रूपन्देही, १३ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सम्मानित वरिष्ठ नेता विद्यादेवी भण्डारीले आगामी दिनमा पार्टीमा सक्रिय रहँदै जनताको सेवा र राष्ट्रिय हितका विषयमा काम गर्ने बताउनुभएको छ ।
आज यहाँ आयोजित बधाई तथा सम्मान कार्यक्रममा उहाँले एमालेले आफूलाई दिएको सम्मानित वरिष्ठ नेताको जिम्मेवारी स्वीकार गर्दै पार्टीलाई थप ऊर्जा दिने गरी काम गर्ने बताउनुभयो । एमालेले यही असोज ८ गते भण्डारीलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको थियो भने उक्त निर्णय केन्द्रीय कमिटीले अनुमोदन गरेको थियो ।
बाल्यकालदेखि एमालेसँग आबद्ध भएर सामाजिक सेवा तथा सामाजिक कुरीति विरुद्धका अभियानमा सहभागी हुँदै आएको स्मरण गर्दै भण्डारीले पार्टी, समाज र राष्ट्रका लागि निरन्तर काम गर्दै आएको बताउनुभयो । उहाँले विगतको वाम आन्दोलनका क्रममा विभिन्न समस्या आए पनि आफ्नो राजनीतिक आस्था परिवर्तन नगरेको उल्लेख गर्दै पार्टीभित्र देखिएका कमजोरी र गल्तीलाई सच्याउँदै अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
विगतमा भएका पार्टी विभाजनले एमालेसहित समग्र वामआन्दोलनमा असर परेको उल्लेख गर्दै उहाँले २०७४ सालको निर्वाचनमा वाम एकता र सहकार्यबाट राम्रो परिणाम आए पनि त्यसपछिको विभाजनले राजनीतिक क्षति भएको बताउनुभयो । “नेतृत्वले गल्ती गरे त्यसको असर तलसम्म पर्छ । त्यसैले हामीभित्र रहेका कमी-कमजोरी सुधारेर अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।
पूर्वराष्ट्रपतिसमेत रहनुभएकी नेता भण्डारीले जनताको विश्वास जितेर राजनीतिक आस्था बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । मूलधारका राजनीतिक दल विभाजित हुँदा त्यसको प्रभाव समग्र राजनीतिक क्षेत्रमा पर्ने उल्लेख गर्दै उहाँले पार्टी, जिल्ला र राष्ट्रको आवश्यकतालाई ध्यानमा राखेर एकता कायम गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले एउटा निर्वाचनको परिणामका आधारमा निराश हुनुपर्ने अवस्था नरहेको बताउँदै राष्ट्रिय स्वाभिमानको संरक्षण र नेपाली जनताको जीवनस्तर सुधारलाई राजनीतिको केन्द्रमा राख्नुपर्ने धारणा राख्नुभयो । पार्टी जीवन परिवारभन्दा फराकिलो हुने उल्लेख गर्दै भण्डारीले पुस्ताबीचको दूरी अन्त्य गरी सबै पुस्तालाई जोडेर अघि बढ्नुपर्ने बताउनुभयो । शान्तिपूर्ण परिवर्तनका लागि लामो र निरन्तर यात्रा आवश्यक रहेको उहाँको भनाइ छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया