भाद्र ३०, २०८३ मंगलबार September 15, 2026

अधिवेशनमा सक्रिय सहभागी हुन कांग्रेसजनलाई सभापति गगन थापाको आह्वान

सौहार्दपूर्ण र हार्दिक वातावरणमा सबैलाई सहभागी गराएर महाधिवेशन सम्पन्न गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी उत्साहका साथ सहभागी हुन पार्टीका क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेका छन्।

भदौ ३० गते अपिल जारी गर्दै सभापति थापाले संविधान, कांग्रेसको विधान र प्रचलित कानुनबमोजिम हुन लागेको महाधिवेशनलाई सफल बनाउन सबै तहका नेता–कार्यकर्ता सहभागी हुनुपर्ने बताएका छन्।

पार्टीभित्र फरक मत र असमझदारी हुनसक्ने भए पनि त्यसको समाधान संवाद, विधि र पद्धतिबाट खोज्नुपर्ने उनको भनाइ छ। फरक मतको सम्मान गर्दै सहमतिका माध्यमबाट पार्टीलाई एकताबद्ध बनाउनु लोकतन्त्रको सुन्दर पक्ष भएको थापाले उल्लेख गरेका छन्।

उनले महाधिवेशनमार्फत कांग्रेसलाई एक्यबद्ध र गतिशील बनाउँदै राष्ट्रिय चुनौती सामना गर्न सक्ने बलियो पार्टी निर्माण गर्नुपर्ने बताएका छन्।

सभापति थापाले पार्टीका अग्रज नेता तथा विभिन्न तहका पदाधिकारी र सदस्यको सुझावका आधारमा २०८२ पुससम्म नवीकरण भएका सबै क्रियाशील सदस्यलाई अधिवेशन प्रक्रियामा सहज रूपमा सहभागी गराउने निर्णय गरिएको जानकारी दिएका छन्।

उनका अनुसार सदस्यता व्यवस्थापन समितिले सोहीअनुसार क्रियाशील सदस्यको नामावली टुंग्याइसकेको छ भने केन्द्रीय निर्वाचन समितिले अधिवेशन प्रक्रिया अघि बढाइसकेको छ। निर्वाचन अधिकृतहरू पनि जिल्लामा खटिइसकेका छन्।

विशेष महाधिवेशनअघि कायम रहेको केन्द्रीय कार्यसमितिका तत्कालीन पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा समावेश गर्ने व्यवस्था भदौ २८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट गरिसकिएको थापाले बताएका छन्।

उक्त निर्णयपछि तत्कालीन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा सुनिश्चित भइसकेको भन्दै थापाले उनीहरूलाई १५औँ महाधिवेशनको प्रक्रियामा केन्द्रीय सदस्यकै रूपमा सहभागी हुन आग्रह गरेका छन्।

सभापति थापाले असोज ३ गते वडाबाट सुरु हुने अधिवेशनदेखि असोज १६ देखि १९ गते काठमाडौंमा हुने १५औँ महाधिवेशनसम्मका सबै निर्धारित कार्यक्रममा सहभागी हुन कांग्रेसजनलाई अपिल गरेका छन्।

उनले सबै तहका कार्यसमिति, पदाधिकारी, सदस्य, समर्थक तथा शुभेच्छुकलाई पार्टीको बृहत्तर हितलाई ध्यानमा राख्दै सौहार्दपूर्ण र हार्दिक वातावरणमा सबैलाई सहभागी गराएर महाधिवेशन सम्पन्न गर्नसमेत आग्रह गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया