भाद्र ४, २०८३ बिहिबार August 20, 2026

चट्याङ लाग्दा मुगुमा ३ गाई र ११ बाख्रा मरे

प्रहरी घटनास्थल पुगेपछि पशुचौपायाको मृत्यु र क्षतिको थप विवरण यकिन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुगु। मुगुको सोरु गाउँपालिका–५ स्थित भदाली जंगलमा चट्याङ लागेर तीन गाई र ११ बाख्रा मरेका छन्।

मंगलबार दिउँसो करिब ४ बजे जंगलमा चराउन लगिएका पशुचौपायालाई चट्याङ लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। चट्याङ लागेर स्थानीय टोपबहादुर बुढा, बाचे नेपाली र गणेश बुढाका एक/एक गाई तथा पदमबहादुर शाहीका तीनसहित स्थानीयवासीका ११ बाख्रा मरेका हुन्।

घटनाको जानकारी पाएपछि प्रहरीले घटनास्थलमा पुगेर सर्जमिन मुचुल्का तयार गर्ने जनाएको छ। प्रहरी चौकी सोरुबर्माबाट प्रहरी नायब निरीक्षक देवबहादुर खड्काको कमाण्डमा तीन जनाको टोली बुधबार बिहान घटनास्थलतर्फ जाने तयारी गरिएको छ।

घटनास्थल प्रहरी चौकी सोरुबर्माबाट करिब छ घण्टाको पैदल दूरीमा रहेको प्रहरी हवल्दार देवेन्द्र खत्रीले जानकारी दिनुभयो। मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार प्रहरी घटनास्थल पुगेपछि पशुचौपायाको मृत्यु र क्षतिको थप विवरण यकिन हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया