काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के, नेपालको लायन वर्ष २०२६/०२७ को क्याबिनेट अफिसर्स पदस्थापन तथा प्रथम नियमित जिल्ला क्याबिनेट बैठक शनिबार काठमाडौंको नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा भव्य रूपमा सम्पन्न भएको छ।
डिष्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स अन्तराष्ट्रियका इन्टरनेशनल डाइरेक्टर लायन राजन लम्साल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। प्रमुख अतिथि लम्सालले लायन वर्ष २०२६/०२७ का डिष्ट्रिक्ट पदाधिकारीहरूलाई औपचारिक रूपमा पदस्थापन गराउँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।
कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा पूर्वअन्तर्राष्ट्रिय निर्देशकत्रय लायन बालकृष्ण बुर्लाकोटी, लायन सञ्जय खेतान तथा आर. सम्पत तथा अतिथिका रुपमा विभिन्न डिष्ट्रिक्टका गभर्नरहरू, पूर्व डिष्ट्रिक्ट गभर्नरहरू, क्याबिनेट पदाधिकारी, क्लब अध्यक्ष तथा देशभरका लायन्स सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा करिब १ हजार २५० भन्दा बढी लायन्स सदस्य तथा पदाधिकारीको उच्च सहभागिता रहेको थियो ।
पदस्थापनपछि सम्पन्न प्रथम नियमित जिल्ला क्याबिनेट बैठकमा डिष्ट्रिक्टको आगामी कार्यदिशा, सेवा गतिविधि, सदस्यता वृद्धि, नयाँ क्लब स्थापना, संगठन विस्तार, आर्थिक व्यवस्थापन, नेतृत्व विकास तथा क्लबहरूको कार्यसम्पादन लगायतका विविध विषयमा विस्तृत छलफल तथा निर्णय गरिएको थियो भने डिस्ट्रिक्टले प्रकाशन गरेको स्मारिकाको पनि एकसाथ बिमोचन गरिएको थियो ।
कार्यक्रमको सञ्चालन क्याबिनेट सेक्रेटरी लायन गणेश जी.सी.ले गरेका थिए। गभर्नर रमेश अधिकारीले बैठकको औपचारिक शुभारम्भ गर्दै नयाँ लायन वर्षमा डिष्ट्रिक्टले हासिल गरेका उपलब्धि तथा आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए।
बैठकमा क्याबिनेट सेक्रेटरी गणेश जी.सी.ले डिष्ट्रिक्टको क्याबिनेट प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा लायन वर्षको सुरुवातदेखि हालसम्म सञ्चालन भएका विभिन्न सेवा गतिविधि, सदस्यता विस्तार, नयाँ क्लब स्थापना तथा संगठनात्मक प्रगतिबारे जानकारी प्रस्तुत गरिएको थियो।
त्यस्तै, क्याबिनेट कोषाध्यक्ष चूडामणि सिलवालले आर्थिक वर्ष २०२६/०२७ को प्रस्तावित डिष्ट्रिक्ट बजेट प्रस्तुत गरेका थिए। बजेटमाथि आवश्यक छलफल गर्दै डिष्ट्रिक्ट सञ्चालन तथा सेवामूलक गतिविधिका लागि आवश्यक आर्थिक व्यवस्थापनबारे समेत छलफल गरिएको थियो। बैठकले डिष्ट्रिक्टको बैंक खाता सञ्चालनसम्बन्धी अद्यावधिक विषयलाई समेत अनुमोदन गरेको छ।
बैठकमा विभिन्न क्याबिनेट पदाधिकारीहरूले आ–आफ्नो जिम्मेवारी तथा हालसम्मको कार्यप्रगतिको प्रतिवेदन प्रस्तुत गरेका थिए। खुला छलफलका क्रममा क्लब सञ्चालन, सदस्यता विस्तार, सेवा कार्यक्रमको प्रभावकारिता, नेतृत्व विकास तथा डिष्ट्रिक्टलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा सहभागीहरूले सुझाव तथा धारणा राखेका थिए।
सो अवसरमा लायन्स अन्तर्राष्ट्रिय अध्यक्षको प्रमाणपत्र तथा पिन वितरण गरिएको थियो। सेवा सप्ताह (Service Week) मा उत्कृष्ट योगदान गर्ने व्यक्ति तथा क्लबलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। निर्धारित समयभित्र डिष्ट्रिक्ट ड्युज बुझाउने क्लबका कोषाध्यक्षहरू, क्लब चार्टर गर्ने तथा उत्कृष्ट कार्यसम्पादन गर्ने क्याबिनेट अफिसर्स एवं क्लब पदाधिकारीहरूलाई समेत विभिन्न विधामा अवार्ड प्रदान सहित सम्मान गरिएको थियो।
कार्यक्रममा मासिक अवार्ड तथा उत्कृष्ट रजिष्ट्रेशन कार्य गर्नेहरूलाई समेत सम्मान गरिएको थियो। कार्यक्रम संयोजक मुना थापाले कार्यक्रम व्यवस्थापन तथा दर्ता प्रक्रियामा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी थिइन् भने सम्मान मन्तव्य पूर्व गर्भनर सुचित्रा थापाले व्यक्त गरेकी थिइन्।
डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीले आगामी कार्ययोजनासम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै लायन वर्ष २०२६/०२७ मा डिष्ट्रिक्टलाई सेवा, सदस्यता विस्तार र संगठनात्मक सुदृढीकरणका क्षेत्रमा थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
डिष्ट्रिक्ट ३२५ के नेपालले लायन वर्ष २०२६/२७ को सुरुवातमै क्लब विस्तार र सदस्यता वृद्धिमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। डिष्ट्रिक्टले ३१ नयाँ क्लब स्थापना गर्ने लक्ष्य राखेकोमा हालसम्म ४२ नयाँ क्लब स्थापना भइसकेका छन्। तीमध्ये ३३ वटा क्लब चार्टर भइसकेका छन् भने बाँकी ९ वटा क्लबको अन्तर्राष्ट्रिय स्वीकृति प्रक्रिया अघि बढाइएको डिष्ट्रिक्टले जनाएको छ।
डिष्ट्रिक्टका अनुसार अन्तर्राष्ट्रिय तथ्याङ्कमा क्लब एक्सटेन्सनतर्फ ३१ नयाँ क्लब स्थापना गरी डिष्ट्रिक्ट ३२५ के विश्वमै पहिलो तथा नेट मेम्बरशिप ग्रोथतर्फ ६२० सदस्य वृद्धि गरी विश्वमै पहिलो स्थानमा रहेको जनाएको छ। त्यस्तै, लायन्स क्लब्स इन्टरनेशनल फाउन्डेसन (LCIF) मा हालसम्म करिब ४७ हजार अमेरिकी डलर योगदान जम्मा भएको जनाएको छ।
बैठकले दोस्रो नियमित जिल्ला क्याबिनेट बैठकको मिति, समय, स्थान र आयोजकको अन्तिम टुंगो डिष्ट्रिक्ट गभर्नरको नेतृत्वमा रहेको डीजी टिममार्फत गर्ने निर्णयसमेत गरेको छ।
समापनका क्रममा डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीले सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै नयाँ लायन वर्षलाई उपलब्धिमूलक बनाउन क्याबिनेट पदाधिकारी, अफिसर्स, क्लब तथा सदस्यहरूबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए। उनले विभिन्न व्यक्तित्व तथा सहभागीलाई ‘Token of Love’ प्रदान गर्दै सम्मान गरेका थिए।
प्रथम नियमित जिल्ला क्याबिनेट बैठकले लायन वर्ष २०२६/२७मा ‘Leading with Purpose’ को मूल भावनाअनुसार सेवा, नेतृत्व विकास, सदस्यता वृद्धि तथा संगठन विस्तारलाई थप प्रभावकारी रूपमा अघि बढाउने आधार तयार भएको डिष्ट्रिक्टले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया