काठमाडौं । नेकपा एमालेले मंसिर ५ गतेका लागि तय गरेको केन्द्रीय कमिटी बैठक एक दिनअघि सारेर मंसिर ४ गते बोलाउने निर्णय गरेको छ ।
मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको मिति परिवर्तन गर्ने निर्णय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।
बैठकले मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलामा प्रस्तुत गरिने एजेण्डासमेत पारित गरेको छ । भेलामा स्थानीय तह निर्वाचनको तयारी र पार्टी सङ्गठन परिचालनलाई मुख्य विषय बनाइने उपमहासचिव भट्टले बताउनुभयो ।
उहाँका अनुसार राष्ट्रिय भेलामा अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राष्ट्रिय राजनीति, पार्टीको भावी कार्यदिशा र आगामी दिनमा गर्नुपर्ने कामबारे कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयिक राष्ट्रिय राजनीति र पार्टीका विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।
त्यसैगरी, उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने अर्का उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वको कार्यकालमा भएका विकास निर्माणका कामको तथ्याङ्कसहित विवरण प्रस्तुत गर्नुहुनेछ । पार्टीको शुद्धीकरण र सुदृढीकरणका विषयमा महासचिवले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको भट्टले जानकारी दिनुभयो ।
भट्टले भन्नुभयो, “केन्द्रीय कमिटीको बैठक हामीले ५ गते राख्ने भनेका थियौँ, त्यसलाई ४ गते सारिएको छ । आजको महत्त्वपूर्ण निर्णय राष्ट्रिय भेला तयारीसम्बन्धी हो । राष्ट्रिय भेलामा अध्यक्ष कमरेडको वर्तमान नेपालको राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामका विषयमा कार्यपत्र प्रस्तुत हुन्छ । त्यसैगरी समसामयिक राष्ट्रिय राजनीति र पार्टी विशेषमा वरिष्ठ नेताको कार्यपत्र प्रस्तुत हुन्छ । उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षका बारेमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने एमालेको कार्यकालमा भएका विकासका कामको तथ्याङ्कसहितको प्रस्तुति उपाध्यक्ष विष्णु पौडेलले गर्नुहुनेछ । पार्टीको शुद्धीकरण र सुदृढीकरणका विषयमा महासचिवले कार्यपत्र प्रस्तुत गर्ने निर्णय भएको छ ।”
बैठकमा राष्ट्रिय भेलाको तयारीबारे सङ्गठन विभाग प्रमुख तथा पार्टीका केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी गराउनुभएको थियो ।
राष्ट्रिय भेलामा पार्टी पुनर्गठनको विषयमा भने छलफल नहुने भट्टले स्पष्ट पार्नुभयो । उक्त विषय केन्द्रीय कमिटीले यसअघि नै टुङ्ग्याइसकेकाले थप छलफल आवश्यक नरहेको उहाँको भनाइ थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया