मंग्सिर १३, २०८३ आइतबार November 29, 2026

नेपालमा हुन्डीको नयाँ जालो बैंक खाता, डिजिटल वालेटदेखि क्रिप्टोकरेन्सीसम्म प्रयोग

५ वर्षमा २७३ करोडभन्दा बढी सम्पत्ति जफत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : नेपालमा हुन्डी कारोबार गर्ने माध्यम नेपालको बैंक खाताकै माध्यमबाट कारोबार हुने गरेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको एक प्रतिवेदनले नेपालमा हुन्डी कारोबारको स्वरूप परम्परागत अनौपचारिक रकम हस्तान्तरणबाट विकसित हुँदै बैंकिङ प्रणाली, डिजिटल वालेट, क्रिप्टोकरेन्सी र सीमापार आपराधिक सञ्जालसँग जोडिएको पाइएको हो।

हुन्डी कारोबारीले बैंक तथा वित्तीय संस्थाकै खातालाई रकम ओसारपसार र स्रोत लुकाउने माध्यम बनाउँदै आएको तथ्य नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको रणनीतिक विश्लेषण प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार सन् २०२५ जनवरी २ देखि २०२६ जुलाई १६ सम्म वित्तीय जानकारी इकाइमा कुल १५ हजार ८ सय १५ वटा शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदन प्राप्त भएका थिए। तीमध्ये १ हजार ६ सय ७२ वटा अर्थात् १०.५७ प्रतिशत हुन्डीसँग सम्बन्धित थिए। यस अवधिमा प्राप्त हुन्डीसम्बन्धी प्रतिवेदनमध्ये ८९.८९ प्रतिशत वाणिज्य बैंकबाट आएको देखिन्छ।

प्रतिवेदनमा हुन्डीसम्बन्धी प्राप्त १ हजार ६ सय ७२ प्रतिवेदनमध्ये दुई सय वटालाई नमुनाका रूपमा छनोट गरी विस्तृत विश्लेषण गरिएको छ। राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत रहेका अर्थविद् चन्द्रमणि अधिकारीले ब्याजदर न्यून रहँदा र मूल्यवृद्धि बढ्दा बचतको वास्तविक मूल्य घट्ने अवस्था सिर्जना भएको बताए।

‘पछिल्लो समय अनौपचारिक माध्यम र हुन्डी कारोबार बढ्दा विप्रेषणको रकम बैंकिङ प्रणालीबाहिर गएर सुन खरिदमा समेत प्रयोग भइरहेको छ, जसले विदेशी मुद्रा सञ्चिति, अर्थतन्त्र र कालो अर्थतन्त्रको विस्तारमा प्रत्यक्ष असर पार्छ,’ उनी भन्छन्, ‘डिजिटल वालेट र सीमापारका सञ्जालमार्फत हुने अनधिकृत कारोबारले यथार्थपरक तथ्यांक र नीति निर्माणमा समेत चुनौती थपेको छ।’

५ वर्षमा ३८७ करोडको कारोबार, २७३ करोडभन्दा बढी जफत

हुन्डी नियन्त्रणका क्रममा नेपाल प्रहरीले पछिल्ला पाँच आर्थिक वर्षमा १ सय ९७ वटा अनुसन्धान अघि बढाएको प्रतिवेदनमा उल्लेख छ। तीमध्ये १९० वटा मुद्दा अदालतमा दायर भएका छन् भने १ सय ३ वटा मुद्दामा अन्तिम फैसला भएको छ। यी मुद्दामा ३ सय ३१ जना व्यक्ति संलग्न रहेको तथ्यांक प्रतिवेदनमा प्रस्तुत गरिएको छ।

प्रहरीको तथ्यांकअनुसार, पाँच वर्षमा हुन्डी कारोबारमा संलग्न भएको दाबी गरिएको रकम ३ सय ८७ करोड २ लाख रुपैयाँ पुगेको छ। अनुसन्धानका क्रममा ३ सय ८६ करोड १३ लाख रुपैयाँबराबरको सम्पत्ति तथा रकम जफत गरिएको छ। त्यस्तै, १६ करोड ४४ लाख रुपैयाँबराबरको सम्पत्ति रोक्का गरिएको र २ सय ७३ करोड ६२ लाख रुपैयाँबराबरको सम्पत्ति जफत गरिएको छ।

आर्थिक वर्ष २०७८/७९ मा १८ वटा रहेको हुन्डीसम्बन्धी अनुसन्धान आर्थिक वर्ष २०८१/८२ मा ६० पुगेको थियो। तीन वर्षको अवधिमा अनुसन्धानको संख्या तीन गुणाभन्दा बढी भएको देखिन्छ। आर्थिक वर्ष २०८२/८३ को जेठसम्म थप ५९ वटा अनुसन्धान अघि बढाइएको प्रतिवेदनमा उल्लेख छ।

हुन्डीसम्बन्धी मुद्दामा प्रतिवादीको संख्या पनि बढ्दै गएको छ। आर्थिक वर्ष २०७८/७९ मा १४ वटा अन्तिम फैसलाबाट २६ जना व्यक्ति संलग्न देखिएकोमा आर्थिक वर्ष २०८२/८३ को जेठसम्म ३० वटा अन्तिम फैसलामा १ सय ६ जना व्यक्ति संलग्न देखिएका छन्। एउटा मुद्दामा संलग्न व्यक्तिको औसत संख्या १.९ बाट बढेर ३.५ पुगेको छ।

२५ देखि ४४ वर्ष उमेरसमूहका व्यक्ति हुन्डी कारोबारमा संलग्न

वित्तीय जानकारी इकाइले विश्लेषण गरेका दुई सय शंकास्पद प्रतिवेदनको नमुनामा हुन्डी कारोबारसँग जोडिएका ८४ प्रतिशत व्यक्ति पुरुष र १६ प्रतिशत महिला छन्। उमेरगत विश्लेषणमा २५ देखि ३४ वर्ष उमेरसमूहका ३९ प्रतिशत र ३५ देखि ४४ वर्ष उमेरसमूहका २६.५ प्रतिशत व्यक्ति देखिएका छन्। यसरी २५ देखि ४४ वर्ष उमेरसमूहका व्यक्तिको हिस्सा ६५.५ प्रतिशत छ।

बैंक खातामै टुक्र्याएर जम्मा, कनेक्ट आईपीएसबाट पठाइन्छ

प्रतिवेदनले नेपालमा हुन्डी कारोबारका आठवटा प्रमुख कार्यशैली पहिचान गरेको छ। तीमध्ये पहिलो, म्यानुअल खाता प्रयोग। यसमा सामान्य आय भएका व्यक्ति, विद्यार्थी वा आर्थिक रूपमा कमजोर व्यक्तिको बैंक खाता प्रयोग गरी रकम जम्मा गर्ने र अर्को खातामा स्थानान्तरण गर्ने गरिएको छ। अन्तरदेशीय रकमको वास्तविक मिलान अनौपचारिक माध्यमबाट भए पनि नेपालभित्रको भुक्तानी भने बैंक तथा डिजिटल वालेटमार्फत हुने गरेको छ।

दोस्रो, कार्यशैलीमा ठूलो रकमलाई साना–साना टुक्रामा विभाजन गरी विभिन्न बैंक खाता र शाखाबाट जम्मा गर्ने गरिन्छ। प्रतिवेदनअनुसार दैनिक १० लाख रुपैयाँको सीमा छल्न एकै दिनमा वा विभिन्न दिनमा धेरै खातामा रकम जम्मा गर्ने र त्यसपछि कनेक्ट आईपीएसमार्फत विभिन्न खातामा स्थानान्तरण गर्ने प्रवृत्ति देखिएको छ।  प्रतिवेदनमा समेटिएको एउटा उदाहरणमा ३८ वर्षीय व्यक्तिले ८९ भन्दा बढी व्यक्ति तथा फर्मका खातामा २० करोड रुपैयाँभन्दा बढी रकम जम्मा गरेको देखिएको छ। उक्त कारोबार ३३ वटा बैंक तथा वित्तीय संस्थासँग थियो। त्यस्तै, १ सय ९० जना व्यक्तिले २५ वटा बैंक खातामा ३२ करोड रुपैयाँभन्दा बढी रकम जम्मा गरेका थिए।

ती व्यक्तिका १३ वटा बैंक खाताको विश्लेषण गर्दा २०२५ जुलाईसम्म ८१ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको देखिएको थियो। अधिकांश रकम १० हजारदेखि ९ लाख ९९ हजार रुपैयाँसम्मका नगद जम्मामार्फत आएको थियो। त्यसपछि रकम टुक्र्याएर तत्काल विभिन्न व्यक्तिको खातामा पठाइएको थियो। रकम प्राप्त गर्ने कतिपय व्यक्तिले रकम पठाउने व्यक्तिसँग कुनै सम्बन्ध नभएको र परिवारबाट प्राप्त भएको बताएका थिए।

 नक्कली कम्पनीदेखि क्रिप्टोकरेन्सीसम्ममा १७ बैंकको खाता प्रयोग

हुन्डी कारोबारको तेस्रो कार्यशैलीमा वास्तविक व्यावसायिक गतिविधि नभएका कम्पनी वा अरूको नाममा खोलिएका फर्म प्रयोग गरी रकमको स्रोत लुकाउने गरिएको छ। यस्ता कम्पनीलाई ‘फ्रन्ट कम्पनी’ वा ‘सेल कम्पनी’ भनिन्छ।

सुनसरीको हरिनगरा क्षेत्रमा सञ्चालन भएको एउटा सञ्जालसम्बन्धी उदाहरणमा १७ वटा वित्तीय संस्थाका २१ वटा बैंक खाता प्रयोग गरिएको थियो। उक्त सञ्जालका मुख्य व्यक्तिले मात्रै २ अर्ब २९ करोड रुपैयाँभन्दा बढी रकम खातामा प्राप्त गरेको र त्यति नै रकम खर्च वा स्थानान्तरण गरेको अनुसन्धानमा देखिएको प्रतिवेदनमा उल्लेख छ। कारोबारबाट प्राप्त रकम सुनसरीका विभिन्न स्थानमा जग्गा खरिद गर्न प्रयोग गरिएको र ती सम्पत्ति रोक्का गरिएको थियो।

चौथो, कार्यशैलीमा क्रिप्टोकरेन्सी तथा भर्चुअल सम्पत्ति प्रयोग गरी हुन्डी कारोबारको हिसाब मिलाउने गरिएको छ। विशेषगरी अमेरिकी डलरसँग मूल्य स्थिर राख्ने स्टेबलक्वाइन यूएसडीटी प्रयोग गरेर विभिन्न देशमा रहेका हुन्डी सञ्चालकबीच रकमको मूल्य मिलान गर्ने प्रवृत्ति बढेको प्रतिवेदनमा उल्लेख छ।

पाँचौं, कार्यशैलीमा भौतिक रूपमा नगद ओसारपसार गरिन्छ। विशेषगरी नेपाल–भारत खुला सीमाको प्रयोग गरी एक देशबाट अर्को देशमा नगद पुर्‍याउने र विभिन्न बैंक खातामार्फत रकमको स्रोत लुकाउने गरिन्छ। छैटौं, कार्यशैलीमा ह्वाट्सएपजस्ता इन्क्रिप्टेड डिजिटल माध्यमबाट कारोबारको समन्वय र निर्देशन दिने तर वास्तविक रकमको हिसाब भने परम्परागत नगद वा व्यापारिक कारोबारबाट
मिलाउने गरिन्छ।

सातौं, कार्यशैलीमा इजाजत प्राप्त रेमिट्यान्स कम्पनीका सब–एजेन्टको दुरुपयोग हुन्छ। औपचारिक रेमिट्यान्स भुक्तानीको आवरणमा हुन्डीको रकम मिलान गर्ने गरिएको प्रतिवेदनमा उल्लेख छ। आठौं, कार्यशैलीमा सुन तस्करीसँग हुन्डीको सम्बन्ध देखाइएको छ। सुनको अवैध आयात तथा कारोबारबाट सिर्जित रकमको भुक्तानी र हिसाब मिलानमा समेत हुन्डी प्रयोग हुने गरेको प्रतिवेदनले औंल्याएको छ।

वैदेशिक रोजगारीको आम्दानीदेखि अनलाइन जुवासम्म
प्रतिवेदनले हुन्डी कारोबारका मुख्य स्रोत र प्रयोगका क्षेत्रसमेत पहिचान गरेको छ। विदेशमा रहेका नेपाली   श्रमिकले कमाएको रकम औपचारिक बैंकिङ प्रणालीमा नआइकन विदेशमै रहेका हुन्डी सञ्चालकमार्फत नेपालमा परिवारका सदस्यलाई डिजिटल वालेट वा बैंक खाताबाट भुक्तानी गर्ने प्रवृत्ति देखिएको छ।

आयातकर्ताले भन्सारमा वास्तविक मूल्यभन्दा कम मूल्य घोषणा गरी बाँकी रकम विदेशस्थित विक्रेतालाई हुन्डीमार्फत भुक्तानी गर्दा भन्सार महसुल तथा कर छल्ने जोखिम रहेको प्रतिवेदनमा उल्लेख छ। अवैध सुन कारोबार, विदेशमा गरिने अघोषित पुँजी पलायन, कानुनी सीमाभन्दा बढी विदेशमा अध्ययन तथा उपचारका लागि गरिने भुक्तानी र अनलाइन जुवा तथा सट्टेबाजीका कारोबारमा समेत हुन्डीको प्रयोग हुने गरेको प्रतिवेदनको विश्लेषण छ।

नेपालको १ हजार ७ सय ५१ किलोमिटर लामो खुला भारत सीमाका कारण नगद ओसारपसार र सीमापार कारोबारलाई नियन्त्रण गर्न चुनौती रहेको प्रतिवेदनले औंल्याएको छ। ठूलो नगदमा आधारित अनौपचारिक अर्थतन्त्र, वैदेशिक रोजगारीबाट आउने विप्रेषण, औपचारिक र अनौपचारिक विनिमयदरबीचको अन्तर तथा वैदेशिक मुद्रा प्राप्तिमा रहेका प्रक्रियागत कठिनाइले समेत हुन्डीको आकर्षण बढाउने संरचनागत कारणका रूपमा प्रतिवेदनले विश्लेषण गरेको छ।

 हुन्डी गैरकानुनी, १ वर्षसम्म कैदको व्यवस्था

नेपालमा मुलुकी अपराधसंहिता, २०७४ को दफा १२५क ले हुन्डी कारोबारलाई अपराध मानेको छ। कानुनले बैंक तथा वित्तीय संस्था वा कानुनले मान्यता दिएका भुक्तानी उपकरणबाहेक अन्य व्यक्ति, माध्यम वा साधन प्रयोग गरी नेपाल र विदेशबीच रकम वा मूल्य हस्तान्तरण, हिसाब मिलान वा भुक्तानी गर्ने व्यवसायलाई निषेध गरेको छ।

यस कसुरमा बिगो जफत र एक वर्षसम्म कैदको व्यवस्था रहेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले नेपाल राष्ट्र बैंकबाट इजाजत नलिई विदेशी विनिमय कारोबार गर्न निषेध गरेको छ।  २०८१ पुस १८ को नेपाल राजपत्रको सूचनामार्फत हुन्डीलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत सम्पत्ति शुद्धीकरणको सम्बद्ध कसुरका रूपमा समेत सूचीकृत गरिएको छ। अन्नपूर्णबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोखरामा दाइँ महोत्सव : धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
२०८३ मंग्सिर १३, आइतबार
दसौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलको स्वर्णका लागि एपिएफ र आर्मी भिड्ने
२०८३ मंग्सिर १३, आइतबार
मतदान स्थल पुनरवलोकन गर्दै निर्वाचन आयोग
२०८३ मंग्सिर १३, आइतबार
नेपालमा हुन्डीको नयाँ जालो बैंक खाता, डिजिटल वालेटदेखि क्रिप्टोकरेन्सीसम्म प्रयोग
२०८३ मंग्सिर १३, आइतबार
कांग्रेसभित्र एकता र सहकार्यको आह्वान गर्दै परमेश्वरले घोषणा गरे मेयरको उम्मेदवारी
२०८३ मंग्सिर १३, आइतबार
एक्सनमा गगन थापा : निगरानीमा देउवा पक्षका ३१ बढी सांसद
२०८३ मंग्सिर १३, आइतबार
प्रमुख दुई उत्तरी नाका साढे दुई महिनादेखि बन्द
२०८३ मंग्सिर १३, आइतबार