असार ९, २०८३ मंगलबार June 23, 2026

एमालेले अकस्मात डाक्यो संसदीय दल तथा केन्द्रीय सचिवालय बैठक

बैठकपछि पार्टीले औपचारिक धारणा सार्वजनिक गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा (एमाले) ले समसामयिक राजनीतिक घटनाक्रम र पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउपछि विकसित परिस्थितिबारे छलफल गर्न संसदीय दल तथा केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

पार्टी स्रोतका अनुसार आज दिउँसो २ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले संसदीय दलको बैठक बस्नेछ। बैठकमा संसद्को पछिल्लो अवस्था, सरकारको गतिविधि, विपक्षी दलको भूमिकालगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

त्यसैगरी साँझ अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा केन्द्रीय सचिवालय बैठक बस्ने कार्यक्रम रहेको छ। सचिवालय बैठकमा विशेषगरी उपाध्यक्ष विष्णु पौडेलको पक्राउपछि उत्पन्न राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आधिकारिक धारणा तथा आगामी रणनीतिबारे गहन छलफल हुने बताइएको छ।

पौडेललाई सोमबार एमालेको आन्तरिक चुनावी समीक्षा तथा संगठन पुनर्गठन कार्यक्रममा सहभागी भएका बेला पक्राउ गरिएको थियो। उनको पक्राउपछि एमालेले यसलाई राजनीतिक प्रतिशोध र विपक्षीमाथिको दबाबको श्रृंखलाबद्ध प्रयासको संज्ञा दिएको छ।

अध्यक्ष केपी शर्मा ओलीले यसअघि विज्ञप्ति जारी गर्दै पौडेलको गिरफ्तारीलाई ‘अलोकतान्त्रिक र प्रतिशोधपूर्ण कदम’ भएको टिप्पणी गरेका थिए। उनले सरकार विपक्षी दलका नेताहरूलाई लक्षित गर्दै अधिनायकवादी शैलीमा अघि बढ्न खोजेको आरोपसमेत लगाएका छन्।

यही पृष्ठभूमिमा बोलाइएका आजका दुई महत्वपूर्ण बैठकलाई एमालेको आगामी राजनीतिक रणनीति तय गर्ने निर्णायक बैठकका रूपमा हेरिएको छ। बैठकपछि पार्टीले औपचारिक धारणा सार्वजनिक गर्ने सम्भावना रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया