काठमाडौंः कर्मचारीमा कोरोना सङ्क्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौंबाट बन्द गरिएको श्रम स्वीकृति सोमबार (आज) देखि पुनः सुरु हुने भएको छ।
कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा गत बुधबारदेखि बन्द गरिएको थियो । यसैबीच वैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ।
बोर्ड सचिवालयमा कार्यरत कर्मचारीलाई कोभिड–१९ सङ्क्रमण भएको हुँदा सेवाग्राही तथा सेवा प्रदायकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी अर्को सूचना नभएसम्म सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता सम्बन्धी सम्पूर्ण सेवा बन्द गरिएको छ।
सम्बन्धित व्यक्तिले आवश्यक कागजातसहित स्थानीय तहमा निवेदन दिई कागजात रुजुपछि आधिकारिक इमेलबाट बोर्ड सचिवालयको इमेलमा प्राप्त भएमा सचिवालयले कागजात रुजु गरी सम्बन्धित व्यक्तिको बैंक खातामा आर्थिक सहायतावापतको रकम पठाउने बोर्डले जनाएको छ । सचिवालयबाट अत्यावश्यक सेवा अन्तर्गत गरिने शव ढुवानी सञ्चालन गरिएको बोर्डले जनाएको छ।रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया