काठमाडाैं । जेन–जी दिवस पारेर गत २४ भदौमै अनावरणका लागि तयार पारिए पनि आकृति नमिलेपछि अलपत्र परेका जेन–जी सहिदका सालिक पुनः बनाउन थालिएको छ । अब सहिद दिवस पारेर १६ माघमा अनावरण गर्ने गरी सालिक निर्माण थालिएको हो ।
यसअघि तयार गरिएका सालिक अनावरणका लागि २४ भदौमै गृहमन्त्री सुधन गुरुङ, भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल, नेपाल प्रहरीका तत्कालीन आइजिपी दानबहादुर कार्कीलगायत जेन–जी सहिद पार्क पुगे पनि अनुहार र आकृति नमिलेको भन्दै सहिदका परिवारले विरोध गरेपछि त्यसै फर्किएका थिए । ललितपुर सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा जेन–जी सहिद पार्कसहित ४२ प्रदर्शनकारी र तीन प्रहरी गरी ४५ सहिदको सालिक बनाइएको थियो ।
अब १६ माघमा अनावरण गर्नका लागि सम्बन्धित सहिदसँग अनुहार, छालाको रङ र लुगासमेत दुरुस्तै मिल्ने गरी सालिक बनाउन कालिगडहरू खटिइरहेका छन् । १२ कालिगड खटिएकामा हालसम्म ६ सहिदका सालिक तयार भइसकेका छन् । यसअघि तयार गरिएका कुनै पनि सालिक काम नलाग्ने भएपछि नयाँ ढुंगा ल्याएर फेरि कुँद्न थालिएको जेन–जी सालिक तथा सहिद पार्क निर्माणका सहजकर्ता अर्जुन थापाले बताए ।
‘सालिक बनाउने काम धमाधम भइरहेको छ, अहिले १२ मूर्तिकारले सालिक बनाउँदै हुनुहुन्छ, ६ वटा सालिक तयार भइसकेका छन् । सम्बन्धित सहिदको अनुहार, छालाको रंग र लुगासमेत मिल्ने नयाँ सालिक बन्दै छन् । परिवारकै सदस्यले भनेअनुसारको आकृति बनाइएको छ । लगानी नपुगे सहिद परिवारका सदस्यहरूले पनि सहयोग गर्ने भन्नुभएको छ,’ उनले भने, ‘अब सहिद दिवस पारेर १६ माघमा अनावरण गरिनेछ ।’ पहिले हतारमा गर्दा आकृति बिग्रएको भन्दै अब त्यस्तो नहुने थापाको दाबी छ ।
२३ भदौ ०८२ को जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारी, प्रहरी, जेलबाट भाग्नेलगायत गरी ७६ जनाको मृत्यु भएको थियो । जसमध्ये आन्दोलनमै सहभागी हुँदा सुरक्षाकर्मीको गोली लागेर मारिएका ४२ आन्दोलनकारी र आन्दोलनकारीको आक्रमणमा मारिएका तीन प्रहरी गरी ५४ जनालाई सरकारले सहिद घोषणा गरेको थियो ।
उनीहरूको सम्मानमा तत्कालीन सुशीला कार्की सरकारले नै सालिकसहित पार्क बनाउने योजना अघि सारेको थियो । तत्कालीन सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राखेप परिसरमा जग्गा व्यवस्थापन गरेपछि ग्लोबल आइएमई बैंकको आर्थिक सहयोगमा निर्माण थालिएको थियो । तर, अनावरण गर्ने वेला सहिदको आकृति नमिलेको भन्दै सहिदका परिवारले नै प्रश्न उठाएपछि त्यसलाई स्थगित गरेर पुनः निर्माण थालिएको हो । पार्क भने यसअघि नै निर्माण भइसकेको छ ।
यसअघि सालिक र पार्क निर्माणमा ६० लाख खर्च भएको थियो । पहिले बनाएका कुनै पनि सालिक काम नलाग्ने भएपछि अब नयाँ सालिक बनाउन थालिएको छ । बनाउँदै गरिएका सालिकको खर्च पुरानै खर्चमा कटौती हुने गरी बनाउने सहमति मूर्तिकारहरूसँग भएको छ । खर्च नपुग्ने अवस्थामा जेन–जी सहिदका परिवारले पनि सहयोग गर्ने आश्वासन दिएको सहजकर्ता थापाले बताए ।
सुरुमा ४२ आन्दोलनकारी सहिदको मात्रै सालिक बनाउन थालिएको थियो । तीन प्रहरी सहिदलाई नसमेटिएपछि नयाँ पत्रिकाले समाचार प्रकाशन गरेको थियो । त्यसपछि प्रहरी सहिदको सालिक पनि अन्य सहिदसँगै राख्ने गरी बनाउन थालिएको थियो । नयाँपत्रिकाबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया