काठमाण्डौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकार विरुद्ध शुक्रवार राजधानीमा विरोध सभा गरेको छ ।
शुक्रबार राप्रपाले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै राप्रपा पार्टीका अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्रको पुनःस्थापना र हिन्दु राष्ट्र कायम गर्नुपर्ने बताएका छन् । अध्यक्ष थापाले नेपालमा गणतन्त्र, संघीयता तथा धर्म निरपेक्षताको पुनरावलोनक गर्दै राजतन्त्रको पुर्नस्थापना तथा देशलाई धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र कायम गरिनुपर्ने बताएका हुन् ।
वर्तमान अवस्थामा देशमा प्रतिनिधि सभा विघटन हुनुमा वर्तमान सरकार, कुनै राजनीतिक दल तथा नेताहरुका मात्र नभई १४ वर्ष अघि शुरु गरिएको गणतन्त्रको बाटो र बिचार नै दोषी भएको पनि बताए । गणतन्त्रको विकल्प खोज्दै राजादेखि विद्रोही विप्लवसम्म र कांग्रेसदेखि कम्युनिष्ट, मधेशवादी सबैको प्रतिनिधित्व हुने राजनीतिक प्रणाली आवश्यक रहेको उनको भनाइ छ ।
नेपाल अहिले इतिहासकै सर्वाधिक कठिन र संकटपूर्ण घडीमा गुज्रेको भन्दै अध्यक्ष थापाले यस्तो बेलामा राजनीतिक दल र नेतृत्वहरुले जिम्मेवारीपूर्ण ढंगबाट काम गर्न नसके राष्ट्रिय स्वाभिमान, राष्ट्रिय एकता तथा राष्ट्रिय अखण्डता संकटमा पर्ने बताए । नेताहरुले जिम्मेवारी निर्वाह गर्न नसके आगामी दिनमा परिस्थिति राजनीतिक दल र नेताहरुको नियन्त्रण बाहिर जानसक्ने प्रारम्भिक संकेत समेत देखिन थालेको उनले बताए ।
विदेशीको ईसारामा नयाँ नेपाल बनाउने नाममा हिन्दु राष्ट्रलाई समाप्त पारेको, राजतन्त्र पाखा लगाएको तथा संघीयताको नाममा जातजातिलाई विभाजन गरेपछि देश दिशाहिन भएको उनले बताए । देश अभिभावकविहीन बन्दा देशमा विदेशीको चलखेल बढेको र नेपालको स्वाभिमान तथा सार्वभौमिकतामाथि प्रहार भएको उनको तर्क छ । लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिएको तथा केही राजनीतिक दल र नेताहरुले सर्वसत्तावादी शासन गर्न लागेकोले देशमलाई संकटबाट बचाउन राजतन्त्र आवश्यक रहेको उनले बताए ।
नेपालीहरुले वर्षौंदेखी राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा भएकोले हाल यो एजेण्डा राप्रपाको मात्र नभई आम नेपालीको एजेण्डा बनेकाले जनताको माग र चाहानालाई सम्बोधन नगरे देश द्धन्दमा जानसक्ने अध्यक्ष थापाले बताए । राजतन्त्रवादी र लोकतान्त्रिक शक्तिको एकताले नै देशमा शान्ति र स्थायित्व कामय हुने भएकोले निषेधको राजनीति नगरी सबै अटाउने समावेशी, साझा व्यवस्थाको निर्माण गर्नुपर्नेमा उनको जोड छ । अध्यक्ष थापाले देश बचाउन, प्रजातन्त्र, राष्टियता बलियो बनाउन तथा आर्थिक समृद्धि ल्याउन राप्रपा सडकमा आएर खवरदारी गरेको बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया