असोज १, २०८३ बिहिबार September 17, 2026

महामन्त्री गुरुराज घिमिरेलाई जिल्ला प्रवेशमा निषेध गर्ने मुगु कांग्रेसको निर्णय

सभापति ऐनबहादुर शाहीलाई हटाएर हरिजंग शाहीलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएकोप्रति आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद मुगुमा थप चर्किएको छ। पार्टीको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु जिल्ला प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ।

बुधबार बसेको संस्थापन इतर समूहको बैठकले १४औँ जिल्ला अधिवेशनबाट निर्वाचित सभापति ऐनबहादुर शाहीलाई हटाएर कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको विषयमा आपत्ति जनाउँदै घिमिरेलाई जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको हो। समूहले उक्त निर्णयप्रति असहमति जनाउँदै पार्टीको विधानअनुसार निर्वाचित जिल्ला नेतृत्वलाई हटाउने प्रक्रिया उचित नभएको दाबी गरेको छ।

बैठकपछि तयार गरिएको निर्णयको माइन्युटमा ऐनबहादुर शाही पार्टीका गतिविधिमा सक्रिय रहँदारहँदै आफूलाई कुनै जानकारी नदिई कार्यवाहक सभापति तोकिएको उल्लेख छ। साथै, ‘कथित केन्द्रीय विशेष महाधिवेशन’लाई आधार बनाएर गरिएको उक्त निर्णय विधानविपरीत भएको संस्थापन इतर समूहको दाबी छ।

माइन्युटमा महामन्त्री घिमिरेले कार्यवाहक सभापति तोकेको भन्दै त्यसप्रति खेद व्यक्त गरिएको र उनलाई मुगु प्रवेशमा निषेध गर्ने निर्णय पारित गरिएको उल्लेख छ। कांग्रेसले भने महाधिवेशन प्रक्रिया अघि बढाउन नसक्ने जिल्लाहरूमा कार्यवाहक सभापति तोकेर प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जनाएको छ, जसमा मुगु पनि परेको छ।

यस निर्णयसँगै कांग्रेसको केन्द्रीय नेतृत्व र संस्थापन इतर समूहबीचको विवाद जिल्ला तहसम्मै थप प्रस्ट रूपमा देखिएको छ। मुगुमा जिल्ला नेतृत्व परिवर्तन र आगामी महाधिवेशन प्रक्रियालाई लिएर देखिएको विवादले पार्टीको आन्तरिक राजनीतिको प्रभाव स्थानीय संगठनमा समेत परेको छ।

12

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया