काठमाडौँ, भदौ १४ गते । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतमा आवश्यकता अनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेको बताउनुभएको छ ।
भोटेकोशी बाढी सम्बन्धमा सरकारले गरिरहेको खोजी, उद्धार तथा राहत कार्यलगायत विषयमा जानकारी दिन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सचिव राईले भन्नुभयो, “नेपाली सेनासँगको समन्वयमा विशेष गरी सुरुङभित्र फसेका व्यक्तिको उद्धार गर्न भारत, चीन र गणतन्त्र कोरियाबाट केही सुरुङ उद्धार विशेषज्ञ पनि परिचालन गरिएको छ ।”
बाढीपछि नेपाल सरकारले खोजी, उद्धार, राहत तथा पुनः प्राप्ति कार्यका लागि आफ्नो नियन्त्रणमा रहेका सबै उपलब्ध स्रोत साधन तथा प्रयास परिचालन गरेको परराष्ट्र सचिव राईले बताउनुभयो । तत्कालीन राष्ट्रिय प्राथमिकता जीवन बचाउने, बेपत्ता व्यक्तिको खोजी गर्ने, उनीहरूको उद्धार गर्ने, जीवित बचेकालाई तत्काल राहत उपलब्ध गराउने तथा प्रभावित नेपाली र विदेशी नागरिकले उचित सहायता तथा सहयोग प्राप्त गर्ने सुनिश्चित गर्ने रहेको उहाँले बताउनुभयो ।
सचिव राईले यस उद्देश्यका लागि प्रभावित क्षेत्रमा करिब १९ हजार सुरक्षाकर्मी र १६ हेलिकप्टर परिचालन गरिएको जानकारी दिनुभयो । “हालसम्म ती क्षेत्रबाट ७३४ शव फेला परेका र करिब दुई हजार ४९८ जना अझै सम्पर्कविहीन छन् । यस्तै आठ हजार १८६ भन्दा बढी नागरिकको उद्धार गरिएको छ,” उहाँले भन्नुभयो, “जसमा २६१ विदेशी नागरिक रहेका छन्, चार सयभन्दा बढी विदेशी नागरिक अझै बेपत्ता छन् ।”
यस कठिन घडीमा सरकारले हाम्रा निकटतम् छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायसँग निकट सम्पर्क तथा समन्वय जारी राखेको उल्लेख गर्दै सचिव राईले भन्नुभयो, “धेरै विदेशी नागरिक अझै बेपत्ता छन् । त्यसैले मन्त्रालय एक आपतकालीन नियन्त्रण कक्ष स्थापना गरी सम्बन्धित निकाय तथा बेपत्ता व्यक्तिका परिवारसँग समन्वय गरिरहेका छौँ ।”
परराष्ट्र सचिव राईले नेपालका सुरक्षा तथा अन्य निकायका एकीकृत टोलीले परिस्थितिलाई प्रभावकारी रूपमा व्यवस्थापन गरिरहेका जानकारी दिँदै भन्नुभयो, “हाम्रा निकायले भारतबाट आएका ११, चीनबाट आएका नौ तथा गणतन्त्र कोरियाका विशेषज्ञसहितका विशेष प्राविधिक टोलीसँग सुरुङ उद्धारका लागि काम गरिरहेका छन् ।”त्यसैगरी, शव व्यवस्थापनका लागि एयरटाइट ब्याग पनि प्राप्त भएका र थप ब्याग पनि पठाउन लागिएको मन्त्रालयले जनाएको छ ।
डिएनए विश्लेषणमा विशेषज्ञता हाँसिल गरेका भारतका १८ जना फरेन्सिक विशेषज्ञको टोली पनि आइपुगेको र त्यस सम्बन्धमा समन्वय निरन्तर जारी रहेको परराष्ट्र सचिव राईले बताउनुभयो । साथै भारत, चीन र युनाइटेड अरब इमिरेट्स (युएई) तथा अन्य देशबाट राहत सामग्री प्राप्त गरिसकेको र संयुक्त राज्य अमेरिका, जापान, कतार, सिङ्गापुर, अष्ट्रेलिया, मलेसिया, म्यानमार, बङ्गलादेश, पाकिस्तान तथा अन्य देश र साझेदारबाट पनि अत्यावश्यक सामग्री प्राप्त भइरहेका छन् ।
सरकारले आइसिआरसी लगायतका मानक तथा स्वीकृत प्रोटोकल अनुसार मृतकका शव विशेष गरी पहिचान गर्न नसकिने, अङ्गविच्छेद भएका तथा लामो समयसम्म पानीमा रहँदा कुहिएका शवलाई अस्थायी रूपमा गाडिएको जनाएको छ । “गाड्नु अघि स्वास्थ्य टोलीले प्रत्येक मृतकको डिएनए नमुना लिने गरेको छ, ताकि परिवारले पछि अभिलेखसँग मिलान गर्न सकुन्, र आवश्यक संस्कारका लागि शव निकाल्न अनुमति दिइने छ,” परराष्ट्र सचिव राईले भन्नुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया