा काठमाडौँभित्रको ट्राफिक व्यवस्थापनमा समस्या भएको बताउनुभयो । सोही कारण बसापार्क बाहिरबाट यातायात सञ्चालन गरिए कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो । उहाँले अब सबै सार्वजनिक सवारीसाधनलाई अनलाइनमार्फत टिकट काट्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले विगतका दिनमा सिमलताल र झ्याप्ले खोलालगायत स्थानमा भएका सवारी दुर्घटनाबाट पाठ सिकेर उक्त अभियान सञ्चालनमा ल्याइएको भन्दै यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी यातायात व्यवसायी, मजदुर तथा यात्रुको भएको बताउनुभयो ।

उहाँले सरकारले अगाडि सारेको यो अभियान यातायात व्यवसायी, मजदुर र यात्रुको पनि भएकाले यसलाई पूर्ण रूपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारले गरेका सकारात्मक कामलाई यातायात व्यवसायीको सदैव साथ र सहयोग रहने उहाँको भनाइ छ ।

अध्यक्ष सिटौलाले बस पार्किङका लागि काठमाडौँसहित देशभर व्यवस्थित बसपार्क बनेको भन्दै अब बसपार्कबाट मात्र सार्वजनिक सवारीसाधन सञ्चालन हुनुपर्ने बताउनुभयो । उहाँले काठमाडौँभित्रको सबै सार्वजनिक बस नयाँबसपार्कभित्रबाट सञ्चालन हुने र यसको व्यवस्थापन लोत्से बहुउद्देश्यीय प्रालिले गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले सार्वजनिक यातायातका चालक, सहचालकले यात्रुलाई राम्रो व्यवहार गर्नुका साथै बाटोमा अग्र्यानिक र स्थानीय खाना खुवाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण प्राधिकरणका प्रतिनिधि रामबहादुर केसी, राष्ट्रिय सडक सुरक्षा परिषद्का प्राविधिक सल्लाहकार सरोज प्रधानलगायतले प्रविधिको उच्चतम प्रयोग गर्दै दुर्घटना न्यूनीकरण गर्न यो अभियानमार्फत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक केसीले यात्राका क्रममा सडक भाँसिने, पहिरो खस्ने, बाढी आउनेलगायत समस्याका कारण ठूलो जनधनको क्षति हुने गरेको भन्दै यो न्यूनीकरणका लागि अभियानले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले काठमाडौँबाट बाहिरिने सार्वजनिक सवारीसाधनलाई मनसुनजन्य गतिविधिबाट कुनै पनि क्षति नहोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उक्त अभियानअन्तर्गत गोँगबुको नयाँबसपार्क, कलङ्की, नागढुङ्गा, कोटेश्वर, जगाति, बल्खुलगायतका क्षेत्रमा यात्रु सहायता कक्ष सञ्चालन गरी मनसुनजन्य विपद्बाट जोगिनका लागि जनचेतनामूलक सामग्री प्रदान गरिने उहाँले बताउनुभयो । ट्राफिक प्रमुख अधिकारीले सार्वजनिक सवारीसाधनमा यथाशीघ्र सिसीक्यामेरा, जिपिएस सिस्टम जडान गरेर निगरानी गरिने पनि जानकारी दिनुभयो ।

यात्रुलाई ‘ब्यागेज ट्याग’ अनिवार्य

सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई झोला स्टिकर ‘ब्यागेज ट्याग’ प्रदान गरिने भएको छ । सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुको झोला हराउने, चोरी हुने, साटिनेलगायत समस्या बढ्न थालेपछि ‘ब्यागेज ट्याग’ अनिवार्य गर्न लागिएको हो ।

ब्यागेज ट्याग अनिवार्य गर्नेसम्बन्धी आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक अधिकारी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सिटौलाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

ब्यागेज ट्याग प्रणालीलाई आगामी जेठ १५ देखि अनिवार्य रूपमा लागू गर्नेगरी तयारी भइरहेको महासङ्घका अध्यक्ष सिटौलाले जानकारी दिनुभयो । कार्यक्रममा ट्राफिक प्रहरी वृत्त नयाँबसपार्कको भवन निर्माणमा सहयोग गर्ने ग्रिनसिटी अस्पतालका अध्यक्ष वरिष्ठ समाजसेवी लोकबहादुर टण्डन र सामाखुशी टाउन प्लानिङ समितिका अध्यक्ष पाण्डव श्रेष्ठलाई सम्मान गरिएको थियो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाका जहाजबाट पक्राउ इन्डोनेसियाली स्वदेश फिर्ता
२०८३ जेठ ८, शुक्रबार
लुम्बिनी प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत
२०८३ जेठ ८, शुक्रबार
प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण
२०८३ जेठ ८, शुक्रबार
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ : नेपालले अमेरिकालाई १२२ रनले हरायो
२०८३ जेठ ८, शुक्रबार
लुम्बिनीका मुख्यमन्त्री र सुदूरपश्चिम प्रदेश प्रमुखबीच भेट
२०८३ जेठ ८, शुक्रबार
रास्वपाले नेपाली जनतालाई निराश हुन दिँदैन : महामन्त्री बुर्लाकोटी
२०८३ जेठ ८, शुक्रबार
सरकारविरुद्ध आन्दोलनको तयारी भइरहेको प्रचण्डको दाबी
२०८३ जेठ ८, शुक्रबार