सिरहा, २४ जेठः विद्यार्थीलाई अदालतको भूमिका, न्यायिक प्रक्रिया तथा कानुनी सेवाबारे जानकारी गराउने उद्देश्यले जिल्ला अदालत सिरहाले लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा आज ‘न्यायमा बाह्य पहुँच’ कार्यक्रम आयोजना गरेको छ ।
लहान नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा जिल्ला अदालत सिरहाका प्रमुख न्यायाधीश डा श्रीप्रकाश उप्रेतीसहित अन्य न्यायाधीश, अधिवक्ता, स्थानीय जनप्रतिनिधि, शिक्षक तथा विद्यार्थीको सहभागिता थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख न्यायाधीश उप्रेतीले प्रत्येक नागरिकको कानुन र न्यायमा सहज पहुँच सुनिश्चित हुनुपर्ने बताउनुभयो । “प्रत्येक व्यक्तिको कानुनमा सहज पहुँच हुन आवश्यक छ । न्यायको पहुँच समाजका निम्नवर्ग, विपन्न तथा पछाडि परेका समुदायसम्म पु¥याउन अदालतले वैतनिक वकिल तथा कानुनी सहायता कार्यक्रममार्फत निःशुल्क सेवा उपलब्ध गराउँदै आएको छ”, उहाँले भन्नुभयो ।
उहाँले यस्ता सेवाबारे आमनागरिकलाई अझ बढी जानकारी गराउन आवश्यक रहेको उल्लेख गर्दै स्थानीय तहले पनि न्यायिक सहायता प्रवाहमा महत्वपूर्ण भूमिका खेल्नसक्ने धारणा राख्नुभयो । “स्थानीय न्यायिक समितिले प्रभावकारी रूपमा काम गर्नसके न्यायप्राप्ति प्रक्रिया अझ सहज र नागरिकमैत्री बन्न सक्छ”, उप्रेतीको भनाइ थियो ।
कार्यक्रममा लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले यस्ता कार्यक्रमले न्यायप्रति नागरिकको विश्वास बढाउनुका साथै न्याय सबैका लागि हो भन्ने सन्देश प्रवाह गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “न्याय भनेको ठूलाबडाको मात्र विषय होइन, समाजका हरेक नागरिकको अधिकार हो भन्ने सन्देश यस्ता कार्यक्रममार्फत समुदायसम्म पुग्छ । विद्यार्थीलाई कानुनी चेतना दिनु आजको आवश्यकता हो ।”
क्याम्पस प्रमुख सञ्जय चौधरीले विद्यार्थीलाई व्यावहारिक तथा नागरिक शिक्षासँग जोड्ने यस्ता कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । त्यसैगरी, अधिवक्ता सन्तोष सुवेदीले कानुनी सचेतनाले नागरिकलाई आफ्नो अधिकार र कर्तव्यबारे स्पष्ट बनाउने धारणा व्यक्त गर्नुभयो ।
जिल्ला अदालत सिरहाले यसअघि जेठ ८ गते सिरहाको माडरस्थित बज्रमोहन विद्यालयमा यस्तै कार्यक्रम सञ्चालन गरेको थियो । अदालतले आगामी दिनमा न्यायसम्बन्धी सचेतनामूलक कार्यक्रम समुदायस्तरसम्म विस्तार गर्दै लैजाने तयारी गरेको जनाएको छ ।
कार्यक्रममा अदालत के हो, अदालतले कसरी काम गर्छ, नागरिकले न्याय प्राप्त गर्न अपनाउनुपर्ने प्रक्रिया तथा निःशुल्क कानुनी सहायता सेवाबारे विद्यार्थीलाई जानकारी प्रदान गरिएको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया