काठमाडौं । गत वर्ष पुसमा भएको विशेष महाधिवेशनबाट सुरु भएको विवाद समाधान नहुने भएपछि नेपाली कांग्रेसको संस्थापनइतर (निवर्तमान सभापति शेरबहादुर देउवा) पक्ष पनि समानान्तर महाधिवेशनमा होमिएको छ । कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै पूर्वसभापति शेरबहादुर देउवा पक्ष पनि पार्टीको समानान्तर महाधिवेशनमा जुटेको हो । पार्टीभित्रको विवाद समाधान हुने अवस्था नदेखिएको भन्दै इतर पक्ष महाधिवेशनमा होमिने निष्कर्षमा पुगेको हो ।
यही असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका क्रममा जारी प्रतिनिधि छनोट प्रक्रिया रोकेर वार्ता र सहमतिका आधारमा आगामी महाधिवेशन संयुक्त रूपमा गर्नुपर्ने माग सुनुवाइ नभएको भन्दै इतर समूह पनि कार्यतालिकासहित महाधिवेशनमा जुटेको छ । योसँगै मुलुककै सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसमा समानान्तर महाधिवेशन हुने निश्चित भएको छ । देउवा पक्षीय समूह १४औँ महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै विशेष महाधिवेशनबाट आएको (संस्थापन पक्ष) नेतृत्वले आह्वान गरेको जारी महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन ।
इतर पक्षका संयोजक डा. शशांक कोइरालाले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने निर्णयसहित यही असोज १५ गतेबाट वडा अधिवेशन सुरु हुने जानकारी दिनुभएको छ । देउवा समूहले आगामी बिहीबारदेखि वडा अधिवेशन सुरु गर्ने र त्यसका लागि ५६ जिल्लामा निर्वाचन संयोजक तोकिएको जनाएको छ ।
कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको तर्क गर्दै अहिले महाधिवेशन गर्न नहुने पक्षमा रहेको सो समूहको मागलाई बेवास्ता गर्दै असोज ३ गतेबाट प्रतिनिधि छनोट प्रक्रियामा होमिएको संस्थापन पक्ष अहिले १५औँ महाधिवेशनको अन्तिम तयारीमा जुटेको छ ।
आसन्न महाधिवेशनका क्रममा देउवा पक्षले गठन गरेको सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई बुझाएको छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरणराज शर्मा पौडेलले यही असोज ९ गतेसम्म वितरण र नवीकरण गरिएका क्रियाशील सदस्यताको विवरण निर्वाचन समितिलाई बुझाइएको र कुल सदस्य संख्या सात लाख ८३ हजार ८३६ रहेको जानकारी दिनुभएको छ । यसमध्ये पाँच लाख ७३ हजार ३६९ पुरानो सदस्यता नवीकरण र दुई लाख १० हजार ६६७ नयाँ क्रियाशील सदस्यता रहेको बताइएको छ । देउवा पक्षका नेता डा.प्रकाशशरण महतले भन्नुभयो, ‘हामी पार्टीभित्र एकताको महाधिवेशन गर्न चाहन्थ्यौँ, यसका लागि अन्तिमसम्म प्रयास पनि गरेका हौँ र सबै ढोका खुला राखेर कोसिस पनि गरेका हौँ । तर, सम्भव नभएपछि आपत्कालीन मोडमा तयारीमा लागेका छौँ ।’
संस्थापन पक्षको केन्द्रीय महाधिवेशन सुरु हुने अघिल्लो दिन देउवा पक्षले वडा अधिवेशन थाल्दै छ । दुवै पक्षले आ-आफ्नै महाधिवेशनबाट पार्टीको वैधानिकता स्थापित गर्ने प्रयास गरिरहेकाले कांग्रेसभित्र विभाजनको जोखिम थप बढेको छ । देउवा पक्षका अर्का नेता एनपी साउद संस्थापन पक्ष महाधिवेशनमा होमिएपछि आफ्नो पक्षले समेत महाधिवेशन गर्नुपर्ने बाध्यता रहेको तर्क गर्दै भन्नुभयो, ‘एउटा पक्ष महाधिवेशनमा गइसकेपछि अदालतमा विचाराधीन पुनरावलोकनसम्बन्धी मुद्दामा हुनसक्ने फैसलालाई केन्द्रमा राखेर पनि महाधिवेशनमा होमिनुपरेको हो ।’
संस्थापनले जस्तै देउवा पक्षले पनि तल्लो तहदेखि नै युवाको सहभागिता बढाउने गरी विधान संशोधन गरेको छ । क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधिसहित वडादेखि केन्द्रीय कार्यसमितिसम्ममा १८ वर्षदेखि २८ वर्षका युवा कम्तीमा दुई जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको सचिवालय समन्वय समितिका संयोजक दीपक कुइँकेलले जानकारी दिनुभएको छ ।
महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क
समानान्तर महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले उम्मेदवार बन्नका लागि लाग्ने शुल्क निर्धारण गरेको छ । डा. शशांक कोइराला नेतृत्वको १५औँ महाधिवेशन आयोजक समितिले गठन गरेको केन्द्रीय निर्वाचन समितिले बनाएको ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०८३’ मा वडा सदस्यदेखि केन्द्रीय सभापतिसम्म उम्मेदवार बन्न शुल्क निर्धारण गरिएको हो । निर्देशिकामा वडा कार्यसमितिको सभापतिका लागि २५० रुपैयाँ र प्रदेशसभा क्षेत्रीय प्रतिनिधिका लागि २५० रुपैयाँ निर्धारण गरिएको छ । गाउँपालिका कार्यसमिति सभापतिका लागि एक हजार रुपैयाँ, नगरपालिका कार्यसमिति सभापतिका लागि दुई हजार रुपैयाँ, महानगर र उपमहानगर कार्यसमिति सभापतिका लागि दुई हजार पाँच सय रुपैयाँ तोकिएको छ ।
त्यस्तै, प्रदेशसभा क्षेत्रीय प्रतिनिधिका लागि पाँच सय, प्रदेश महाधिवेशन प्रतिनिधिका लागि एक हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि दुई हजार पाँच सय र केन्द्रीय महासमिति सदस्यका लागि तीन हजार रुपैयाँ तोकिएको छ । जिल्ला कार्यसमिति सभापतिका लागि पाँच हजार रुपैयाँ, प्रदेश कार्यसमिति सभापतिका लागि १० हजार रुपैयाँ तोकिएको छ । केन्द्रीय कार्यसमिति सभापतिका लागि तीस हजार रुपैयाँ, उपसभापति र महामन्त्रीका लागि २५ हजार रुपैयाँ, सहमहामन्त्रीका लागि बीस हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ ।
छुट्टै वेबसाइट सार्वजनिक
देउवा समूहले पार्टीको वेबसाइट सार्वजनिक गरेको छ । बालुवाटारस्थित चुनदेवी ठेगाना उल्लेख गरिएको वेबसाइटमा आउँदो मंसिर २१ देखि २३ गतेसम्म पार्टीको महाधिवेशन हुने भन्दै त्यससम्बन्धी सामग्री राखिएको छ । वेबसाइटमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको छ । गृहपृष्ठमा कांग्रेसको पहिलोदेखि १४औँ महाधिवेशनसम्मको संक्षिप्त जानकारी राखिएको छ । आफ्नो समूहको १५औँ महाधिवेशनको कार्यतालिका पनि वेबसाइटमा राखिएको छ । हिमालयन टाइम्सबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया