असोज २१, २०८३ बुधबार October 7, 2026

१६ दिने हरिशङ्कर जात्राको मुख्य दिन आज, फर्पिङमा सार्वजनिक बिदा

ऐतिहासिक हरिशङ्कर जात्रा आज, फर्पिङमा देवताको रथ-खट परिक्रमा गरिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। दक्षिणकाली नगरपालिका–फर्पिङमा परापूर्वकालदेखि मनाइँदै आएको ऐतिहासिक हरिशङ्कर जात्राको मुख्य दिन आज विभिन्न देवताको रथ तथा खट नगर परिक्रमा गराएर मनाइँदैछ। जात्राको मुख्य अवसरमा दक्षिणकाली नगरपालिकाले आज नगर क्षेत्रभर सार्वजनिक बिदासमेत दिएको छ।

नगरपालिकाका उपप्रमुख वसन्ती डङ्गोल तामाङका अनुसार भाद्र शुक्ल पूर्णिमादेखि सुरु भएको १६ दिने हरिशङ्कर जात्राअन्तर्गत आज मुख्य जात्रा मनाउन लागिएको हो। फर्पिङ क्षेत्रका पुरातात्विक, सांस्कृतिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण स्थानमा विभिन्न देवताको खट यात्रा गराउँदै जात्रा मनाउने परम्परा रहिआएको छ।

आज गोपालेश्वर, कुमारी, महालक्ष्मी र शेषनारायणका रथ तथा खट नगर क्षेत्रमा घुमाइनेछ। फर्पिङ जात्रा पर्व सञ्चालन तथा संरक्षण समितिका अनुसार खटमा माथिल्लो भागमा महादेव र तल्लो भागमा शेषनारायणको मूर्ति राख्ने परम्परा छ।

हरिशङ्कर जात्राका क्रममा पशुपति क्षेत्रस्थित मृगस्थलीबाट कानफट्टा जोगी फर्पिङ आउने र नवदुर्गाको पूजा आराधना तथा बलि दिने परम्परासमेत रहेको समितिले जनाएको छ।

जात्राको समापन भने गोपालेश्वरको यात्रामा प्रयोग गरिने मूर्तिलाई मन्दिरबाट देवताको घर अर्थात् आगमछेँमा ल्याएर राखेपछि हुने गर्दछ। यस वर्ष जात्रा समापनसम्बन्धी कार्यक्रम असोज २३ गते शुक्रबार गरिने समितिले जनाएको छ।

फर्पिङमा शिखरनारायणलाई ‘हरि’ र गोपालेश्वरलाई ‘शङ्कर’का रूपमा मानिने भएकाले यस यात्रालाई हरिशङ्कर यात्रा भनिएको हो। स्थानीयवासीका अनुसार फर्पिङको हरिशङ्कर यात्रा र भक्तपुरको बिस्केट जात्राका विषयमा मृत्युपछि यमराजले समेत प्रश्न गर्छन् भन्ने धार्मिक विश्वास रहँदै आएको छ। त्यसैले यी दुवै जात्रा जीवनमा कम्तीमा एकपटक हेर्नैपर्ने मान्यता रहेको बताइन्छ।

भाद्र शुक्ल पूर्णिमाका दिन विधिवत् रूपमा जात्रा सुरु हुने भए पनि यसको विधिविधान भाद्र शुक्ल प्रतिपदादेखि नै सुरु गर्ने परम्परा छ। जात्रामा शिखरेश्वर, गोपालेश्वर, नन्दिकेश्वर, अघोरेश्वर, कनकेश्वर, तिलविक्रमेश्वर र सिद्धिगणेश्वरका गरी सातवटा खट बोकिने गर्छन्। प्रत्येक खटमा सम्बन्धित देवताका मुखलिङ्ग शैलीका मूर्ति स्थापना गरिन्छ।

फर्पिङको हरिशङ्कर जात्रामा प्रयोग हुने खट नेपालमा मनाइने विभिन्न खट यात्रामध्ये सबैभन्दा ठूला खटमध्ये पर्ने स्थानीयवासी बताउँछन्। एउटा खट बोक्न कम्तीमा ५० जना मानिस आवश्यक पर्ने समितिले जनाएको छ।

हरिवंश पुराणमा विष्णु र शिवलाई एउटै स्वरूपका रूपमा व्याख्या गरिएको मान्यताका आधारमा हरिशङ्कर यात्रा सञ्चालन हुँदै आएको स्थानीय वृद्धहरूको भनाइ छ। फर्पिङको यो ऐतिहासिक जात्रा वाणासुरको पालादेखि सुरु भएको जनविश्वाससमेत रहेको छ। वाणासुरले सुरु गरेको यात्राका रूपमा मानिएकाले यसमा आर्य र अनार्य संस्कृतिबीचको समन्वयसमेत रहेको स्थानीयवासीको विश्वास छ।

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको हरिशङ्कर जात्रालाई संरक्षण गर्दै फर्पिङ क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रचारप्रसारलाई समेत प्राथमिकता दिइएको दक्षिणकाली नगरपालिकाले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया