श्रावण २५, २०८३ सोमबार August 10, 2026

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला, पतिको अवस्था अझै अज्ञात

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै स्थानीयद्धारा खोजी कार्य जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काभ्रेपलाञ्चोक, २४ साउन : काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि बेपत्ता दम्पतिमध्ये पत्नी तिलकुमारीको शव फेला परेको छ । उनको शव आज ओखलढुङ्गामा फेला परेको हो ।

नदीमा सँगै हामफालेका उनका पति केदारनाथको अवस्था भने अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिनुभयो ।

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ पतिसँगै बेपत्ता भएका मण्डनदेउपुर नगरपालिका–७ की ६७ वर्षीया तिलकुमारी पराजुलीको शव सिन्धुली र ओखलढुङ्गाको सीमास्थित सुनकोशी नदीमा फेला परेको हो ।

ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ बलखुस्थित सुनकोशी नदीको किनारमा तैरिएको अवस्थामा तिलकुमारीको शव फेला परेको सूचना अधिकारी विष्टले जानकारी दिनुभयो । केदारनाथको खोजी कार्य जारी छ । तिलकुमारी बोनम्यारो क्यान्सरबाट पीडित थिइन् । पराजुली दम्पत्तिले बुधबार साँझ नदीमा हामफालेको जानकारी पाएपछि सोही रातिदेखि नै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै स्थानीयले खोजी कार्य जारी राखेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया