काठमाण्डौंः प्रतिनिधिसभा विघटनपछि ध्रुवीकृत बनेको मुलुकको राजनीति अझै जटिलतातर्फ उन्मुख छ। संसद विघटनका विरुद्ध, अधिकांश राजनीतिक दल, नागरिक समाज, बिभिन्न संघ-संगठनलगायत निरन्तर आन्दोलनमा छन् । यसै सन्दर्भमा आज उपत्यकामा बिभिन्न कार्यक्रम भैरहेका छन्।
उपत्यकामा आज हुने कार्यक्रमहरू
दिउँसो साँढे १२ बजे संवाद डबली अनामनगरमा क्रान्तिकारी पत्रकार संगठन,नेपालले नेकपा (क्रान्तिकारी माओवादी) का बरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक सीपी गजुरेल, पूर्व अर्थमन्त्री तथा नेकपा नेता सुरेन्द्र पाण्डे, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक विश्वभक्त दुलाल आहुति, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी, नेकपा माओवादी केन्द्रका अध्यक्ष कर्णजित बुढाथोकी सुशील, राष्ट्रिय जागरण मञ्चका सचिव नरबहादुर कार्की, राजनीतिक विश्लेषक तथा वरिष्ठ पत्रकार कुमार शाहलगायतसंग ’वर्तमान राजनीतिक संकट– व्यवस्था कि शासक ?’ विषयक अन्तर्क्रिया कार्यक्रम गर्दैछ ।
त्यस्तै, बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, प्रदेश सुशासन केन्द्रले प्रदेश तथा स्थानीय तहमा क्षमता विकास कार्यक्रमका विद्यमान आयामहरू विषयक मिडिया संवाद कार्यक्रम गर्दैछ । कार्यक्रम दिउँसो १ बजे प्रदेश सुशासन केन्द्र जावलाखेल सभाहलमा हुने जानकारी दिइएको छ ।
दिउँसो २ बजे सिफल चौरमा बृहत् नागरिक आन्दोलनले शहीद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको स्थानमा प्रतिगमनको विरुद्ध प्रतिरोध कार्यक्रम गर्दैछ । पूर्व जनमुक्तिसेना नेपालले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध प्रत्येक जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्दैछ ।
त्यस्तै, नेकपा (प्रचण्ड-माधव समूह) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले प्रतिनिधिसभा विघटनको विरुद्ध घोषणा गरेको तेस्रो चरणको आन्दोलनको कार्यक्रमअनुसार देशभरका स्थानीय तहका सरकारलाई ज्ञापनपत्र बुझाउँदै छ ।
नेकपा (ओली समूह) नागार्जुन नगरपालिका ३ नम्बर वडा कमिटीले अगुवा कार्यकर्ता भेला कार्यक्रम गर्दैछ । कार्यक्रम स्काई भ्यू रिसोर्ट हलचोकमा हुने जनाइएको छ ।
१० महिनादेखि तलब नपाएको विरोधमा नेपाल स्वस्थ्यकर्मी तथा कर्मचारी युनियन मनमोहन मेमोरियल सामुदायिक अस्पतालका कर्मचारीहरूले केही दिनदेखि गरेको विरोध प्रदर्शन आज पनि जारी राख्ने जनाएका छन् ।
बिहान ११ बजे माउन्टेन फुडल्याण्ड धौलागिरी भवन, ढुङ्गेधारामा नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रीय समितिको बैठक बस्दैछ । जनआस्थाबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया