काठमाडौँ । तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरि महर्जनले आफ्नो कार्यकालमा भएका काम, निर्णय र बजेट खर्चको विस्तृत विवरण सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ ।
नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख महर्जनले २०७९ देखि २०८३ सम्मको कार्यकालमा नगरपालिकाबाट विनियोजन तथा खर्च भएको करिब १२ अर्ब रुपैयाँको विवरण सार्वजनिक गर्ने तयारी गर्नुभएको हो । उहाँले बजेटलाई विभिन्न शीर्षक र वडागत रूपमा वर्गीकरण गरी नगरवासीले सहजै बुझ्न र मूल्याङ्कन गर्न सक्ने गरी सार्वजनिक गर्ने जानकारी दिनुभएको छ ।
सामाजिक सञ्जालमा विभिन्न राजनीतिक दल तथा व्यक्तिका अभिव्यक्ति र गतिविधि सार्वजनिक भइरहेका बेला नगरप्रमुख महर्जनले आफ्नो कार्यकालका काम र उपलब्धिबारे तथ्यसहित जानकारी दिन आवश्यक ठान्नुभएको बताउनुभएको छ । उहाँका अनुसार स्थानीय सरकारका निर्णय, बजेट र उपलब्धिबारे नागरिकलाई आधिकारिक सूचना उपलब्ध गराउनु जनप्रतिनिधिको जिम्मेवारी हो ।
नगरप्रमुख महर्जनले बजेट विवरण सार्वजनिक गर्ने तयारीलाई प्रचारप्रसार वा कसैप्रतिको प्रतिवादका रूपमा नलिन आग्रह गर्नुभएको छ । बरु यसलाई नगरपालिकाको कामको समीक्षा गर्ने, कमजोरी पहिचान गर्ने र आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने अवसरका रूपमा लिन उहाँले नगरवासीलाई अनुरोध गर्नुभएको छ ।
उहाँले विगतका कार्यकालसँग तुलना गर्नुभन्दा वर्तमान कार्यकालमा भएका काम र खर्चको तथ्य सार्वजनिक गरेर नगरवासीलाई नै मूल्याङ्कनको अवसर दिनुपर्ने धारणा राख्नुभएको छ । सार्वजनिक विवरणमा कुनै तथ्यगत त्रुटि, कमजोरी वा सुधार गर्नुपर्ने पक्ष देखिए खुलेर औँल्याइदिन पनि उहाँले आग्रह गर्नुभएको छ ।
नगरवासीका सुझाव, जिज्ञासा तथा गुनासालाई फेसबुक म्यासेन्जर, ह्वाट्सएप, भाइबर र मोबाइलमार्फत पठाउन सकिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभएको छ । प्राप्त सुझाव र आलोचनालाई सकारात्मक रूपमा ग्रहण गर्दै नगरपालिकालाई अझ पारदर्शी, जिम्मेवार र उत्तरदायी बनाउने उहाँको प्रतिबद्धता छ ।
स्थानीय तहको बजेट र खर्चबारे नागरिकले प्रत्यक्ष जानकारी पाउनु सुशासनको महत्त्वपूर्ण पक्ष हो । त्यसैले नगरप्रमुख महर्जनले अघि सारेको बजेट विवरण सार्वजनिक गर्ने पहलले नगरपालिकाको आर्थिक गतिविधिमाथि नागरिक निगरानी र सार्वजनिक जवाफदेहिताको अभ्यासलाई थप महत्त्व दिने अपेक्षा गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया