कार्तिक ११, २०८३ बुधबार October 28, 2026

जवाफदेहिताको परीक्षामा गगन : सुदर्शन आचार्य

पार्टी र राज्यसत्तामाथि चोटिला प्रश्न गरेर राजनीतिक उचाइ हासिल गरेका कांग्रेस सभापति गगनको अब जवाफदेहिताको परीक्षा आरम्भ भएको छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

राजधानीका खुलामञ्चमा सम्पन्न नेपाली कांग्रेसको १५ औँ ऐतिहासिक महाधिवेशनले सो पार्टीको सभापतिमा ९३.८८ प्रतिशत मतसहित सभापतिमा गगनकुमार थापालाई अनुमोदन गरेको छ । सो अनुमोदनले संस्थापक सभापति देवीप्रसाद सापकोटापछिको नवौँ सभापतिका रूपमा थापालाई अनुमोदन गरेको मात्र नभई नौ महिनाअघि भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनको नीति र नेतृत्वलाई समेत एकसाथ अनुमोदन गरेको छ ।

विशेष महाधिवेशनबाट चयन भएको गगन नेतृत्वको हिजोकै केन्द्रीय समितिलाई चुनौती दिँदै तत्कालीन सभापति शेरबहादुर देउवापक्ष एकातिर कानुनी उपचारका नाममा अदालत धाइरहेको छ भने अर्कातिर समानान्तर महाधिवेशनको उल्झन निकालेर गुट भेला गरिरहेको छ । यही समयमा सम्पन्न कांग्रेस महाधिवेशनले नेतृत्व मात्र परिवर्तन नगरी नीति र नेतृत्व बदल्ने विषयसमेत संस्थागत गर्ने काम गरेको छ ।

३७ वर्षे राजनीतिक यात्रामा पार्टी राज्यसत्तामाथि चोटिला प्रश्न गरेर राजनीतिक उचाइ हासिल गरेका कांग्रेस सभापति गगनको अब भने प्रश्नसँगै जवाफदेहिताको परीक्षा आरम्भ भएको छ । अर्कातिर तत्कालीन कांग्रेस सभापति देउवाकालीन समयमा भएको कांग्रेसको क्षयीकरण फिर्ता ल्याउने चुनौती पनि सभापति थापामाथि थपिएको छ ।

प्रधानमन्त्री बन्ने स्वाभाविक आकांक्षासहित कांग्रेस सभापतिको सानेपास्थित कुर्सीमा पुगेका सभापति थापासामु बरालिएर कांग्रेसबाट बाहिरिएका केही थान नेता (भ्रष्टबाहेक)लाई समेत समेट्दै एकीकृत पार्टी निर्माण गर्नैपर्ने दबाबसमेत उत्तिकै छ ।

गगनको अबको चुनौती भनेको आफूभन्दा कम उमेर समूहका नेताको प्रश्न र १५औँ महाधिवेशनमा आफैँद्वारा पेस गरिएको राजनीतिक प्रस्तावको कार्यान्वयन हो । हिजोको नेतृत्वले गरेका दर्जनौँ कमीकमजोरीमाथि कटाक्ष गर्दै आएका गगनलाई अबका दिनमा तिनै कमजोरी दोहोर्याउने छुट छैन ।

सँगै आसन्न स्थानीय तथा प्रदेश निर्वाचनमा कांग्रेसले अधिकतम सिट हासिल गर्न सक्दा मात्र आगामी आमनिर्वाचनबाट कांग्रेसलाई देशकै ठुलो दल बनाएर सिंहदरबारको ‘कमान्ड’ सम्हाल्न सम्भव हुने हो । त्यो चुनौतीलाई आत्मसात् गर्नुपूर्व कांग्रेससँग जनतालाई र जनतासँग कांग्रेसलाई जोड्ने चुनौती झनै पहाड भएर उभिएको देखिन्छ । त्यो चुनौती पार नगरुन्जेल सिंहदरबारको कमान्ड धेरै टाढा रहनेछ ।

जेन–जी विद्रोहपश्चात् कांग्रेसका देशैभरका महाधिवेशन प्रतिनिधिले विद्रोह गर्ने आँट गर्दै विशेष महाधिवेशन गरी नेतृत्व परिवर्तन गरेका थिएनन् भने कांग्रेसको आजको ‘साइज’मा भारी गिरावट आउने निश्चित थियो ।

विद्रोहबाट सिर्जित खरानीबाट पार्टीलाई उठाएर यहाँसम्म ल्याउन गगन–विश्वलगायत नेतृत्वले जुन स्केलको चुनौती सामना गरे त्यो अदम्य नै छ । अब विशेष र १५औँ महाधिवेशनको विषय समाप्त भएको छ । हिजोको विशेष महाधिवेशनसमेतलाई १५औँ महाधिवेशनले अनुमोदन गरिसकेको छ ।

सभापति गगन नेतृत्वको अबको चुनौती भनेको आफ्नै उमेर समूहभन्दा कम उमेरका नेताको प्रश्नसँगै १५औँ महाधिवेशनमा आफैँद्वारा पेस गरिएको राजनीतिक प्रस्तावको कार्यान्वयन नै हो । हिजोको नेतृत्वले गरेका दर्जनौँ कमीकमजोरीमाथि कटाक्ष गर्दै आएका गगनलाई तिनै कमजोरी दोहोर्याउने छुट छैन ।

सभापतिमा अनुमोदन हुनुपूर्व महाधिवेशनको हलमा पेस गरिएको राजनीतिक प्रस्तावमा उल्लेख भएका नागरिक स्वतन्त्रता, कानुनी शासन, जवाफदेही राज्यजस्ता लोकतान्त्रिक राज्यव्यवस्थाका आधारहरूको जुन विस्तृत व्याख्या गरिएको छ, तिनको अक्षरशः कार्यान्वयनमा राज्यलाई दबाब दिँदै ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को परिकल्पनाभित्र उल्लेख गरिएको विषय नागरिकले सम्मानपूर्वक बाँच्न पाउनेदेखि रोजगारी, उत्पादन तथा वैध सम्पत्ति जोड्न प्रेरित गर्नेसम्मको विषयको अनुभूति गराउन कांग्रेसले अग्रसरता लिनैपर्ने दबाब अब गगनमाथि छ ।

राष्ट्रिय मुद्दामा प्रस्ट धारणा र पार्टीभित्र सधैँ विद्रोही नेताका रूपमा आफूलाई उभ्याउँदै आएका सभापति थापासामु भोलिको मुख्य चुनौती भनेकै गत फागुन २१ मा भएको निर्वाचनमा गुमाएको मतदाताको विश्वास आर्जन गर्नु हो । १५औँ महाधिवेशनको समाप्तिपश्चात् सो महाधिवेशनमा छुटेका ‘चुनदेवी समूह’लाई अब धेरै दोषारोपण गर्ने ठाउँ छैन ।

उनीहरू कांग्रेसको रेलबाट छुटिसके । बाटो ठम्याउँदै भोलि कोही घर फिर्ती हुन सक्छन्, त्यो दोस्रो विषय हो । आजका मितिमा उनीहरूले ऐतिहासिक अवसर गुमाएकै हुन् । १५औँ महाधिवेशनको पूर्ण परिणाम सार्वजनिक भएसँगै ‘चुनदेवी समूह’को ‘फेक महाधिवेशन’मा सामेल प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रदेश सभा तथा स्थानीय तहका जनप्रतिनिधिबारे पनि उनीहरू स्वयंले मार्गप्रशस्त नगरे पार्टी एउटा निष्कर्षमा पुग्नैपर्छ । तब मात्र राजनीतिक दलहरूमा अनुशासन स्थापित हुने हो ।

आज राष्ट्रिय राजनीतिमा कांग्रेस चुनौतीपूर्ण अवस्थामा छ । एकाथरी कांग्रेसका कथित ‘सिनियर’ भनिएकाहरू सभापति थापाको उमेर र राजनीतिक फैलावटका कारण हुनुपर्छ, सभापति स्वीकार गर्न तयार नभएर ‘समानान्तर महाधिवेशन’ नामको जग हँसाइमा छन् । अर्कातिर सरकार दुईतिहाइको आडमा जवाफदेहिताभन्दा बारम्बार बाहिर जान खोज्दै छ ।

यी दुवै जोखिमका बिचबाट पार्टीको आकार बढाउँदै लैजानु सामान्य विषय होइन । सँगै पार्टीमा निर्वाचनका माध्यमबाट प्रवेश पाएका केन्द्रदेखि स्थानीय तहसम्मका कार्यसमितिका नेतालाई परिवर्तनसँगै विचारले सुसज्जित गर्न नसक्ने हो भने कांग्रेस पार्टी स्वयं भिडमा रूपान्तरण हुने खतरा उत्तिकै छ । जुन काम, अर्थात् नेता–कार्यकर्तालाई पर्याप्त वैचारिक प्रशिक्षणबाट प्रशिक्षित गर्ने विषय सभापति थापाबाट अपेक्षाकृत छ ।

कांग्रेस मात्र नभई नेपालका राजनीतिक दलहरूले आफ्ना नेता–कार्यकर्तालाई राजनीतिक संस्कार सिकाएनन् मात्र होइन, सिकाउनै चाहेनन् । त्यति मात्र नभई विचार र संस्कार नै नमिल्नेसँग पनि निर्वाचनअगावै गठबन्धन गरेर संस्कारको राजनीतिलाई निषेध गर्ने काम हिजोका मितिमा भयो । अब कम्तीमा अरूले नसके पनि ३५ वर्षमुनिका पुस्ता, जो केन्द्रीय समितिमा समेत प्रवेश पाउँदै छन्, उनीहरूलाई सिकाउँदै उनीहरूकै माध्यमबाट नवयुवा पुस्तासित कांग्रेस जोडिन जरुरी छ ।

जुन कामको अपेक्षा सभापति थापासँग देशभरका कांग्रेसजनको मात्र नभई कांग्रेसका शुभचिन्तकले समेत गरेको देखिन्छ । सभापति थापाले फरक विचार र प्रश्न गर्न नदिने जुन अठोट गरे, त्यो स्वागतयोग्य विषय हो । त्यसको अलावा आफैँद्वारा प्रस्तुत ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ नामक राजनीतिक प्रस्तावले पार्टी रूपान्तरणको मार्गचित्र त देखाउँछ नै, त्यसको कार्यान्वयनका निम्ति भने चानचुने प्रयत्नले पार लाग्ने देखिँदैन ।

‘कठिन प्रश्नहरूबाट भाग्दिनँ, कठोर निर्णयहरू गर्ने कुराबाट चुक्दिनँ’ भन्ने भनाइबाट सभापति थापामा आत्मविश्वास पाइन्छ । तर, विषयको ठम्याइसँगै कार्यान्वयनका लागि भने सभापति थापासँग ‘टिमस्पिरिट’ मिल्न बाँकी नेतृत्व चाहिन्छ । नयाँ कांग्रेस निर्माण गर्ने संकल्प एक्लैले पार लाग्ने विषय होइन । त्यसैका निम्ति हो, टिम चाहिने ।

वास्तवमै १५औँ महाधिवेशनबाट कांग्रेसमा नयाँ अध्याय सुरु भएको छ । सत्ता र शक्तिमा आधारित नभएर मूल्य र मान्यतामा आधारित कांग्रेस निर्माण गर्ने सुखद अवसर यतिवेला सभापति थापालाई प्राप्त भएको छ । विगतमा कांग्रेसमै मतदान गरेका, तर देउवाकालीन समयमा ‘जे गरे पनि हुन्छ’ भन्ने मान्यता स्थापित गर्न खोजेकै कारण कांग्रेस छाडेका १० लाख मतदाता मात्रैको मन र मत कांग्रेसले फिर्ता ल्याउन सक्दा गगनको सभापतिमा सफलता त्यहीँबाट प्रारम्भ हुनेछ ।

भन्नैपर्छ, कांग्रेस भुत्ते भएको छ । पठन संस्कृति र विचार निर्माण आजका मितिसम्मको कांग्रेसको शव्दकोषमै देखिन्नँ । बाहुबलीहरू हाबी हुँदै गएका थिए, पार्टीमा । यस्तो अवस्थाको कांग्रेसमा मूल्य र मान्यताको राजनीतिक संस्कार प्रवेश गराउन सामान्य जोडबलले मात्र सम्भव नै छैन ।

कांग्रेसको हरेकस्तरको नेतृत्वदायी तहका नेताहरूमा राजनीतिक संस्कार प्रवेश नगराएसम्म कांग्रेस छाडेका १० लाख मतदाताको मन र मत फर्काउन कति सम्भव होला ? यही प्रश्नको सेरोफेरोमा जवाफ खोज्ने दायित्व गगन नेतृत्वको कांग्रेसको हो । इतिहासमै ठुलो र देखिने गरी कांग्रेसको संरचनागत परिवर्तन भएको छ ।

सहिद परिवारदेखि द्वन्द्व प्रभावित, विस्थापित तथा पेसागत हुँदै भूगोलसम्मले कांग्रेसको तहगत नेतृत्वमा प्रवेश पाएको छ । यो सुखद विषय हो । तर, भद्दा संरचनागत पद्धति बदल्न भोलिका मितिमा कांग्रेसले क्रियाशील सदस्यबाटै वडादेखि जिल्ला हुँदै केन्द्रीय नेतृत्व छनोटको बाटोमा नगई सुखै छैन । तब मात्र कार्यकर्ताले रुचाएको पार्टी नेतृत्वसँगै पार्टी निर्माण सम्भव छ ।

विरासतका नाममा राजनीति गर्ने अवसर पाएकादेखि कांग्रेस पार्टीले नै पाँच–पाँचपटक प्रधानमन्त्री बनाएका देउवासम्मको चित्तवृत्ति निकै साँघुरो देखियो । ३९ वर्षीय बालेन्द्र शाह मुलुकको प्रधानमन्त्री भइसकेको यथार्थलाई चटक्कै भुलेर उनीहरू, अर्थात् देउवाहरूले राजनीतिक रूपमा परिपक्व भइसकेका गगन–विश्वलाई केटाकेटी नै सम्झिए ।

उमेर पाको हुँदैमा राजनीतिमा सफल भइने भए एमाले नेता ओली प्रधानमन्त्री भएकै बखत न हेलिकोप्टर चढेर चार भन्ज्याङ काट्नुपथ्र्यो न त देउवाले आफ्नै घरमा दुव्र्यवहारयुक्त अपमान भोग्नु नै पथ्र्यो । दुवै पर्दैनथ्यो । त्यसको अलावा कांग्रेसका सन्दर्भमा देशैभरका महाधिवेशन प्रतिनिधिले विरासत, सत्ता तथा शक्तिमा आसक्त हुनेहरूलाई महाधिवेशनको मैदानमा खोज्दा पनि खोजेनन् । खोजे त केवल जेन–जी विद्रोहपश्चात् खरानी टकटक्याउँदै उठेका गगन–विश्वलाई ।

९३.८८ प्रतिशत महाधिवेशन प्रतिनिधिले गगन–विश्वको काँधमा निसर्त पार्टी जिम्मा लगाएका भने होइनन्, ससर्त जिम्मा लगाएका हुन् । त्यो सर्त हो– कांग्रेसबाट बिच्किएका, चिढिएका र रुष्ट भएका मतदाताको मन र मत फिर्ता ल्याउने । त्यसको अलावा पार्टीलाई वैचारिकी बनाउँदै संस्कारको राजनीतिको राजमार्गमा हिँडाउने । सँगै, राज्य सञ्चालनका सन्दर्भमा साझा परराष्ट्र नीति, विकासमा साझेदारी र सुशासनमा निर्मम प्रस्तुतिको अपेक्षा महाधिवेशन प्रतिनिधिको देखिन्छ ।

कम्तीमा आजका मितिमा गगन नेतृत्वको कांग्रेसबाट यति मात्र हुन सक्दा पनि कांग्रेसजन र उसका शुभचिन्तकहरूले देउवाकालीन समयमाझैँ शिर निहुराएर हिँड्नुपर्ने अवस्था रहन्न । अन्त्यमा गगन नेतृत्वको कांग्रेसको सिंगोे केन्द्रीय समितिलाई बधाई तथा शुभकामना ! नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसईईका लागि परीक्षा आवेदन फारम खुला (सूचना सहित)
२०८३ कार्तिक ११, बुधबार
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
२०८३ कार्तिक ११, बुधबार
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार
लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, चाँदी पनि १० रुपैयाँले महँगियो
२०८३ कार्तिक ११, बुधबार
धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
२०८३ कार्तिक ११, बुधबार
झापामा सवारी दुर्घटनाको ‘ग्राफ’ बढ्दो
२०८३ कार्तिक ११, बुधबार