असार २३, २०८३ मंगलबार July 7, 2026

लायन्स इन्टरनेसनलको अन्तर्राष्ट्रिय डाइरेक्टरमा नेपालका राजन लम्साल निर्वाचित

तेस्रो नेपालीका रूपमा अन्तर्राष्ट्रिय डाइरेक्टर बने राजन लम्साल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हङकङ। विश्वकै सबैभन्दा ठूलो स्वयंसेवी सेवामूलक संस्था लायन्स क्लब्स इन्टरनेसनलको अन्तर्राष्ट्रिय डाइरेक्टर (International Director) पदमा नेपालका वरिष्ठ लायन नेता राजन लम्साल निर्वाचित भएका छन्। हङकङमा सम्पन्न लायन्सको १०८औँ अन्तर्राष्ट्रिय सम्मेलनबाट उनी सन् २०२६–२०२८ कार्यकालका लागि विश्व नेतृत्वमा चयन भएका हुन्। जुलाई ३ देखि ७ सम्म पाँच दिन सञ्चालन भएको सम्मेलन मंगलबार सम्पन्न भएको हो।

करिब १४ लाखभन्दा बढी सदस्य रहेको लायन्स क्लब्स इन्टरनेसनल विश्वका २१० भन्दा बढी देश तथा भौगोलिक क्षेत्रमा सक्रिय छ। विश्वभरबाट निर्वाचित हुने १८ अन्तर्राष्ट्रिय डाइरेक्टरमध्ये एकका रूपमा चयन भएका लम्सालले आगामी दुई वर्ष विश्व लायन्सको नीति निर्माण, नेतृत्व विकास तथा सेवा विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। उनले विशेषगरी भारत, दक्षिण एसिया तथा मध्यपूर्व क्षेत्रसँग सम्बन्धित विषयमा प्रतिनिधित्व गर्नेछन्।

नेपालमा लायन्स स्थापना भएको ५५ वर्षपछि अन्तर्राष्ट्रिय नेतृत्वमा पुग्ने उनी तेस्रो नेपाली हुन्। यसअघि सञ्जय खेतान (२०१५–२०१७) र बालकृष्ण बुर्लाकोटी (२०२३–२०२५) ले अन्तर्राष्ट्रिय डाइरेक्टरका रूपमा नेपाललाई प्रतिनिधित्व गरिसकेका छन्। लम्सालको निर्वाचनसँगै नेपालले पुनः विश्व लायन्स नेतृत्वमा आफ्नो सशक्त उपस्थिति कायम गर्न सफल भएको छ।

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले राजन लम्सालको निर्वाचनलाई नेपाली लायन्स आन्दोलनको इतिहासमा अर्को महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। उनका अनुसार अन्तर्राष्ट्रिय नेतृत्वमा नेपालको निरन्तर उपस्थितिले विश्व लायन्समा नेपाली नेतृत्वप्रतिको विश्वास र सम्मान अझ बढाएको छ।

लायन्स क्लब अफ काठमाडौं सामाखुशीका संस्थापक अध्यक्षसमेत रहेका लम्सालले आफ्नो निर्वाचनलाई व्यक्तिगत उपलब्धिभन्दा सम्पूर्ण नेपाली लायन्स परिवारको साझा सफलता भएको बताएका छन्। उनले यस अवसरले आफूलाई अझ जिम्मेवार, उत्तरदायी र सेवामुखी भएर काम गर्ने प्रेरणा दिएको उल्लेख गर्दै आगामी दिनमा नेपालका लागि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा लायन्स अन्तर्राष्ट्रियमार्फत थप अन्तर्राष्ट्रिय अनुदान (ग्रान्ट) ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले सदस्य संख्या वृद्धि मात्र नभई युवा पुस्तालाई लायन्स अभियानमा आकर्षित गर्ने, नेतृत्व विकासलाई प्राथमिकता दिने, आधुनिक प्रविधिको प्रभावकारी प्रयोग गर्ने तथा नेपालमा भएका सफल सेवामूलक परियोजनालाई अन्तर्राष्ट्रिय बोर्डसम्म पुर्‍याउने लक्ष्य रहेको बताएका छन्। साथै नेपाललाई अन्तर्राष्ट्रिय सेवामूलक गतिविधिको केन्द्रका रूपमा चिनाउने र पर्यटन प्रवर्द्धनमा पनि लायन्समार्फत विशेष कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिएका छन्।

वि.सं. २०२६ सालमा स्याङ्जाको ज्याग्दी खोलामा जन्मिएका लम्सालले व्यवस्थापन विषयमा स्नातक तहसम्म अध्ययन गरेका छन्। उनी ट्राभल, होटल, म्यानपावर, शिक्षा, बैंकिङ, जलविद्युत् तथा शेयर ब्रोकर व्यवसायमा सक्रिय उद्यमी हुन्। साथै “सामाजिक विकासका लागि सहयोगी हातहरू” संस्थाका संस्थापक अध्यक्षका रूपमा पनि सामाजिक क्षेत्रमा सक्रिय योगदान दिँदै आएका छन्।

सन् १९९७ मा लायन्स सदस्य बनेका लम्सालले २००१ मा लायन्स क्लब अफ काठमाडौं सामाखुशी स्थापना गरी संस्थापक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। त्यसयता उनी डिष्ट्रिक्ट गभर्नर, मल्टिपल काउन्सिल चेयरपर्सन, जीएलटी को-अर्डिनेटर, जीएमटी को-अर्डिनेटर, स्पेसियालिटी क्लब कन्ट्री को-अर्डिनेटर तथा एलसीआईएफ एरिया लिडरलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका विभिन्न जिम्मेवारीमा रहेर सफल नेतृत्व प्रदान गर्दै आएका छन्।

डिष्ट्रिक्ट गभर्नरका रूपमा कार्यरत रहँदा उनले ६५ वटा नयाँ लायन्स क्लब स्थापना गर्दै विश्वस्तरीय कीर्तिमान कायम गरेका थिए। उनले डिष्ट्रिक्ट भवन निर्माण अभियान सफलतापूर्वक सम्पन्न गराउनुका साथै नेतृत्व विकासका अन्तर्राष्ट्रिय प्रशिक्षकका रूपमा पनि भूमिका निर्वाह गरेका छन्। एलसीआईएफमार्फत स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन तथा मानवीय सेवाका विभिन्न परियोजनामा उनको उल्लेखनीय योगदान रहेको छ।

सामाजिक क्षेत्रमा पनि लम्सालको योगदान उल्लेखनीय छ। उनी राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका संस्थापक अभियन्तामध्ये एक तथा दीर्घकालीन केन्द्रीय सल्लाहकार हुन्। देशभर १३३ भन्दा बढी पुस्तकालय स्थापना अभियान, छात्रवृत्ति तथा शिक्षाकोष सञ्चालन, तराईका विभिन्न जिल्लामा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया कार्यक्रम, स्याङ्जामा सडक, विद्यालय, अस्पताल, विद्युत् विस्तार तथा सामुदायिक विकासका विभिन्न परियोजनामा उनले सक्रिय नेतृत्व गर्दै आएका छन्। उनी लायन्स मनाराम प्रतिष्ठानका संस्थापक सचिव तथा हाल उपाध्यक्ष पनि हुन्।

उनकी धर्मपत्नी लायन इन्दु लम्साल पनि पूर्व डिष्ट्रिक्ट गभर्नर हुन्। उहाँ लायन्स इन्टरनेसनलको प्रतिष्ठित Ambassador of Goodwill सम्मानबाट सम्मानित नेपाली महिला नेतृत्वमध्ये एक हुनुहुन्छ।

राजन लम्सालको अन्तर्राष्ट्रिय डाइरेक्टरमा निर्वाचनलाई नेपाली लायनिजम्का लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। विश्व नेतृत्वमा नेपालको उपस्थिति थप सुदृढ बनेसँगै अन्तर्राष्ट्रिय सहकार्य विस्तार, सेवा परियोजनामा लगानी वृद्धि, नेतृत्व विकास र नेपालको सामाजिक विकासका क्षेत्रमा थप अवसर सिर्जना हुने विश्वास लायन्सकर्मीहरूले व्यक्त गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नक्कली भुटानी शरणार्थी प्रकरणः रायमाझी र खाँणसहित अधिकांश प्रतिवादी दोषी ठहर, सात जनालाई सफाइ
२०८३ असार २३, मंगलबार
सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल
२०८३ असार २३, मंगलबार
चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
२०८३ असार २३, मंगलबार
सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : मन्त्री डा तिमिल्सिना
२०८३ असार २३, मंगलबार
सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : मन्त्री खनाल
२०८३ असार २३, मंगलबार
अब गृह प्रशासनको यात्रा सुरक्षा, सुशासन र निष्पक्षताको ठोस नतिजामा देखिनेछ : गृहमन्त्री
२०८३ असार २३, मंगलबार
प्रधानमन्त्री कार्यालयको निर्देशनपछि डिडिसीमा दूधको गुणस्तर सुधार
२०८३ असार २३, मंगलबार