काठमाण्डौं । नेकपा एमालेको पुनर्गठनका लागि गठित कार्यदलले तयार पारेको ५६ पृष्ठको प्रतिवेदनलाई लिएर पार्टीभित्रै विवाद देखिएको छ। प्रतिवेदन तयार भइसके पनि कार्यदल र केन्द्रीय सचिवालयको बैठक बस्न नसक्दा पुनर्गठनको प्रक्रिया अन्योलमा परेको हो।
गतिरोध अन्त्यका लागि शनिबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका महासचिव शंकर पोखरेलले पहिले कार्यदल र त्यसपछि सचिवालयमा प्रतिवेदनमाथि छलफल गरी केन्द्रीय कमिटीमा लैजानुपर्ने धारणा राखेको बताइएको छ। तर अध्यक्ष ओली भने कार्यदल र सचिवालयको बैठक नराखी प्रतिवेदनलाई सिधै केन्द्रीय कमिटीमा छलफलका लागि लैजाने पक्षमा देखिएका छन्।
स्रोतका अनुसार पोखरेलले आफूले तयार पारेको प्रतिवेदन अध्यक्षलाई अध्ययनका लागि मात्र उपलब्ध गराएको बताएका थिए। तर ओलीले त्यसै प्रतिवेदनलाई सम्पादन गरी केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने तयारी गरेको बताइएको छ।
पोखरेलले भने कार्यदलले आफ्नो प्रतिवेदनको स्वामित्व लिनुपर्ने र कार्यदलबाट पारित भएपछि सचिवालयमा छलफल गरी त्यसपछि मात्रै केन्द्रीय कमिटीमा लैजानुपर्ने अडान राख्दै आएका छन्।
उता, कार्यदलका संयोजक उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ समेत बैठक बोलाउन अनिच्छुक देखिएको केही सदस्यको आरोप छ। प्रदेशगत रूपमा संकलन गरिएका सुझावका आधारमा प्रतिवेदन तयार गर्ने जिम्मेवारी बादल र सदस्यसचिव पोखरेललाई दिइएको थियो।
कार्यदलका सदस्यहरूले बैठक बोलाएर सुझाव र प्रतिवेदनमाथि सामूहिक छलफल गर्न आग्रह गरे पनि त्यसलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। एक सदस्यका अनुसार कार्यदलको बैठक नै नबसी अध्यक्षले जे निर्णय गर्छन्, त्यसैअनुसार अघि बढ्ने अवस्था बनाइएको छ।
एमालेभित्र असन्तुष्ट नेताहरूले सचिवालयमा अहिले अल्पमतमा रहेका ओलीले आफ्नो पक्षमा रहेको भनिएको बहुमतलाई उपयोग गर्दै प्रतिवेदनमाथि सिधै केन्द्रीय कमिटीमा छलफल गराउन खोजेको आकलन गरेका छन्।
अध्यक्ष ओलीले केन्द्रीय कमिटीका करिब ७० प्रतिशत सदस्य आफ्नो पक्षमा रहेको दाबी गर्दै आएको बताइएको छ। उनले केन्द्रीय सदस्यहरूलाई आफ्नो पक्ष र विपक्षमा विभाजन गरेर बहुमतको हिसाबसमेत गरिरहेको स्रोतको दाबी छ।
यही आधारमा ओली पुनर्गठन प्रतिवेदनलाई कार्यदल वा सचिवालयबाट पारित गराउने प्रक्रियाभन्दा सिधै केन्द्रीय कमिटीमा लगेर छलफल तथा निर्णय गराउने तयारीमा रहेको नेताहरूको बुझाइ छ।
महासचिव पोखरेल भने फिल्डबाट प्राप्त सुझावका आधारमा तयार भएको प्रतिवेदनलाई पार्टीका सबै सम्बन्धित फोरममा छलफल गराएर मात्रै अन्तिम निर्णयमा पुग्नुपर्ने पक्षमा छन्। उनले पार्टी पुनर्गठनको विषयमा आफू प्रतिबद्ध रहेको बताउँदै आएका छन्।
शनिबारको भेटमा पनि पोखरेलले अध्यक्ष ओलीलाई पहिले सचिवालयमा छलफल गरेर मात्रै अघि बढ्न आग्रह गरेको बताइएको छ।
यता, अध्यक्ष ओली र महासचिव पोखरेलबीच शनिबार भेट भएको कुरा ओलीको सचिवालय प्रमुख निरुदेवी पालले पुष्टि गरेकी छन्। यद्यपि भेटका क्रममा के विषयमा छलफल भयो भन्नेबारे आफूलाई जानकारी नभएको उनले बताइन्।
‘अध्यक्षलाई भेट्न महासचिवज्यू आउनुभएको हो, भित्र कुन विषयमा के छलफल भयो भन्ने जानकारी भएन,’ पालले भनिन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया