असोज २८, २०८३ बुधबार October 14, 2026

दक्षिण कोरियाको रासायनिक कारखानामा भिषण आगलागी, सात हजार कामदार बाहिर निकालिए

घटनाको वास्तविक कारण र त्यसबाट भएको क्षतिको विवरण पत्ता लगाउन अनुसन्धान गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः  दक्षिण कोरियाको दक्षिणपूर्वी औद्योगिक सहर उल्सानस्थित रासायनिक कारखानामा बुधबार आगलागी भएपछि नजिकैको पेट्रोकेमिकल उद्योगको निर्माणस्थलबाट करिब सात हजार कामदारलाई सुरक्षित स्थानमा सारिएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभएको योन्हाप समाचार एजेन्सीले जनाएको छ ।

सियोलबाट करिब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको कारखानामा स्थानीय समयअनुसार बिहान ९ः४१ बजे आगो लागेको थियो । कारखानामा कार्यरत सबै १२ जना कर्मचारी सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए ।

अत्यधिक ज्वलनशील पदार्थ टोल्युइन भण्डारण गरिएको बाहिरी ट्याङ्कीबाट आगो सुरु भएको अधिकारीहरूले बताएका छन् । उक्त ट्याङ्कीमा आठ हजार लिटर टोल्युइन रहेको थियो । आगोबाट उडेका झिल्काहरू नजिकैको अर्को क्षेत्रमा खस्दा त्यहाँ पनि आगलागी भएको थियो । आगो छेउछाउका रासायनिक भण्डारण ट्याङ्कीमा फैलिन सक्ने जोखिमसमेत देखिएको थियो ।

आगलागीपछि बाक्लो कालो धुवाँ र विषाक्त गन्ध फैलिएपछि आसपासको क्षेत्र खाली गराइएको थियो । सम्भावित जोखिमबाट जोगाउन नजिकैको पेट्रोकेमिकल कारखानाको निर्माणस्थलमा कार्यरत करिब सात हजार कामदारलाई बाहिर निकालिएको थियो । अन्य नजिकका उद्योग तथा व्यवसायका कर्मचारीलाई पनि सावधानीका रूपमा सुरक्षित स्थानमा सारिएको थियो ।

आगो नियन्त्रणमा लिन अग्निनियन्त्रण अधिकारीहरूले राष्ट्रियस्तरको आपत्कालीन परिचालन आदेश जारी गरेका थिए । त्यसपछि विशेष अग्निनियन्त्रण सवारीसाधन, हेलिकप्टर र आसपासका सहर तथा क्षेत्रबाट दुई सयभन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको थियो ।

अधिकारीहरूका अनुसार दिउँसो १ः३४ बजे आगो नियन्त्रणमा लिइएको थियो भने १ः५० बजे पूर्ण रूपमा निभाइएको थियो । घटनाको वास्तविक कारण र त्यसबाट भएको क्षतिको विवरण पत्ता लगाउन अनुसन्धान गरिने अधिकारीहरूले बताएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया