सञ्जय मिश्रा/रौतहट, ३ असोज । रौतहटको गौर भन्सार नाकाबाट स्रोत खुल्न नसकेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्।
शुक्रबार अपराह्न करिब ३ बजे गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय अगाडि भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०६ एआर ०८०२ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा माधवनारायण नगरपालिका–७ लौकाहा निवासी २६ वर्षीय सञ्जिव पण्डित र १८ वर्षीय रितिक दास रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट स्रोत नखुलेको नेपाली नगद २ लाख ५४ हजार रुपैयाँ, चाँदीजस्तो देखिने दुई थान पायल, दुई थान मोबाइल फोन र मोटरसाइकल बरामद गरिएको छ।
गौर भन्सार सुरक्षा गार्डबाट असई दीपककुमार यादवको कमाण्डमा खटिएको तीन सदस्यीय टोली तथा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद भट्टको कमाण्डमा खटिएको सात सदस्यीय टोलीले संयुक्त रूपमा चेकजाँच गरेको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी बसन्त गौतमका अनुसार पक्राउ परेका दुवै जनासहित बरामद नगद, सामान र मोटरसाइकल आवश्यक कारबाहीका लागि रौतहट भन्सार कार्यालयमा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया