श्रावण २८, २०८३ बिहिबार August 13, 2026

घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

अन्तरराष्ट्रिय ‘लट्री, गिफ्ट’, ऋण वा ‘अनलाइन गेमिङ’ र ‘बेटिङ एप’मा विभिन्न प्रलोभनमा पारेर फसाउने क्रम बढ्दो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्याग्दी। आफन्तले ‘म्यासेन्जर’मार्फत पठाएको अप्ठ्यारोमा परेको र रु ५० हजार पठाइदिन भनेको देख्नेबित्तिकै बेनीका राजेन्द्र मगर (नाम परिवर्तन)ले क्युआरमा मागेअनुसारको रकम पठाइदिनुभयो । “क्युआरमा रकम पठाएपछि आफन्तलाई फोन गरेर जिज्ञासा राख्दा फेसबुक ह्याक गरेर अर्कैले पैसा मागेको थाहा भयो,” उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमा आएको सन्देशको पुष्टि नगरी हतारमा पठाएको पैसा गुम्यो ।”

अन्नपूर्ण गाउँपालिकाका सन्देश रोका (नाम परिवर्तन)ले सामाजिक सञ्जालमा देखेको भरमा ‘आइफोन’ किन्नका लागि भनेर रु दुई लाख ‘क्युआर’ पठाइदिनुभयो । “पैसा पठाएपछि विज्ञापनमा भएको सम्पर्क नम्बर स्विच अफ भयो, ‘पेजनै डिएक्टीभ गरिदियो’,” उहाँले भन्नुभयो, “भएको पैसा पनि गयो, आइफोन प्रयोग गर्ने मेरो सपनालाई ठगले चकनाचुर बनाइदियो ।”

बेनी बजारकै सीता कार्की (नाम) परिवर्तनले रु छ सय मूल्य पर्ने कपडा अनलाइन माध्यमबाट खरिद गर्नुभयो । “हेर्दा राम्रो र आकर्षक देखेपछि ‘अर्डर’ गर्दा पठाएको पैसा आएन भनेर फोन गरेपछि मैले उसले मागेअनुसारको नम्बर र विवरण दिए,” उहाँले भन्नुभयो, “बोल्दाबोल्दै मेरो फोन बन्द भयो, खातामा भएको रु तीन लाखसबै रित्ताइदिएछ ।”

ठगिएको रकम फिर्ता माग गरेर बेनीका सीता, राजेन्द्र र अन्नपूर्णका सन्देशले जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक वर्ष २०८२÷०८३ को विभिन्न मितिमा उजुरी गरे पनि रकम फिर्ता पाउन सक्नुभएन । अनलाइन माध्यमबाट हुने ठगी अपराधको नयाँ रुपमा देखा परेको छ ।

एक वर्षमा रु ८४ लाख गुमाए

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सीनाका अनुसार आर्थिक वर्ष २०८२÷०८३ का कार्यालयमा अनलाइन माध्यमबाट ठगीमा परेका ८४ र ‘फेक आइडी’ बनाएर ठगी भएकासम्बन्धी २१ वटा उजुरी परेका छन् । उजुरीकर्ताहरुले रु ८४ लाख ३५ हजार पाँच सय १० ठगी भएको उजुरी परेकोमा रु १२ लाख ३५ हजार सात सय २० मात्र फिर्ता गराउन सकिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताउनुभयो ।

“गत आर्थिक वर्षअघि अनलाइन ठगीको छुट्टै अभिलेख राख्ने गरेका थिएनाँै, उजुरीको सङ्ख्या बढ्दै गएपछि सूचना प्रविधि शाखानै बनाएर अनुसन्धान गर्न थालिएको छ,” उहाँले भन्नुभयो, “अनलाइन ठगीसम्बन्धी गत वर्ष दुई वटा उजुरीको मात्रै अनुसन्धान गरी संलग्नलाई पहिचान तथा पक्राउ गरी मुद्दा चलाएका छाँै ।” चालु आर्थिक वर्षको चार हप्ताको अवधिमा परेका सात वटा उजुरीकर्ताले रु पाँच लाख १२ हजार एक सय ६० अनलाइन माध्यमबाट ठगिएको जानकारी गराएका छन् ।

सामान किनबेचका क्रममा भएको ठगीका उजुरी धेरै

गत वर्षका अधिकांश अनलाइन ठगीसम्बन्धी परेका उजुरीमध्ये ६० वटा उजुरीकर्ताले सामान किन्ने क्रममा ठगी भएको जनाएका छन् । ‘अनलाइन सपिङ’, विदेश पठाइदिने प्रलोभन, चिट्ठा, खेल र विदेशबाट पारसाल (सामान) पठाइदिन्छु भनेर ठगी भएका उजुरी आधाभन्दा बढी रहेका प्रहरी निरीक्षक तिमिल्सिनाले बताउनुभयो । एक जना व्यक्तिले अनलाइन ठगीमा परेर न्यूनतम रु एक हजारदेखि अधिकतम रु सात लाख ४८ हजारसम्म गुमाएका छन् ।

अनलाइन ठगीले प्रहरी कार्यालयमा फाइलको चाङ बढाएको छ । प्रहरीका अनुसार अनलाइन ठगी बढ्दो छ । कसैलाई सस्तो सामानको प्रलोभन देखाइन्छ, कसैको ‘फेसबुक’ ह्याक गरेर आफन्तसँग पैसा मागिन्छ, कसैलाई अन्तरराष्ट्रिय ‘लट्री, गिफ्ट’, ऋण वा ‘अनलाइन गेमिङ’ र ‘बेटिङ एप’मा विभिन्न प्रलोभनमा पारेर फसाउने गरेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताउनुभयो ।

यसमा मुख्य लक्षित समूह १८–३५ वर्षका युवा हुन्, जसले सामाजिक सञ्जालमा बढी समय बिताउँछन् र छिटो फाइदा हुने लोभमा पर्छन् । ठगिनेमा पुरुषको तुलनामा महिला बढी रहेका छन् ।

अनलाइन ठगीबाट कसरी बच्ने ?

नेपाल बैंक लिमिटेड बेनी शाखाका सहायक प्रबन्धक समेत रहेका म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापक विकास आचार्यले प्रविधिको प्रयोग गर्न नचान्ने र प्रलोभनमा पार्न सकिने लक्षित समुदायलाई पहिचान गरेर ठगी गरेको देखिने बताउनुभयो । “प्रविधिको आफैँमा दोष छैन, यसको दुरुपयोग गर्नेको चलाखी र लोभमा पर्ने युवाको मानसिकता मुख्य कारण हो,” उहाँले भन्नुभयो, “समुदायस्तरसम्म अनलाइन ठगीबाट बच्नका लागि सचेतना फैलाउन आवश्यक छ ।”

प्रहरीले अनलाइन अपराध न्यूनीकरणका लागि विद्यालय, क्याम्पस र टोलस्तरमा साइबर सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । अज्ञात लिङ्ब नखोल्ने, आधिकारिक वेबसाइट वा कम्पनीसँग मात्र कारोबार गर्ने, रकम पठाउनुअघि प्रमाण खोज्ने र व्यक्तिगत विवरण बाँड्दा सावधानी अपनाउने हो भने अनलाइन ठगीबाट जोगिन सकिने प्रहरी निरीक्षक तिमिल्सिनाले बताउनुभयो ।सन्तोष गौतम / रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया