भाद्र १६, २०८३ मंगलबार September 1, 2026

विपद् व्यवस्थापनका लागि १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने एमालेको घोषणा

केन्द्रीय तहबाटै विपद् व्यवस्थापनका लागि कोष परिचालन गरी कम्तीमा १ करोड २० लाख रुपैयाँ सङ्कलन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाका बाढी, पहिरो र डुबान पीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले उक्त जानकारी दिएका हुन् ।

कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटीले १०–१० लाख गरी कुल २० लाख रुपैयाँको चेक उनलाई हस्तान्तरण गरेका थिए। सहयोग रकम ग्रहण गर्दै उनले केन्द्रीय तहबाटै विपद् व्यवस्थापनका लागि कोष परिचालन गरी कम्तीमा १ करोड २० लाख रुपैयाँ सङ्कलन गरिने बताए।

सरकारी कोषमा रकम जम्मा गर्दा प्रक्रियागत ढिलाइ हुने उल्लेख गर्दै उनले पीडितले प्रत्यक्ष र छिटो राहत पाउने व्यवस्था हुनुपर्नेमा जोड दिए। उनले भने, ‘सरकारको कोषमा रकम जम्मा गर्दा कहिलेकाहीँ त्यो खातामै थन्किन्छ। जसले गर्दा पीडितले तत्काल पाउनुपर्ने पिउने पानीसमेत नपाउने अवस्था सिर्जना हुन्छ।’

हाम्रो प्राथमिकता प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई मात्र बलियो बनाउने नभएको उनले स्पष्ट पारे। उनले थपे, ‘पीडितका हातमा छिटोभन्दा छिटो राहत पुर्‍याउनु हाम्रो मुख्य प्राथमिकता हो।’

वास्तविक पीडितसम्म छिटो पुग्न सक्ने माध्यमबाटै राहत र पुनर्स्थापनाका काम अघि बढाउने उनले बताए। विपद्को यस घडीमा सबै पक्षलाई जिम्मेवार भएर राहत कार्यमा जुट्न उनले आग्रह गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया