काठमाण्डौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेकामध्ये इतिहासकै ‘हाई प्रोफाइल’ मानिएको ललिता–निवास जग्गा हिनामिना प्रकरणमा मुद्दा दायर भएको एक वर्ष भएको छ । यो अवधिमा मुख्य आरोपीसहित ५७ जना अझै अदालतमा उपस्थित भएका छैनन् ।
गत वर्ष २२ माघमा आयोगले एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । जसमध्ये एक सय १८ जना मात्र उपस्थित भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताए । उपस्थितमध्ये एकजना पुर्पक्षका लागि थुनामा छन् भने ७० जना धरौटी बुझाएर छुटेका छन् । ४७ जनालाई खोजेको बखत उपस्थित हुने गरी विशेष अदालतले छाडेको छ ।
सबैभन्दा धेरै धरौटी बुधबार उपस्थित भएका मिनबहादुर गुरुङसँग माग भएको छ । उनीविरुद्ध ३९ करोड बिगो दाबी गरिएको छ । तर, दुई करोड माग भएकोमा बुझाएर उनी रिहा भएका छन् । धेरैजसोविरुद्ध पाँच लाख रुपैयाँभन्दा कम धरौटी माग भएको छ ।
मुद्दा दायर गरिएकामध्ये सबैभन्दा पहिला गत वर्ष ३ चैतमा मालपोत अधिकृत कृष्णप्रसाद पौडेल विशेष अदालतमा हाजिर भएका थिए । अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । विशेष अदालतको आदेशविरुद्ध सर्वाेच्च गएका उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको थियो । त्यस्तै, तत्कालीन भौतिक पूर्वाधार मन्त्रालयको सचिव हुँदा यो अनियमिततामा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात पुर्पक्षका लागि कारागारमा छन् । विशेषको आदेशविरुद्ध उनी पनि सर्वाेच्च गएका छन् ।
गच्छदार र योजनाकार उपस्थित भएनन्
ललिता–निवास मुद्दामा सबैभन्दा उच्चपदस्थ व्यक्ति पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार नै उपस्थित भएका छैनन् । उनीविरुद्ध नौ करोड ७६ लाख ६५ हजार रुपैयाँ बिगो छ । पूर्वमन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी उपस्थित भइसकेका छन् । श्रेष्ठसँग पाँच लाख धरौटी माग भएको छ भने जोशी साधारण तारेखमा छुटेका छन् ।
सो हिनामिना प्रकरणमा मुख्य योजनाकार शोभाकान्त ढकाल र रामप्रसाद सुवेदी पनि म्यादभित्र अदालत पुगेका छैनन् । राणा परिवारका रुक्मशमशेर, हाटकशमशेर, हेमनशमशेर, सुनिता, शैलजा, हेमाद्री राणाविरुद्ध मुद्दा दायर भएकोमा उनीहरू पनि अदालत गएका छैनन् । म्याद बुझेको ३५ दिनभित्र उपस्थित नभए उनीहरूलाई पक्राउ गर्न सकिने व्यवस्था रहेको विशेष अदालतका अधिकारीहरू बताउँछन् । मुद्दा दायर गरिएकामध्ये एक कर्मचारीको भने मृत्यु भइसकेको छ । सबै आरोपीलाई म्याद बुझाउने काम भइसकेको विशेष अदालतले जनाएको छ । म्याद गुज्रिँदा पनि केही उपस्थित भएका छैनन् ।
४७ जना खोजेको बखत हाजिर हुने गरी छुटे
जग्गा जफतको प्रयोजनका लागि ५० जनाविरुद्ध मुद्दा दायर भएको थियो । जसमध्ये ४७ जना उपस्थित भइसकेका छन् । उनीहरू सबैलाई खोजेको बखत उपस्थित हुने गरी छाड्ने आदेश भएको छ । मनोजकुमार केडिया, द्वारिकादेवी श्रेष्ठ, नितु गुरुङ, धर्मशोधा शाक्य, माया शेर्पा गौचत, उमा प्रसाईं, भारती पाण्डे, गायत्री कंसाकार, केशव तुलाधर, गोविन्दलाल संघाई, सन्दीप ढकाल, सरोज ढकाल, युरीशोभा तुलाधर, संगीता कोठारी, शर्मिला शाक्य बज्राचार्य, रेणुका बज्राचार्य, सन्ध्या शाक्य, सरिता मानन्धर श्रेष्ठ, गीता गौतम खनाल, अच्युतराज श्रेष्ठ, सिपिका खेतान, रत्नहीरा बज्राचार्य, डिम्पल वंशल, सुविस्ता तुलाधर, महेशराजा तुलाधर, राधा सिग्देल आचार्य, कल्पना तुलाधर, निकिता तुलाधर, अमिताभ तुलाधर, मोहन महर्जन, सरला घले गुरुङ, पहलमान गुरुङ, कामना गुरुङ, सरस्वती घले गुरुङ, कल्याण गुरुङ, इन्द्रदेव गुरुङ, विजेन्द्र जोशी, अनिलमान ताम्राकार, विजय ताम्राकार, ओमवीरमान ताम्राकार, भवानी जोशी, सञ्जयकुमार चाचन, देवान्शी गोयल, चन्द्रिका कंसाकार तुलाधर, अञ्जना तुलाधर, पुरुषोत्तम पौडेल, मनोजकुमार गौतम खोजेको बखत हाजिर हुने गरी छुटेका छन् । नयाँ पत्रिकाबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया