जेठ १७, २०८३ आइतबार May 31, 2026

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निम्न आय भएका परिवारका बालबालिका भने अझै टिनको छानामुनि गर्मीसँग सङ्घर्ष गर्दै पढ्न बाध्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खजुरा (बाँके), १७ जेठः पश्चिम नेपालको बाँकेलगायतका जिल्लामा अत्यधिक गर्मी बढेको छ । यहाँका अधिकांश सामुदायिक विद्यालयमा टिनको छानाले बनेका कक्षाकोठा रहेका छन् ।

नेपालगन्जको चर्को गर्मी (४१–४२ डिग्री उच्च तापक्रम) मा विद्यालयका बालबालिका टिनको छानामुनि उकुसमुकुस भई तरतरी पसिना चुहाउँदै पढ्न बाध्य छन् । छिनछिनमा बिजुली जाने समस्या, पङ्खाको अभावमा साना बालबालिकाको स्वास्थ्य र पढाइ दुवै प्रभावित भएको विद्यालयका शिक्षकहरु बताउँछन् । अत्यधिक गर्मीको मौसममा पटकपटक विद्युत् अवरुद्ध हुने समस्याले टिनको छानामुनिको पढाइ सकसपूर्ण बनेको छ । अधिकांश विद्यालयले प्राथमिक तहका साना बालबालिकालाई टिनको छानामुनि राखेर पढाउने गरेका छन् ।

गर्मीका कारण विद्यार्थी पटकपटक पानी खान जाने, टाउको दुख्ने, थकान हुनेजस्ता समस्या देखिने गरेको नेपालगन्ज उपमहानगरपालिका–२० राँझास्थित आदर्श माविका शिक्षिका हीरा गौतमले बताउनुभयो । डुडुवा गाउँपालिका–४ स्थित श्री माध्यमिक विद्यालय शाहपुर्वाका सहायक प्रधानाध्यापक टीका खड्का र नेपालगन्ज–१० स्थित शारदा आधारभूत विद्यालयकी शिक्षिका अल्का वर्णवालको अनुभव पनि उस्तै छ ।

विद्यालयमा सामान्य प्राथमिक उपचारको व्यवस्थामात्र भएकाले बिरामी विद्यार्थीलाई सकेसम्म विद्यालयमै सम्हाल्ने, नसके घर पठाउने गरिएको उहाँहरूको भनाइ छ । टिनका छानामा एउटा कक्षाकोठाको आवाज अर्को कोठासम्म सुनिन्छ । वर्षायाममा पानी पर्दा टिनका पाताले ठूलो आवाज निकाल्ने भएकाले पढाइमा थप अवरोध हुने शिक्षकहरूको भनाइ छ ।

तापक्रम घटाउने उद्देश्यले केही विद्यालयमा स्थानीय सरकारले टिनमुनि जिप्सन राखेको छ । तर नेपालगन्जको गर्मीमा त्यो पनि प्रभावकारी नभएको शारदा आधारभूत विद्यालयका शिक्षक धर्मराज जोशी बताउनुहुन्छ ।

नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद महशाखा प्रमुख गोर्खबहादुर थापाले टिनको छानामा जिप्सन राखेर तापक्रम घटाउने प्रयास गरिएको र नयाँ भवनहरू टिनका नबनेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसलाई दीर्घकालीन बनाउन नीति बनाउने काम अझै हुनसकेको छैन ।”

जनप्रतिनिधिहरू सुविधासम्पन्न भवन र बाताअनुकूलित वातावरणमा बसिरहेका बेला निम्न आय भएका परिवारका बालबालिका भने अझै टिनको छानामुनि गर्मीसँग सङ्घर्ष गर्दै पढ्न बाध्य भएको अभिभावकहरूको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो
२०८३ जेठ १७, आइतबार
उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य
२०८३ जेठ १७, आइतबार
सुर्तीजन्य पदार्थको सेवन त्याग्न मन्त्री मेहताको आग्रह
२०८३ जेठ १७, आइतबार
इरानतर्फ जाँदै गरेको मालवाहक जहाजमाथि अमेरिकी क्षेप्यास्त्र प्रहार
२०८३ जेठ १७, आइतबार
“सरकारको नियत हेर्दा आयोगका सिफारिस कार्यान्वयन हुने आशा छैन” : अनुपराज शर्मा (अन्तवार्ता)
२०८३ जेठ १७, आइतबार
म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ
२०८३ जेठ १७, आइतबार
अनिल झा नेतृत्वको सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित
२०८३ जेठ १७, आइतबार