बारा, ३ असोजः बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ ।
स्थानीय होटलमा दुई पक्षबीच भएको विवादका क्रममा चक्कु प्रहारबाट जीतपुरसिमरा उपमहानगरपालिका–२ का ३५ वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको हो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्काको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिनुभयो ।
गम्भीर घाइते खड्कालाई स्थानीयको सहयोगमा उपचारका लागि जितपुरसिमरा नगर अस्पताल पुर्याएको थियो । त्यहाँ प्राथमिक उपचार गरी उहाँलाई थप उपचारका बयोधा अस्पतालमा पुर्याइएको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिनुभयो ।
घटनापछि तनावग्रस्त बनेको स्थितिलाई नियन्त्रणमा लिँदै घटनामा संलग्न रहेका मुख्य आरोपी जितपुरसिमरा उपमहानगरपालिका–२ का २२ वर्षीय आयुष राईसहित ३ जनालाई नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । मृतकको शव अस्पतालमै रहेको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो । घटनापछि सिमराका स्थानीय बासिन्दामा त्रास फैलिएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया