मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

सुनकोशी-मरिण आयोजनाको कागजात बुझाउन लेखा समितिको निर्देशन

सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदै प्राप्त विवरणको अध्ययनपछि थप छलफल गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

समितिले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारीलगायतसँग छलफल गरेपछि सम्बन्धित निकायलाई यस्तो निर्देशन दिएको हो ।

समिति सभापति भरतबहादुर खड्काले सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदै प्राप्त विवरणको अध्ययनपछि थप छलफल गरिने जानकारी दिए ।

छलफलका क्रममा सभापति खड्काले राष्ट्रिय गौरवको आयोजनामा हुने ढिलाइले मधेश प्रदेश मात्र नभई समग्र मुलुकलाई असर पार्ने बताए । उनका अनुसार ठेक्का रद्द हुँदा हुने प्रत्यक्ष आर्थिक नोक्सानीलाई मात्र आधार बनाएर आयोजनाको क्षति मूल्यांकन गर्नु पर्याप्त हुँदैन ।

उनले आयोजना सञ्चालन गर्नुको मूल उद्देश्य नै प्रभावित हुने भएकाले ठेक्का रद्द वा निर्माणमा ढिलाइ हुँदा त्यसबाट पर्ने समग्र प्रभावको समेत समीक्षा गर्नुपर्ने धारणा राखे ।

मधेशलाई देशको अन्न भण्डारका रूपमा उल्लेख गर्दै खड्काले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुन नसक्दा कृषि उत्पादनदेखि समग्र राष्ट्रिय अर्थतन्त्रसम्म असर पुग्न सक्ने बताए ।

उनले सार्वजनिक लेखा समितिमा यस विषयमा विस्तृत छलफल गरी निष्कर्षमा पुग्ने र सम्बन्धित पक्षलाई थप जिम्मेवार बनाउने आवश्यकता औँल्याए ।

समितिले सम्बन्धित निकायबाट कागजात प्राप्त भएपछि ठेक्का रद्द गर्नुको कारण, त्यस क्रममा अपनाइएको प्रक्रिया तथा आयोजनाको उद्देश्य र प्रगतिमा परेको प्रभावबारे अध्ययन गर्ने जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया