असोज २१, २०८३ बुधबार October 7, 2026

ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

नुनथला–जौबारी–कुभिन्डे–हरमटार सडकको प्रगति १८ प्रतिशत र जालपा–हुर्लुङ–सप्तेश्वर–बाक्सिला सडकको भौतिक प्रगति १३ प्रतिशतमात्रै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
खोटाङ, २९ असारः निर्माण व्यवसायीले समयमा काम नगर्दा खोटाङका दुई सडकको कालोपत्र योजना अधुरै रहने भएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकको नुनथलाबाट जौबारी–कुभिन्डे–हरमटार हुँदै ऐसँेलुखर्कबजार जोड्ने सडक र सोही खण्डको हुर्लुङबाट जालपा–सप्तेश्वर–बाक्सिलाबजार जोड्ने ग्रामीण सडक कालोपत्र योजना अपुरो हुने भएको हो ।

कोशी प्रदेश सरकारबाट विनियोजित बजेमार्फत अस्फाल्ट कालोपत्र गर्ने भनिएको यी दुई सडकको काम कालोपत्र गर्ने चरणमा पुगेपछि अलपत्र परेको छ । दुवै सडकको कालोपत्रको काम यही असार १५ गतेभित्र सक्नेगरी निर्माण कम्पनी बिसी–पिसी–पीकेबी जेभीले भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमा ठेक्का सम्झौता गरेको थियो ।

निर्माण व्यवसायीले सडक कालोपत्र गर्न आवश्यक सामग्री तयार पारे पनि म्याद र मौसमका कारण काम अघि बढ्न नसकेको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इन्जिनियर विनम दाहालले जानकारी दिनुभयो । नुनथला–जौबारी–कुभिन्डे–हरमटार सडक रु दुई करोड ३८ लाख ३८ हजारमा दुई हजार २०० मिटर खण्डमा कालोपत्र गर्नेगरी निर्माण व्यवसायीले काम सुरु गरेको थियो ।

सोही ठेकेदार कम्पनीले हुर्लुङबाट जालपातर्फ दुई हजार ५०० मिटरमा अस्फाल्ट कालोपत्र गर्नेगरी रु दुई करोड ५३ लाख ५४ हजारमा सम्झौता गरेको थियो । हालसम्म नुनथला–जौबारी–कुभिन्डे–हरमटार सडकको प्रगति १८ प्रतिशत र जालपा–हुर्लुङ–सप्तेश्वर–बाक्सिला सडकको भौतिक प्रगति १३ प्रतिशतमात्रै भएको कार्यालयले जनाएको छ ।

सम्झौताअनुसार ड्रेन, रिटेनिङ वाल, ग्याविन जाली, सवबेस, कजवे ढलानलगायतका काम गरिसकिएको छ । तर बेस राखेर कालोपत्र गर्ने समयमा निर्माण व्यवसायीले काम अघि बढाउन नसकेको स्थानीयले बताएका छन् । करिब महिना दिनको काम बाँकी रहँदा नियमित वर्षा भइरहेका कारण ठेकेदार कालोपत्र गर्नबाट पछि हटेको कार्यालय प्रमुख दाहालले जानकारी दिनुभयो । बेलामा ‘बिटुमिन’ किनेर ल्याउन नसकिएका कारण कालोपत्रको काम पूरा गर्न नसकिएको निर्माण व्यवसायीका प्रतिनिधिले बताएका छन् ।

कालोपत्र हाल्ने चरणमा पुगेपछि कालोपत्र नै नगरी काम छाडिँदा राज्यको रकम खेर जाने अवस्था सृजना भएको हुर्लुङका स्थानीयवासी महन गुरुङले बताउनुभयो । म्याद थप भए करिब महिना दिनमा कालोपत्र सकिने कार्यालयले जनाएको छ ।

ठेकेदार कम्पनीले गत वैशाख ३ गते दुवै सडकको कालोपत्र गर्ने कबोलसहित ठेक्का सम्झौता गरेको थियो । सम्झौता गरेको लामो समयसम्म विभिन्न बहानामा निर्माणको काम सुरु नगरी बसेका निर्माण व्यवसायीका प्रतिनिधिले अन्तिममा आएर काम सुरु गरे पनि वर्षाका कारण काम रोकेर हिँडेका हुन् । कार्यालय तथा स्थानीयको पर्याप्त सहयोग हुँदाहुँदै दुवै सडक कालोपत्र नगरी निर्माण व्यवसायी निर्माणस्थल छाडेर हिँडेपछि स्थानीय आक्रोशित बनेका छन् ।

दश स्थानीय तह रहेको जिल्लामा मध्यपहाडी लोकमार्गबाहेक अन्य ग्रामीण सडक अहिलेसम्म कालोपत्र भएका छैनन् । निर्माण व्यवसायीले सडक कालोपत्रका लागि निर्माणस्थलमा ल्याएका निर्माण सामग्रीसमेत निर्माणस्थलमै छाडेर हिँडेपछि यातायात सञ्चालनमा समस्या भएको यातायात व्यवसायीले बताएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वी जेरुसेलममा एकै पटक ६९ जना विस्थापित, सन् २००९ यताकै ठूलो घटना
२०८३ असोज २१, बुधबार
नेपाल-रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न
२०८३ असोज २१, बुधबार
रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान काभ्रेपलाञ्चोकमा सुरु
२०८३ असोज २१, बुधबार
सुदूरपश्चिम प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित
२०८३ असोज २१, बुधबार
प्रधान सेनापति सिग्देलद्वारा बेलायती उच्च सैनिक तथा सरकारी अधिकारीसँग भेटवार्ता
२०८३ असोज २१, बुधबार
स्क्रब टाइफस ७४ जिल्लामा फैलियो, १० हजारभन्दा बढी संक्रमित
२०८३ असोज २१, बुधबार
काँग्रेस महाधिवेशनः १० बजेदेखी मतदान, कुन प्रदेशको कहाँ, हेर्नुहोस् ?
२०८३ असोज २१, बुधबार