सर्लाही, १४ असोजः हरिवन नगरपालिका–४ सासापुर निवासी महमद अकबर अन्सारी पछिल्ला दिन गोलभेँडा (टमाटर) बारीमा व्यस्त हुनुहुन्छ । उमेरले चार दशक लाग्नुभएका उहाँका लागि खेतीपाती दैनिकी गुजार्ने माध्यममात्र होइन, उन्नति गर्ने उद्यम बनेको छ ।
मङ्गलबार दिउँसो अन्सारी हरिवन नगरपालिका–२ पाकरगाछी नजिकै खेतमा धमाधम टमाटरको विछन राख्ने तयारी गर्दै हुनुहुन्थ्यो । यस वर्ष उहाँले सात बिघा खेतमा टमाटर रोप्ने बताउनुभयो । त्यसमध्ये तीन बिघा खेतमा उहाँले दुईपटक गरेर गोलभेँडाको बेर्ना सारिसक्नुभएको छ । बाँकी दुई बिघा खेतका लागि टनेलमा बेर्ना तयारी अवस्थामा छन् भने बाँकी दुई बिघा खेतका लागि बीज राख्ने काम धमाधम भइरहेको छ ।
उहाँले अधिकांश खेतमा ‘कविता’ जातको गोलभँेडा लगाउने बताउनुभयो । यस जातको टमाटरको माग बजार उच्च छ, अन्यले अन्य जातको पनि लगाउनुहुन्छ, तर मलाई यही जात राम्रो लाग्छ । विगत आठ वर्षदेखि गोलभेँडाखेतीलाई आफूले उद्यमका रुपमा अँगालेको अन्सारीले बताउनुभयो । जोखिमको खेती भए पनि अहिलेसम्म लगानी डुब्यो भनेर चिन्ता गर्नुपर्ने दिन आएको छैन ।
भदौ सुरुबाट गोलभेँडाको विछन राख्न सुरु गरिन्छ । बेर्ना २५ देखि ३० दिनको भएपछि तयार गरिराखेको खेतमा लगेर बेर्ना सारिन्छ । त्यसको ३० देखि ४५ दिनबाट गोलभेँडाले उत्पादन दिन सुरु गर्ने अन्सारीले बताउनुभयो । कच्चा पदार्थका रूपमा रहने गोलभेँडा छोटो समयमा सड्ने भएकाले किसानले राम्रो मूल्य नपाउने उहाँको अनुभव छ । त्यसमा पनि विगतका वर्ष नेपाल–भारत खुला सीमाबाट निर्वाध गोलभेँडा आउँदा यहाँका किसान थप मारमा परेका थिए ।
गत वर्षदेखि भारतबाट गोलभेँडा भित्रने क्रम रोकिएको छ । योसँगै स्थानीय उत्पादनले राम्रो मूल्य पाएको अन्सारीले जानकारीदिनुभयो । अन्सारीसँग मात्र पाँच कट्ठा खेत छ । उहाँले हरेक वर्ष ठेक्कामा खेत लिएर गोलभेँडा रोप्ने गर्नुहुन्छ । प्रतिबिघा खेतको भाडा वर्षको रु ६० हजार तिर्नुपर्छ । त्यसमा हरेक वर्ष वर्षामा मकै र बाँकी समय गोलभेँडा र हरियो तरकारी लगाउने गरेको उहाँले बताउनुभयो ।
गोलभेँडा तथा हरियो तरकारीेखेतीमा मिहिनेत धेरै भए पनि दुःखअनुसारको आम्दानी रहेको उहाँको अनुभव छ । गत वर्ष १० बिघा खेतमा गोलभेँडाखेती गर्नुभएको उहाँले ७५ लाख बढीको उत्पादन लिएको बताउनुभयो । त्यसबाट लगानी (बीउबिजन, मलखाद, जग्गा ठेक्का, ज्याला लगायतको) काटेर रु ५० लाख बढी मुनाफा भएको उहाँले जानकारी दिनुभयो । त्यसबाट घरको माथिल्लो एक तला थपेको र दुई कट्ठा १० धुर घडेरीसमेत जोडेको उहाँले बताउनुभयो ।
अन्सारी वैदेशिक रोजगारीका लागि सन् २००९ को अन्तिमतिर कतार पुग्नुभएको थियो । साढे चार वर्ष कतार बसेर फर्कनुभएका उहाँले रोजगारीको विकल्प नहुँदा फेरि विदेशकै बाटो समात्नुभयो । दोस्रोपटक कृषि कामदारका रूपमा कतार पुग्नुभएका उहाँ वर्ष दिनमै फर्कनुपर्यो । “पाँच वर्ष बढी समय विदेशमा दुःख गरेँ, त्यसबाट कुनै ठुलो उपलब्धि भएन, त्यसपछि भने गाउँघरमै पितापुर्खाले अँगालेको व्यावसायिक तरकारीखेती गर्ने योजना बनाएँ, अहिलेसम्म राम्रो छ”, उहाँले भन्नुभयो ।
त्यसपछि गोलभेँडालगायत तरकारीखेती सुरु गर्नुभएका उहाँले पछाडि फर्केर हेर्नु नपरेको बताउनुभयो । “चार सन्तान यसैको आम्दानीबाट पढाइरहेको छु”, उहाँले सुनाउनुभयो, “जेठो छोरो भारतमा पढ्दै छ । बाँकी तीन यतै पढ्दैछन् । मेरो घर खर्चमात्र महिनाको रु लाख छ । त्यसका लागि मेरो एकमात्र विकल्प भनेको यही खेतीकिसानी हो ।”
अन्सारीका लागि यो खेती नौलो थिएन । उहाँका बुबाले विगत ३५ वर्षदेखि गोलभेँडाखेती गर्दै आउनुभएको छ । अहिले पनि अन्सारीको दाजुभाइ, काकालगायत परिवारले मात्र ३० बिघा बढीमा गोलभेँडाखेती गर्नुभएको छ । गोलभेँडाखेतीसम्बन्धी राम्रो अनुभव बटुल्नुभएका उहाँले हरेक वर्ष मुख्य सिजनलाई छलेर उत्पादन निकाल्ने गरेको बताउनुभयो । जसले गर्दा उत्पादनले समेत राम्रो मूल्य पाउने गरेको छ ।
अन्सारीले गोलभेँडा लगाउने बेलासमेत १० देखि १५ दिन अन्तरमा तीनदेखि चार लटमा गोलभेँडा लगाउने गरेको बताउनुभयो । यसरी गरेको खेतीबाट मौसम र मूल्यका कारण हुने जोखिम कम गर्न सकिने उहाँको तर्क छ । मौसम बिग्रिएको बेला वा मूल्य अस्थिर रहेको समय कुनै एक लटको खेतीले मात्र सङ्कट छल्न सक्यो भने पनि लगानी सुरक्षित रहने उहाँको भनाइ छ । एकैपटक लगाउँदा मौसम बिग्रिँदा वा मूल्य अस्थिर भएको बेला निस्कियो भने सबै बर्बाद हुने उहाँको तर्क छ ।
उन्नत कविता जातको गोलभेँडाको बीउको प्रतिप्याकेट रु एक हजारदेखि एक हजार १०० सम्म पर्ने हरिवन नगरपालिका–२ का मुखचन्द्र महतोले जानकारी दिनुभयो । बेर्ना तयारीदेखि खेत तयारी गरेर रोप्दासम्म प्रतिकट्ठा रु १५ देखि २० हजारसम्म खर्च हुने उहाँको भनाइ छ । मौसममा हुने फेरबदल र शीतलहरलगायत कारण लगानी बढ्ने जोखिम रहने उहाँले सुनाउनुभयो । रोप्ने बेलामा आवश्यक मलखाद नपाएर कालोबजारीसँग किन्नुपर्दा थप मर्का पर्ने गरेको उहाँको गुनासो छ ।
नेपालमै धेरै गोलभेँडा उत्पादन हुने सर्लाहीको हरिवन, लालबन्दी क्षेत्रमा दुई हजार हेक्टर क्षेत्रफलमा व्यावसायिक गोलभेँडाखेती फैलिएको छ । यहाँ उत्पादन भएको गोलभेँडा देशका मुख्य सहर हेटौँडा, वीरगन्ज, जनकपुर, विराटनगर, बुटवल, भैरहवा, काठमाडौँ, पोखरालगायतका बजारसम्म पुग्ने गरेको छ भने, स्थानीय बजारसँगै सस उद्योगलगायतमा पनि यहाँ उत्पादित गोलभेँडा खपत हुने गरेको छ । यहाँ प्रतिवर्ष १५ हजारदेखि २४ हजार मेट्रिक टनसम्म गोलभेँडा उत्पादन हुने गरेको स्थानीय कृषि थोकबजारको तथ्याङ्कमा उल्लेख छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया