श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

किशोर श्रेष्ठको गिरफ्तारीप्रति विश्व प्रेस काउन्सिलको आपत्ति, तत्काल रिहाइको माग

डब्लुएपीसीद्वारा पत्रकार किशोर श्रेष्ठको तत्काल रिहाइको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपालका वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारीप्रति विश्वका प्रेस काउन्सिलहरूको संस्था (वर्ल्ड एसोसिएसन अफ प्रेस काउन्सिल्स–डब्लुएपीसी) ले कडा आपत्ति जनाउँदै उनको तत्काल र निःशर्त रिहाइको माग गरेको छ। डब्लुएपीसीका अध्यक्ष डेभिड ओम्वोयोले केन्याको राजधानी नैरोबीबाट जारी गरेको विज्ञप्तिमा श्रेष्ठको गिरफ्तारी र हिरासतप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनी संस्थाका दोस्रो उपाध्यक्षसमेत रहेको उल्लेख गरेका छन्।

डब्लुएपीसीका अनुसार कथित वैयक्तिक गोपनीयतासम्बन्धी हक उल्लंघनको आरोपमा श्रेष्ठलाई ललितपुरस्थित निवासबाट पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको र त्यसको केही घण्टापछि उनको कार्यालयमा समेत छापा मारिएको थियो। संस्थाले कुनै पत्रकार वा सञ्चारमाध्यममाथि गोपनीयता, समाचारको शुद्धता, नैतिकता वा अन्य कानुनी तथा व्यावसायिक मापदण्ड उल्लंघनको आरोप लागे स्थापित कानुनी, न्यायिक तथा प्रेस नियमनसम्बन्धी संयन्त्रमार्फत समाधान खोजिनुपर्ने जनाएको छ।

प्रेस स्वतन्त्रता र पत्रकारिताको जवाफदेहिता सँगसँगै अघि बढ्नुपर्ने उल्लेख गर्दै डब्लुएपीसीले प्रकाशित सामग्रीसम्बन्धी विवादलाई पत्रकारलाई पक्राउ गरी हिरासतमा राख्ने प्रक्रियाबाट नभई समानुपातिक, पारदर्शी र उचित प्रक्रियाबाट सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ। श्रेष्ठको रिहाइको माग गर्दै काठमाडौंमा पत्रकार तथा सञ्चारसम्बद्ध संस्थाहरूले गरिरहेको विरोधलाई समेत संस्थाले उल्लेख गर्दै पत्रकारको गिरफ्तारीले सञ्चार क्षेत्रमा भय र दबाबको वातावरण सिर्जना गर्न सक्ने भएकाले स्वतन्त्र पत्रकारिताका लागि सुरक्षित वातावरण बनाउन नेपाल सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ।

डब्लुएपीसीले नेपाल सरकार, नेपाल प्रहरी तथा सम्बन्धित निकायलाई श्रेष्ठलाई तत्काल रिहा गर्न तथा अनुसन्धान वा उजुरी अघि बढाउनुपर्ने भए पारदर्शी, निष्पक्ष र स्थापित कानुनी प्रक्रियाअनुसार अघि बढाउन माग गरेको छ। साथै, संविधानप्रदत्त अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारितासम्बन्धी विवादलाई प्रेस काउन्सिल, सञ्चार नियमन तथा न्यायिक संयन्त्रमार्फत समाधान गर्नुपर्ने जनाएको छ। दशकौँदेखि पत्रकारितामा सक्रिय श्रेष्ठको हिरासतले एउटा व्यक्तिको विषयमा मात्र नभई नेपालको सम्पादकीय स्वतन्त्रता र प्रेस स्वतन्त्रताको अवस्थाबारे समेत गम्भीर सन्देश जाने भन्दै डब्लुएपीसीका अध्यक्ष ओम्वोयोले श्रेष्ठको तत्काल रिहाइको माग दोहोर्याएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया