कालीकोट, जेठ १० गते । बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा भएको घटनाको छानबिन, दोषीमाथि कारबाही तथा पीडितलाई न्यायको माग गर्दै हिमाली युवा क्लबले कर्णाली करिडोर अनिश्चितकालका लागि बन्द गरेको छ ।
यही जेठ ८ गते हिमाली युवा क्लब, हिमाली गाउँपालिकाका राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल गुल्म मुख्यालय बाजुराबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै युवा क्लबले आइतबारदेखि कर्णाली करिडोर पुनः बन्द गरेको हो ।
क्लबले घटनास्थलको स्थलगत अनुगमन गरी सर्जमिन मुचुल्का तयार गर्न, घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गर्न तथा स्थानीय र पर्यटकबाट लुटिएका व्यक्तिगत एवं सार्वजनिक सम्पत्तिको क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ।
यसैगरी कुटपिटबाट घाइते भएका स्थानीयको उपचार खर्च ब्यहोर्नुपर्ने, विस्थापित परिवारलाई पुनःस्थापना गरी सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने तथा च्याचौरमा निर्माणाधीन प्रहरी चौकी भवनका नष्ट गरिएका सामग्रीको क्षतिपूर्ति उपलब्ध गराई निर्माण कार्य तत्काल अघि बढाउनुपर्ने मागसहित करिडोर बन्द गरिएको हो । बन्दका कारण करिडोरमा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया