काठमाडौँ । नेवार समुदायका ४० थरलाई दलित सूचीमा समावेश गरिएको सरकारी निर्णयप्रति असन्तुष्टि जनाउँदै काठमाडौँको असनमा विरोध प्रदर्शन गरिएको छ । शनिबार असन डबलीमा भेला भएका नेवार समुदायका व्यक्तिहरूले सम्बन्धित समुदायसँग परामर्श नगरी र पर्याप्त अध्ययनबिना गरिएको सूचीकरणले सांस्कृतिक पहिचान तथा सामुदायिक आत्मसम्मानमा असर पुर्याएको भन्दै निर्णय सच्याउन माग गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले सरकारले कुनै पनि समुदायको पहिचान र सामाजिक अवस्थाबारे निर्णय गर्दा ऐतिहासिक तथ्य, वैज्ञानिक अध्ययन र सम्बन्धित पक्षसँगको परामर्शलाई आधार बनाउनुपर्ने बताएका थिए ।
प्रदर्शनकारी सुशन वैद्यले नेवार समुदायका ४० थरलाई दलित सूचीमा समावेश गर्ने क्रममा दलित आयोगले सम्बन्धित समुदायसँग छलफल नगरेको र वैज्ञानिक अध्ययनसमेत नगरेको आरोप लगाए । उनले यस्तो निर्णय स्वीकार्य नहुने बताउँदै निर्णय नसच्चिए विरोधका कार्यक्रम थप सशक्त बनाइने चेतावनी दिए । नेपाली कांग्रेसका काठमाडौं महानगरपालिका सभापतिसमेत रहेका वैद्यले पार्टीले पनि यस विषयमा थप विरोध गर्ने बताए ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. अमिता प्रधान शाक्यले सरकारी निर्णयले नेवार समुदायको सांस्कृतिक पहिचानमाथि असर पारेको बताइन् । उनले नेवार समुदायमा दलित वर्ग नरहेको आफ्नो धारणा राख्दै सूचीमा जीवित देवीको थरसमेत समावेश गरिएको उल्लेख गरिन् । सम्बन्धित समुदायसँग समन्वय नगरी निर्णय गरिएको भन्दै उनले यसले भविष्यमा जातीय तनाव निम्त्याउन सक्ने चिन्ता व्यक्त गरिन् ।
त्यस्तै, कांग्रेसकी अर्की केन्द्रीय सदस्य सपना राजभण्डारी जोशीले राजपत्रमा प्रकाशित सूची पर्याप्त अध्ययन र अनुसन्धानबिना तयार गरिएको आरोप लगाइन् । समुदायसँग परामर्श नगरी गरिएको निर्णयले नागरिकको भावना र आत्मसम्मानमा चोट पुगेको उनको भनाइ थियो । निर्णय नसच्चिए विरोधका कार्यक्रम थप विस्तार हुन सक्ने उनले चेतावनी दिइन् ।
प्रदर्शनकारीहरूले ‘ऐतिहासिक तथ्य र पहिचानको सम्मान गर’, ‘आयोगको काम सिफारिस गर्ने, हचुवामा होइन प्रमाण हेर्ने’, ‘न अध्ययन, न अनुसन्धान, हचुवाको भरमा शासन सञ्चालन’ र ‘विरोध र द्वन्द्व हिंसाका लागि होइन, अधिकार र पहिचानका लागि’ लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए ।
उनीहरूले सरकारको निर्णय सच्याउनुपर्ने मागसँगै दलित आयोग खारेज गर्नसमेत माग गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया