असोज २६, २०८३ सोमबार October 12, 2026

बुढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति

यार खोला जलविद्युत् आयोजना अन्तर्गतको बेलीब्रिजमा क्षति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असोज २६ गते ।  बुढीगण्डकी नदीमा आएको बाढीले चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

आज बिहान बुढीगण्डकी नदीमा आएको बाढीका कारण आयोजनाको क्याम्प क्षेत्र, बेलीब्रिज, निर्माण सामग्री तथा उपकरण र पहुँच सडकमा क्षति पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बुढीगण्डकी करिडोरमा रहेका ३४१ मेगावाट क्षमताको बुढीगण्डकी, २४ दशमलव पाँच मेगावाटको दोभान खोला, ३० दशमलव ५९ मेगावाटको यारखोला र १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनामा क्षति पुगेको हो ।

बुढीगण्डकी जलविद्युत् आयोजना प्रवर्द्धक टाइम्स इनर्जी प्रालिका अनुसार आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाएको छ भने केही निर्माण उपकरण बाढीले बगाएको छ । यस्तै, दोभान खोला जलविद्युत् आयोजनाअन्तर्गत क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ । आयोजनाका लागि निर्माण गरिएको बेलीब्रिज बाढीले बगाएको छ ।

त्यसैगरी, यार खोला जलविद्युत् आयोजना अन्तर्गतको बेलीब्रिजमा क्षति पुगेको छ भने निर्माण सामग्री तथा उपकरणसमेत बाढीले बगाएको मन्त्रालयले जनाइएको छ ।

यस्तै, माछा खोला जलविद्युत् आयोजनास्थल पुग्ने पहुँच सडक र आयोजनास्थल जोड्ने पुलमा क्षति पुगेको छ । बाढीका कारण जलविद्युत् आयोजनाका भौतिक संरचना र निर्माणकार्यमा परेको क्षतिको पूर्ण विवरण तथा आर्थिक नोक्सानीको यकिन विवरण सङ्कलन भइ नसकेको मन्त्रालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया