काठमाडौं, साउन ३१ । शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र मानवीय सेवाका क्षेत्रमा एक दशकदेखि सक्रिय रहँदै आएको लायन्स क्लब अफ काठमाडौं नयाबजारले आफ्नो स्थापनाको १०औँ वार्षिकोत्सव ‘चार्टर नाइट’ विशेष समारोहका साथ मनाएको छ।
कामपा-१६, बालाजुस्थित संगम वाटिकामा आयोजित समारोहमा क्लबको १० वर्षे सेवायात्राको समीक्षा गर्नुका साथै लायन वर्ष २०२६/२७ का लागि विभिन्न लायन्स क्लबका नवनिर्वाचित पदाधिकारीहरूको संयुक्त पदस्थापनसमेत गरिएको थियो।
‘Leading With Purpose’ भन्ने नारासहित आयोजित कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका पदाधिकारी, विभिन्न क्लबका प्रतिनिधि, समाजसेवी तथा अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो।
समारोहमा क्लबले विगत १० वर्षमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा मानवीय सेवाका क्षेत्रमा सञ्चालन गरेका कार्यक्रम र त्यसबाट समुदायमा परेको प्रभावबारे चर्चा गरिएको थियो। आगामी दिनमा सामाजिक सेवाका कार्यक्रमलाई अझ प्रभावकारी र व्यापक बनाउने योजनासमेत कार्यक्रममा प्रस्तुत गरिएको थियो।
कार्यक्रममा लायन्स इन्टरनेशनलका पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटी, लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालका गभर्नर रमेश अधिकारी तथा प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर विष्णुहरि फुयालले लायन वर्ष २०२६/२७ का लागि विभिन्न क्लबका अध्यक्ष तथा पदाधिकारीलाई पद तथा जिम्मेवारी हस्तान्तरण गरेका थिए। उनीहरूले नवनियुक्त पदाधिकारीलाई सफल कार्यकालको शुभकामना दिँदै सेवा अभियानलाई निरन्तरता दिन आग्रह गरे।
यसै अवसरमा बागमती एरियाअन्तर्गतका विभिन्न क्लबहरूको संयुक्त पदस्थापन समेत सम्पन्न गरिएको छ । क्लस्टर चिफ सुवर्ण कँडेल, रिजन चेयरपर्सन राजकुमार बन्जारा, जोन चेयरपर्सनद्वय उत्सव श्रेष्ठ र निर्मल अधिकारीको समन्वयमा सम्पन्न कार्यक्रममा पदस्थापित क्लब अध्यक्षहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको थियो।
समारोहमा नयाँ सदस्यहरूलाई लायन्स परिवारमा स्वागत गर्दै सामाजिक सेवामा उनीहरूको सक्रिय सहभागिताका लागि प्रेरित गरिएको थियो।
क्लबले आफ्नो एक दशक लामो सेवायात्रामा साथ दिने सदस्य, सहयोगी संस्था तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समुदायको आवश्यकता पहिचान गरी सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा जोन चेयरपर्सन निर्मल अधिकारीले स्वागत मन्तव्य दिएका थिए भने समारोह लायन्स क्लब अफ काठमाडौं नयाबजारका अध्यक्ष उत्सव श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।
स्थापनाकालदेखि नै विभिन्न सामाजिक तथा मानवीय सेवामूलक गतिविधिमा सक्रिय क्लबले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, वातावरण, विपद् व्यवस्थापन तथा समुदाय केन्द्रित सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। स्मरण रहोस् लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालका द्धितिय भाइस डिस्ट्रिक्ट गभर्नर रहनुभएका हसन गोपाली नयाँ बजार क्लबका संस्थापक अध्यक्ष हुनुहुन्छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया