काठमाडौं, भदौ १४ । नेकपा (एमाले) ले भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिको स्थलगत अध्ययन गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ। एमालेले पार्टी मुख्यालय च्यासलमा आइतबार अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको हो।
एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा २० सदस्यीय टोलीले रसुवा र नुवाकोटका बाढी तथा पहिरो प्रभावित विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरी क्षतिको अवस्था, प्रभावित नागरिकको आवश्यकता तथा उद्धार र राहतका क्रममा देखिएका समस्याबारे जानकारी संकलन गरेको थियो। टोलीले प्रभावित क्षेत्रका स्थानीय, सरोकारवाला तथा सुरक्षा निकायसँग समेत छलफल गरी तत्काल सम्बोधन गर्नुपर्ने विषय समेटेर प्रतिवेदन तयार पारेको जनाएको छ।
प्रतिवेदनमा तत्काल गर्नुपर्ने उद्धार तथा राहतका कामसँगै सरकारले अघि बढाउनुपर्ने अल्पकालीन र दीर्घकालीन कार्यक्रमबारे सुझाव समेटिएको छ। बाढीबाट घर, पूर्वाधार तथा जीविकोपार्जनका साधनमा भएको क्षतिको पुनर्मूल्यांकन गरी प्रभावित परिवारलाई राहत, पुनःस्थापना र पुनर्निर्माणमा प्राथमिकता दिनुपर्ने विषय प्रतिवेदनमा उल्लेख गरिएको एमालेले जनाएको छ।
एमालेका अनुसार विपद्पछि पार्टीका विभिन्न जनसंगठन तथा स्थानीय तहका कार्यकर्ता राहत र उद्धारमा निरन्तर परिचालित छन्। प्रभावित नागरिकलाई तत्काल आवश्यक खाद्यान्न, लत्ताकपडा तथा अन्य सामग्री उपलब्ध गराउनेदेखि उद्धार तथा स्वयंसेवी सेवामा समेत जनसंगठनहरू खटिरहेको प्रतिवेदनमा उल्लेख छ।
स्थलगत अध्ययनपछि प्राप्त तथ्य र प्रभावित क्षेत्रको वास्तविक अवस्थालाई आधार बनाएर तयार गरिएको प्रतिवेदनले सरकारी राहतलाई थप प्रभावकारी र लक्षित बनाउन तथा दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यक कदम चाल्न सहयोग पुग्ने एमालेको विश्वास छ। पार्टीले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा राज्यका सबै संयन्त्र प्रभावकारी रूपमा परिचालन हुनुपर्नेमा समेत जोड दिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया