धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको १२औँ बैठकले बाढीपहिरो प्रभावितका लागि एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले पार्टी जागरण अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा प्रदेश सरकारका कामकारबाहीको समीक्षा गर्दै विभिन्न निर्णयसमेत गरेको छ ।
प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीको अध्यक्षता तथा केन्द्रीय कमिटी उपमहासचिव लेखराज भट्टको प्रमुख आतिथ्यमा धनगढीस्थित पार्टी कार्यालयमा सम्पन्न बैठकमा पार्टीका गतिविधि, सदस्यता नवीकरण, प्रदेश सरकारका कामकारबाही तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।
बैठकले पार्टी जागरण अभियानलाई प्रभावकारी बनाउन असोज १५ गतेसम्म जिल्ला कमिटीको बैठक बसेर कार्ययोजना निर्माण गर्ने निर्णय गरेको छ ।यस्तै, अवधि पुगेका जनसंगठनका अधिवेशन तथा सम्मेलन मंसिर मसान्तसम्म सम्पन्न गर्ने र प्रचार तथा प्रकाशन विभागले बाँकी रहेका जिल्लामा पार्टी स्कुल सञ्चालन गर्ने निर्णय गरेको छ। ‘मिसन पार्टी जागरण’ अभियानलाई पालिका तहसम्म विस्तार गर्ने विषयलाई पनि बैठकले प्राथमिकता दिएको छ।
बैठकले रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोरखा र चितवनमा हालै आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ। प्रभावितको उद्धार तथा राहतका लागि प्रदेश कमिटीबाट एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ।
त्यसैगरी, बाढीपहिरो प्रभावितको पुनर्निर्माण, पुनर्स्थापना तथा मृतकका परिवार र घाइतेको उपचारका लागि आवश्यक बजेट व्यवस्था गर्न सरकारसँग माग गरिएको छ। विपद्को समयमा आवश्यक सहयोग गर्न सबैलाई आह्वानसमेत गरिएको छ।
बैठकले किसानले समयमै मल, बीउ तथा कृषि सामग्री पाउन नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ। चाडपर्वका समयमा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन तथा बजार व्यवस्थापन प्रभावकारी बनाउन पनि सरकारसँग माग गरिएको छ।
कालापानी, सुस्ता लगायतका सीमा क्षेत्रमा भइरहेको विदेशी हस्तक्षेपप्रति ध्यानाकर्षण जनाउँदै सीमामा आवतजावत सहज बनाउन तथा दार्चुलाको टिंकर र छाङरुलाई नेपालतर्फबाट सडक सञ्जालमा जोड्ने काम अघि बढाउन सरकारसँग माग गरिएको छ।
सुदूरपश्चिम प्रदेशको नवगठित सरकारलाई बधाई दिँदै बैठकले प्रदेश सरकारका नीति तथा कार्यक्रम र बजेट जनमुखी बनाउँदै यथाशीघ्र पारित गर्न आग्रह गरेको छ। प्रदेशको राजधानी गोदावरीमा निर्माण गर्ने विषयमा प्रदेश सभाबाट निर्णय भइसकेको उल्लेख गर्दै रिट खारेज भइसकेकाले चालु आर्थिक वर्षको बजेटमा आवश्यक रकम विनियोजन गरी राजधानी निर्माणको काम अघि बढाउन पनि माग गरिएको छ।
बैठकले स्वास्थ्य बिमा सुविधाका लागि संघीय सरकारले अनुदान कटौती गरेको विषयमा विरोध जनाउँदै आवश्यक बजेट व्यवस्था गरी स्वास्थ्य बिमा सेवा प्रभावकारी बनाउन माग गरेको छ।
बैठकका प्रमुख अतिथि एमाले उपमहासचिव भट्टले गणतन्त्रको रक्षाका लागि सम्पूर्ण वामपन्थी शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका थिए। उनले पार्टीको जागरण अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै पार्टीले निर्वाह गर्नुपर्ने भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न सबैले आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ थियो।
बैठकमा सुदूरपश्चिम प्रदेश इन्चार्ज दामोदर भण्डारी, केन्द्रीय कमिटी सदस्य, जिल्ला इन्चार्ज लगायत प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया