जेठ १२, २०८३ मंगलबार May 26, 2026

काठमाडौँ महानगरको कक्षा ११–१२ छात्रवृत्तिमा २६ हजारभन्दा बढी आवेदन

छात्रवृत्ति परीक्षाका लागि आवेदन दिनेमा छात्र संख्या सर्वाधिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। काठमाडौँ महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन फाराम भरेका छन्। यसरी आवेदन दिनेहरूमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य रहेका छन्।

कुल आवेदकमध्ये अहिलेसम्म २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ। महानगरका शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार ३ हजार ३०२ जना आवेदकको विवरणमा केही त्रुटि देखिएकाले सच्याउनका लागि उनीहरूको मोबाइल र इमेलमा सूचित गरिएको छ।

यी विद्यार्थीहरूले भोलि दिउँसो १२ बजेसम्म आफ्नो विवरण सच्याएर पुनः पेस गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। अनलाइन प्रणालीमार्फत आवेदन दिन असजिलो महसुस गर्ने अभिभावक र विद्यार्थीहरूका लागि महानगरको शिक्षा विभागमा सहायता कक्षसमेत स्थापना गरिएको छ, जहाँबाट उनीहरूले आवश्यक सहजीकरण प्राप्त गर्न सक्नेछन्।

फाराम भर्ने क्रममा आवश्यक संवेदनशीलता नअपनाउँदा अहिलेसम्म ८४ जनाको आवेदन अस्वीकृत भइसकेको छ। सबै विधामा एउटै डकुमेन्ट अपलोड गर्ने तथा अनावश्यक कागजपत्र समावेश गर्ने आवेदकहरूको फाराम अस्वीकृत गरिएको महानगरले जनाएको छ।

शिक्षा अधिकृत खड्काले विद्यार्थीहरूको परीक्षा दिन पाउने अवसरलाई विभागले संवेदनशील भएर हेरेको भए तापनि तोकिएको समयभित्र अनिवार्य कागजपत्र अपलोड नगरेमा वा विवरण त्रुटिपूर्ण पाइएमा आवेदन स्वतः रद्द हुने स्पष्ट पार्नुभएको छ। महानगरले आवेदन फारामहरू स्वीकृत गर्ने प्रक्रिया भोलि जेठ १३ गतेसम्म जारी राख्नेछ।

आवेदन स्वीकृत भइसकेका विद्यार्थीहरूले जेठ १४ गते बिहान १० बजेपछि आफूले फाराम भरेकै वेबसाइटमा गएर प्रवेश पत्र डाउनलोड गरी रङ्गीन (कलर) प्रिन्ट गर्न सक्नेछन्। विद्यार्थीहरूले आफ्नो परीक्षा केन्द्र र परीक्षा सम्बन्धी अन्य विस्तृत जानकारी सोही प्रवेश पत्रबाटै प्राप्त गर्न सक्नेछन्।

यस वर्षको छात्रवृत्ति आवेदनमा विद्यार्थीहरूको सबैभन्दा बढी आकर्षण विज्ञान विषयमा देखिएको छ। विज्ञान विधाका लागि मात्रै १८ हजार ९९६ जनाले फाराम भरेका छन् भने व्यवस्थापनमा ७ हजार २७१ जना, कानुनमा ४०७ जना, शिक्षामा १३५ जना र मानविकीमा ७९ जनाको आवेदन परेको छ।

महानगरपालिका भित्र कक्षा १० सम्मको छात्रवृत्ति प्रदान गर्न वडा स्तरीय समितिले सिफारिस गर्ने भए तापनि कक्षा ११ र १२ को छात्रवृत्ति कोटाका लागि भने शिक्षा विभाग आफैँले परीक्षा सञ्चालन गर्ने गर्दछ।

परीक्षा सम्पन्न भएपछि विद्यार्थीहरूको योग्यता क्रमको सूची प्रकाशन गरिनेछ र सोही आधारमा म्याचिङ लिष्ट तयार पारी नाम सिफारिस गरिनेछ। यस प्रक्रियाबाट छात्रवृत्तिका लागि नाम सिफारिस भएका विद्यार्थीहरूले कक्षा ११ र १२ मा अध्ययन गर्दा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नुपर्ने छैन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया