काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकता विवाद र बिचौलिया इनम सापकोटासँग जोडिएको अडिओ प्रकरणमा आफ्नो कुनै आर्थिक लेनदेन वा अनुचित संलग्नता नरहेको दाबी गरेका छन् ।
शुक्रबार सार्वजनिक भिडियो सन्देशमार्फत सभापति थापाले कांग्रेसको विशेष महाधिवेशनलाई पार्टीभित्र परिवर्तनका लागि गरिएको विद्रोहको संज्ञा दिँदै त्यसक्रममा कुनै आर्थिक लेनदेन नभएको स्पष्ट पारेका हुन् ।
उनले पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक तथा कानुनी लडाइँमा एक सुकाको पनि आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरे । इनम सापकोटाको नाममा सार्वजनिक भएको अडिओमा आफ्नो विषयमा केही कुरा सुनिएको भनिए पनि उक्त अडिओ कहाँ, कहिले र कसले बोलेको हो भन्ने आफूलाई जानकारी नभएको उनले बताए ।
थापाले सापकोटा प्रहरी हिरासतमा रहेकाले उनीमाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने र अनुसन्धानबाट जोडिएका सबै विषय सार्वजनिक हुनुपर्नेमा जोड दिए । उनले अनुसन्धानको निष्पक्षता सुनिश्चित गरी सत्यतथ्य बाहिर ल्याउन सञ्चारमाध्यम तथा सरोकारवालाहरूले पनि भूमिका खेल्नुपर्ने बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरूसँग भएको भेटघाटबारे पनि थापाले स्पष्टीकरण दिएका छन् । मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत लिनुपर्ने अवस्था रहेकाले राजनीतिक दलका नेताहरूसँग संवाद गरिएको उनको भनाइ छ ।
उनले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवसँग पनि भेट गरेको उल्लेख गर्दै एमाले अध्यक्ष ओलीसँगको भेटलाई पनि त्यही राजनीतिक संवादको निरन्तरताका रूपमा व्याख्या गरे । भेटघाटमा कुनै गोप्य राजनीतिक सहमति वा अन्य विषय नरहेको उनले स्पष्ट पारे ।
थापाले वर्तमान सरकारले पाँच वर्षको जनादेश पाएको उल्लेख गर्दै सरकारलाई सही विषयमा केन्द्रित हुन आग्रह गरे । बाढीपहिरोबाट विस्थापित नागरिकको पुनर्स्थापना, सुकुम्बासी समस्या समाधान, रोजगारी सिर्जना, लगानी प्रवर्द्धन र अर्थतन्त्र सुधार सरकारका प्राथमिकता हुनुपर्ने उनको भनाइ छ ।
सरकारले सही काम गर्दा कांग्रेसले सहयोग गर्ने तर लोकतान्त्रिक अधिकार खुम्च्याउने तथा राज्यका संस्थाहरू कमजोर बनाउने काम भए प्रतिवाद गर्ने उनले चेतावनी दिए ।
आफूमाथि नियोजित रूपमा आरोप र भाष्य निर्माण गर्न खोजिएको भन्दै थापाले त्यसबाट पार्टीको भूमिका र सरकारमाथि प्रश्न उठाउने जिम्मेवारी प्रभावित नहुने बताए ।
‘मेरो हात सफा छ, मनमा कुनै कालो छैन,’ भन्दै उनले आफ्नो नैतिकता र इमानदारितामाथि विश्वास गर्न समर्थक तथा शुभेच्छुकलाई आग्रह गरे ।
उनले अन्त्यमा राजनीतिक विवाद र आरोप–प्रत्यारोपका बीच सरकार तथा सार्वजनिक निकायलाई प्रश्न गर्ने अधिकार कमजोर हुन नहुनेमा जोड दिए । ‘प्रश्न मर्यो भने लोकतन्त्र सकिन्छ’ भन्दै उनले लोकतन्त्र र देशको प्रगतिका लागि प्रश्न गर्ने संस्कार जोगाउनुपर्ने बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया