मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

अझै सञ्चालनमा आएन निगाले सिमेन्ट

सरकारी पक्षबाट ठोस पहल हुन नसक्दा उद्योगसँग जोडिएका स्थानीय पसल तथा व्यवसायसमेत प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धनकुटा, ८ मङ्सिरः आर्थिक सङ्कट, कच्चा पदार्थको अभाव र उत्पादन लागत बढ्दै गएपछि बन्द भएको धनकुटाको एकमात्र ठूलो सिमेन्ट उद्योग ‘निगाले सिमेन्ट’ लामो समय बितिसक्दा पनि पुनः सञ्चालनमा आउन सकेको छैन । उद्योग बन्द हुँदा १५० भन्दा बढी कर्मचारी तथा मजदुर बेरोजगार बनेका छन् भने कोशी प्रदेशका पहाडी जिल्लाको सिमेन्ट आपूर्तिमा समेत असर परेको छ ।

छथर जोरपाटी गाउँपालिका–६, सिधुवाँमा सञ्चालित उद्योगको दैनिक छ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता थियो । आर्थिक मन्दी, बजारमा सिमेन्टको माग घट्नु र कच्चा पदार्थको मूल्य बढ्दै जानुका कारण उत्पादन क्षमता घटेर दैनिक तीन हजार बोरामा सीमित भएको थियो । निरन्तर घाटा हुन थालेपछि उद्योग बन्द गर्नुपरेको सञ्चालक दिनेश पौडेलको भनाइ छ । तत्काल उद्योग सञ्चालन गर्ने कुनै तयारी नरहेको र पुनः सञ्चालनको सम्भावना पनि नरहेको उहाँको भनाइ छ ।

सानो उद्योग भएकाले ठूला सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको बताउँदै पौडेल बताउनुहुन्छ । उद्योग स्थापना भएदेखि नै भौगोलिक अवस्थिति र चिसो मौसमका कारण उत्पादन क्षमताअनुसार सञ्चालन हुन नसकेको सञ्चालकको भनाइ छ । दैनिक ३०० टन उत्पादन क्षमता भए पनि वास्तविक उत्पादन दैनिक १५० टनमा सीमित हुने गरेको थियो ।

भारतबाट आयात गर्नुपर्ने कोइला, बक्साइट, लेटराइट र जिप्समलगायत कच्चा पदार्थको मूल्य अत्यधिक बढेपछि उत्पादन लागतसमेत वृद्धि भएको उद्योगले जनाएको छ । एकातिर उत्पादन खर्च बढ्दै जानु र अर्कोतर्फ सिमेन्ट बिक्रीमा कमी आउनुले उद्योग निरन्तर घाटामा गएको पौडेलले बताउनुभयो । उद्योग सञ्चालनमा रहँदा धनकुटासहित तेह्रथुम, भोजपुर र सङ्खुवासभाको सिमेन्ट मागको करिब ८० प्रतिशत आपूर्ति गर्दै आएको थियो । उद्योग बन्द भएपछि यी जिल्लाको बजारले अन्य जिल्लाका सिमेन्ट उद्योगबाट आपूर्ति गर्नुपर्ने अवस्था आएको छ ।

उद्योग बन्द हुँदा स्थानीय अर्थतन्त्र प्रभावित

निगाले सिमेन्ट बन्द हुनु उद्योग सञ्चालकको मात्र समस्या नभई समग्र स्थानीय अर्थतन्त्रसँग जोडिएको विषय बनेको छ । उद्योग बन्द भएपछि प्रत्यक्ष रुपमा काम गर्ने मजदुर र प्राविधिक कर्मचारीसँगै ढुवानी व्यवसायी, स्थानीय व्यापारी तथा उद्योगमा निर्भर अन्य व्यवसायसमेत प्रभावित भएका छन् । कोरोना महामारीपछि देशभर देखिएको आर्थिक सङ्कटको असर धनकुटाका साना तथा मझौला उद्योगमा परेको धनकुटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रीराम रायमाझीले बताउनुभयो ।

उद्योग पुनः सञ्चालनका लागि सङ्घले समस्याको पहिचान गरी आवश्यक पहल गर्ने तयारी गरेको रायले जानकारी दिनुभयो । स्थानीयस्तरबाट समाधान गर्न सकिने समस्या तथा कच्चा पदार्थ आपूर्तिसम्बन्धी समस्या भए त्यसको समाधानका लागि पहल गर्न सकिने उहाँको भनाइ छ । तर, समस्या उद्योग सञ्चालककै आन्तरिक कारणसँग सम्बन्धित भए सङ्घले प्रत्यक्ष रुपमा समाधान गर्न नसक्ने उहाँले बताउनुभयो । तीनै तहका सरकारले समन्वय गरेर उद्योग सञ्चालनका लागि पहल गर्नुपर्ने भए पनि अहिलेसम्म सरकारी पक्षबाट ठोस पहल हुन नसकेको रायको भनाइ छ ।

उद्योग सञ्चालकको आन्तरिक कारणले उद्योग बन्द भएको छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्रकुमार सुब्बाले बताउनुभयो । उहाँले आन्तरिक कारणले बन्द भएकाले कुनै पहल गर्न नसकेको बताउँदै स्थानीयको कारणले वा अन्य कारणले भन्ने जानकारीमा नआएको बताउनुभयो । उद्योग बन्द हुँदा स्थानीय रोजगारी र आर्थिक गतिविधिमा ठूलो असर परेको उहाँको भनाइ छ । उद्योगमा कार्यरत मजदुर, प्राविधिक कर्मचारी, ढुवानी व्यवसायी र उद्योगसँग जोडिएका स्थानीय पसल तथा व्यवसायसमेत प्रभावित भएका छन् ।

विद्युत्को १६ करोड र गाउँपालिकाको २२ लाख बक्यौता

उद्योगको आर्थिक सङ्कटलाई थप जटिल बनाउने अर्को विषय विद्युत् महसुल र गाउँपालिकाको बक्यौता बनेको छ । नेपाल विद्युत् प्राधिकरण धनकुटाका अनुसार गत असोज मसान्तसम्म उद्योगले जरिवानासहित १५ करोड ८३ लाख आठ हजार ६२९ रुपैयाँ ३० पैसा विद्युत् महसुल तिर्न बाँकी छ । समयमै महसुल भुक्तानी नहुँदा जरिवाना थपिएर बक्यौता रकम दोब्बरभन्दा बढी पुगेको प्राधिकरणका कर्मचारी हेमचन्द्र थापाले जानकारी दिनुभयो । ठूलो रकमको विद्युत् महसुल बक्यौता पनि उद्योग पुनः सञ्चालनका लागि चुनौती बनेको छ ।

यस्तै, उद्योगले उत्पादन गर्ने प्रत्येक बोरा सिमेन्टबाट एक रुपैयाँका दरले छथर जोरपाटी गाउँपालिकालाई बुझाउने सहमति भएको गाउँपालिका अध्यष सुब्बाले जानकारी दिनुभयो । सुरुका वर्षमा उद्योगले गाउँपालिकालाई रकम बुझाउने गरे पनि पछिल्लो समय उक्त रकम भुक्तानी नगर्दा करिब २२ लाख रुपैयाँ बक्यौता रहेको अध्यक्ष सुब्बाले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्यः मन्त्री चौधरी
२०८३ मंग्सिर ८, मंगलबार
अझै सञ्चालनमा आएन निगाले सिमेन्ट
२०८३ मंग्सिर ८, मंगलबार
प्रधानमन्त्री भारत भ्रमणमा रहेका बेलाको तस्बिर सामाजिक सञ्जालमा भाईरल
२०८३ मंग्सिर ८, मंगलबार
भेरी अस्पतालमा न्यूरो र प्लास्टिक सर्जरी सेवा पुनः सञ्चालन
२०८३ मंग्सिर ८, मंगलबार
सुनकोशी-मरिण आयोजनाको कागजात बुझाउन लेखा समितिको निर्देशन
२०८३ मंग्सिर ८, मंगलबार
प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा भक्तजनको घुइँचो
२०८३ मंग्सिर ८, मंगलबार
एसिया कपमा आज नेपालले पाकिस्तान ‘ए’ विरुद्ध खेल्दै
२०८३ मंग्सिर ८, मंगलबार