असार ५, २०८३ शुक्रबार June 19, 2026

अस्थिरताको अर्को शृंखला – श्रीकृष्ण अनिरुद्ध गौतम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सत्ताधारी नेकपा वैधानिक रूपमा अझै विभाजित भएको छैन तर नेताहरू मुखचाहिँ यसरी छाडिरहेका छन्, मानौं उनीहरू एउटै सहरमा छैनन् र उनीहरू कहिल्यै अब भेट हुनै पर्दैन । पुस ५ गते प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सिफारिसमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले प्रतिनिधिसभा बरखास्त गरेपछि, बरखास्तगीसम्बन्धी मुद्दा अदालतमा पुगेको त छ नै, देशको सम्पूर्ण ध्यान र बहससमेत यसैमा केन्द्रित हुन आएको छ ।

विघटनको तमसुकमा हस्ताक्षर गर्ने राष्ट्रपति श्रीमती भण्डारी भए पनि ‘संविधानमा हुँदै नभएको सिफारिस’ गर्ने कामचाहिँ ओलीले गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको खचपचको रिस उनले प्रतिनिधिसभामाथि फेरेका छन् । जबकि उनकै शब्दमा भन्नुपर्दा, उनी आफैं पार्टीका प्रथम अध्यक्ष हुन् । प्रथम अध्यक्ष त अभिभावक हो । त्यस्ता अध्यक्षलाई निर्वाचित सभा नै विघटन गर्नुपर्ने गरी रिस नउठ्नुपर्ने, उठ्नु अनुचित हो । अझ गम्भीर विषय त के पनि भने, रिस फेरिरहँदा उनले प्रतिनिधिसभा मात्र विघटन गरेका छैनन्, यसबाट उत्पन्न हुने तरंगका कारण देशमा अरू अवाञ्छित उथलपुथल हुन सक्ने अनुमान पनि गरिँदै छन् ।

त्यति मात्र होइन, संविधानका धारा–धारामा परकम्प जान सक्ने आशंका गर्न थालिएको छ । यी आशंकाका चल्ते परन्तुमा संविधान नै खारेज हुने हो कि भन्ने भयसमेत पैदा भएको छ । प्रश्न उठ्न सक्छ— के यतिमै संविधान नै खारेज हुने परिस्थिति बन्छ र ? यसका उत्तरमा खारेज त कहाँ हुनु हुँदैन भन्नेहरू नभएका होइनन् । के हुन्छ र ! राष्ट्रको जीवनमा यस्ता घटनाहरू भइरहन्छन्, फेरि ट्र्याकमा आइहाल्छ भन्ने सरलतावादी अन्यत्र सबै ठाउँमा भएजस्तै यहाँ पनि छन् । उनीहरू भन्छन्, ‘पुनःस्थापना हुन्छ कि निर्वाचन । अरू त बाटै छैन ।

त्यति भएपछि प्रक्रिया पुनः लयमा फर्किहाल्छ । चिन्ता गर्नुपर्दैन ।’ अवस्था तर सरलतावादीहरूले भनेजस्तै सरल छैन । किनभने नेपाली आनुवंशिकी संस्मरण (जेनेटिक मेमोरी) मा विगतमा संविधान फ्याँक्दै नयाँ संविधान लेख्दै, त्यसैलाई उत्कृष्ट भन्दै फेरि भड्खालामा हाल्दै नयाँनयाँ प्रयोग गर्दै हिँडेको सञ्चित अनुभव पनि त छ । त्यो सञ्चित अनुभवले फेरि भएको फाल्न र अर्को संविधान लेख्न ‘भित्रैबाट’ प्रेरित नगर्ला भन्ने छैन ।

जस्तै, विक्रमको २०१५ सालको संविधान फालेर २०१९ सालमा अर्को ल्याइएको थियो । संविधानमा अमिल्दा कुरा हटाउन संविधानै नयाँ लेख्नु त पर्ने थिएन । संविधान संशोधनीय दस्तावेज हो, संशोधनद्वारा अद्यावधिक गर्न सकिन्थ्यो, सकिन्छ । तर यहाँ त्यसो गरिएन, गरिँदैन । फालिन्छ । संविधानलाई उत्कृष्ट भनिएको हुन्छ, तर बचाउने उद्यम गरिँदैन । अन्तमा आत्मसमर्पण गरेर फालिने गरेको छ । किनभने नेपालमाथि शासन गर्नेहरूमा अरूले देखाएको बाटो किन हिँड्नु, अर्काले लेखेको किन राख्नु भन्ने आनुवंशिकी अहंकार छ । सामन्ती अपसंस्कार छ ।

सतहमा हेर्दा ओली र प्रचण्डबीचको तिक्तता नै वर्तमान विद्रूपको कारक हो, घटनाक्रमले चाहिँ त्यति मात्रै होइन भन्ने इंगित गरिरहेको छ ।

२०१९ सालमा नयाँ संविधान ल्याएर संविधानका साथै स्थापित पद्धति नै फालिएको थियो । २०१७ सालमै बहालवाला प्रधानमन्त्री, सभामुख र प्रमुख नेताहरूलाई जेलमा राखेर २०१९ सालको संविधान ल्याइएको थियो । २०१५ र २०१९ का संविधान फालेर २०४७ मा नयाँ संविधान लेखियो फेरि । २०४६/४७ सालमा २०१५ सालकै संविधान पुनःस्थापित गर्दै त्यसैमा संशोधन गरेर अद्यावधिक गर्नु उचित हुन्छ भन्ने सुझाव कसैले सुनेन । नयैं सविधान लेखियो र त्यसलाई तत्कालीन र वर्तमानमा समेत जीवितै रहेका कतिपय नेताले ‘विश्वकै उत्कृष्ट संविधान’ भन्ने उपाधि प्रदान गरेका थिए । कतिसम्म उत्कृष्ट भने, त्यस संविधानमा एकैपटक पनि संशोधन नभई २०६३ सालमा एकैचोटि सद्गत गरिएको थियो !

अझ वर्तमान संविधान त दुईवटा संविधानसभाले बनाएको; ९० प्रतिशत सभासद्ले अनुमोदन गरेको; गणतन्त्र, लोकतन्त्र, संघीयता लिपिबद्ध भएको विश्वकै उत्कृष्ट हो भन्ने गुँज–अनुगुँजहरू व्यापक भइरहेकै बेला अचानक हेर्नुहोस् त, यसका प्रशंसककै स्वर एकाएक भासिन पुगेको छ । प्रशंसकहरू नै दुई कित्तामा विभाजित भएका मात्र होइनन् कि, लाजै हुने गरी बाझाबाझ गरेर बसेका छन् । पार्टीमा कुरा मिलेन भनेर आफू संसद् नै नगई परैबाट जननिर्वाचित संस्थालाई बरखास्त गरिदिएका छन् । फलस्वरूप, संविधान संसद्को परिधिबाट मुक्त भएर सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुगेको छ ।

निश्चय नै अब इजलासको जे फैसला हुन्छ, त्यही कार्यान्वयन हुन्छ भन्ने कुरा आफ्नो ठाउँमा सही छ । सही नमान्नुको विकल्पै छैन । तर यो कथन जति नै सही भए पनि घटनाका अन्तरप्रवाहहरूसँग थोरै मात्र परिचित हुनेलाई समेत के थाहा छ भने, अब संविधान यसका प्रशंसकहरूले भनेजस्तो उत्कृष्ट परै, यसको व्यक्तित्व नै दूषित पारिएको छ । यसमा नराम्ररी प्वाल परिसकेको छ । फलस्वरूप संविधानमाथि पुनर्विचारका विचारहरू उठ्न थालेका छन् । यो फालेर नयाँ ल्याउनुपर्छ भनेर भएको फाल्ने र नयाँ लेख्ने आनुवंशिकी उत्कण्ठा पुनः सक्रिय हुन थालेको छ । त्यस्ता आनुवंशिकी संस्मरणका धनीहरू पद्धति विस्थापनकै प्रक्रिया प्रारम्भ भयो भनेर दंग परेका छन् । यस पद्धतिका दिन गए भनेर ओलीप्रति आभार व्यक्त गरिरहेका छन् । धन्य–धन्य ओली भन्दै गुणगान गरिहेका छन् ।

त्यसैले माथिका हरफमा भय पैदा भएको विषय त्यत्तिकै उठाइएको होइन । प्रधानमन्त्रीले ताजा जनादेशका लागि निर्वाचनमा जाने भनेर प्रतिनिधिसभा विघटन गर्दैमा मात्र भय पैदा भएको होइन अपितु विघटनसँग जोडिएका तानाबाना, नयैं संविधान लेख्नेसम्मका अभिव्यक्ति र यी अभिव्यक्तिमा लुकेको रहस्यले थप भयभीत बनाएको हो । वास्तवमा यस्तो भय किन पनि पैदा भएको हो भने, विघटन भएको सुनेर खुसी जाहेर गर्ने अधिकांशतः लोकतन्त्रप्रेमी होइनन्, वास्तवमा लोकतान्त्रिक पद्धतिप्रति असन्तुष्टि जनाइरहनेहरू विछट्टै खुसी छन् । अरू त अरू, विघटनप्रति खुसी व्यक्त गर्नेमा बरु ओली पक्षका पूर्वएमाले निकै कम देखिन्छन् तर लोकतन्त्रविरोधीहरू, लोकतन्त्रको नामै सुन्न नचाहनेचाहिँ दङदास परेका छन् । गणतन्त्रको उछित्तो काढ्नुपर्छ भन्नेहरू मज्जा मानिरहेका छन् । संघीयताद्वेषीहरूमा बच्चाहरूलाई दसैं आएजत्तिकै खुसी छाएको छ ।

हिन्दीमा भनिन्छ नि, ‘दिल बाग बाग हुआ जा रहा है !’ ओलीको विघटनले गणतन्त्रविरोधीहरूको दिल पनि बगैंचा–बगैंचा भएको छ । उनीहरूमा उल्लास छाएको छ । उनीहरू त्यसैत्यसै रोमाञ्चित भएका छन् । गणतन्त्रविरोधीहरू नाहक, अकारणै रोमाञ्चित भएका होइनन् । यथार्थमा विघटनका कारण लरतरो चुनौती उपस्थित भएको छैन । यसले संवैधानिक प्रक्रियामै गतिरोध उत्पन्न गरेको छ । राजनीति बिथोलिने डर त्यतिकै छ । सत्तापक्षमा प्रस्टै दुई चिरा परेको र प्रतिपक्षमा पनि चिरैचिरा देखिएको छ ।

यस परिस्थितिले राजाकालीन दरबारका पुराना सेवकहरूलाई अर्को दसैं भेटिने हो/नभेटिने हो, यही माघमै अर्को दसैं मनाइहाल्न पाए हुन्थ्यो भन्ने भित्रैदेखि लाग्न थालेको देखिन्छ । अझ अजब–गजब त के भने, ओलीले राजा ल्याएर नारायणहिटीमा राखिदिन्छन् भन्नेहरूसम्म भेटिएका छन् । त्यसैले हुनुपर्छ, फ्याँकेका राजाका चर–अनुचर, अनुगामीहरूका साथसाथै अरू उपद्र्याहा तत्त्वहरू अस्थिरताबाट मज्जाले फाइदा लिन पाइन्छ भनेर जमजमाउन थालेका छन् ।

राजाकालीन दरबारका पुराना सेवकहरूलाई अर्को दसैं भेटिने हो/नभेटिने हो, यही माघमै अर्को दसैं मनाइहाल्न पाए हुन्थ्यो भन्ने भित्रैदेखि लाग्न थालेको देखिन्छ ।

यद्यपि सतहमा हेर्दा ओली र प्रचण्डबीचको तिक्तता नै वर्तमान विद्रूपको कारक हो । तर घटनाक्रमले चाहिँ त्यति मात्रै होइन भन्ने विषयतर्फ इंगित गरिरहेको छ । देश फेरि कतै लामो अस्थिरतामा त फस्ने होइन भन्ने आशंकाले मानिसका मन–मनमा स्थान बनाइरहेको छ । अवस्था एकदमै अन्योलग्रस्त छ । गए वर्षदेखि नै कोरोना कहरका कारण बिथोलिएको जनजीवनले अलिअलि लय समात्नै लागेका बेला राजनीतिक दलहरू पुनः सडक कब्जा गर्ने प्रतिस्पर्धामा ओर्लिएका छन् । मौखिक प्रतिस्पर्धाले नै यत्तिका भयंकर प्रदूषण फैलाइरहेको छ भने, दिन बित्दै जाँदा यस प्रतिस्पर्धाले कुन रूप लेला भन्ने डरले घर बनाइरहेको छ । यसलाई अनाहकको डर भन्न मिल्दैन ।

किनभने एउटै पार्टीका दुई कित्ताको झगडा मात्र हुन्थ्यो भने संविधान नै धरापमा पार्ने काम किन गर्नुपर्थ्यो र भन्ने तर्कमा पनि ‘बेशक’ दम छ । कुनै अरू घातक तत्त्वको पनि प्रवेश भएको हुन सक्छ । यसर्थ घटनाक्रम कुन दिशा मोडिएला भन्ने जिज्ञासा र डर दुवै एकैसाथ उपस्थित भएका छन् ।

प्रकटमा के देखिन्छ भने, कोही विघटन सदर होस् भनेर परस्पर मन्त्रणा गरिरहेका र कोही बदरभागी छ भनेर सर्वोच्चका संवैधानिक इजलासको फैसला कुरेर बसेका छन् । प्रतिपक्षका दलहरू पनि आफ्नो ‘वजूद’ गुमाएर ओलीवादी र प्रचण्डवादी कित्तामा विभाजित छन् । सत्ताधारी त फाटेकै छन्, प्रतिपक्षलाई पनि आसे बनाएको छ । यसले सबैतिर फाटो ल्याएको छ । यद्यपि सत्ताधारी नेकपा वैधानिक रूपमा अझै विभाजित भएको छैन तर नेताहरू मुखचाहिँ यसरी छाडिरहेका छन्, मानौं उनीहरू एउटै सहरमा छैनन् र उनीहरू कहिल्यै अब भेट हुनैपर्दैन ।

नेताहरूका बोली, कार्यकृत्यले वातावरण प्रदूषित छ । घटनाक्रम निराशाप्रद छन् । निश्चय नै घटनारहित त जगत् हुँदैन तर घटनालाई सम्हाल्ने जिम्मेवार पात्र छैन भने एउटा घटनाले अनेक दुष्प्रभाव उत्पन्न गर्छ र त्यसबाट अस्थिरताको लामो शृंखला प्रारम्भ हुन जान्छ । पुस ५ को विघटन पनि त्यस्तै हो । सुपात्र प्रकट भएर विधि, पद्धति र संविधान सम्हाल्यो भने भविष्य सुखद होला, अन्यथा दुर्दशाको अर्को लहर आउन सक्छ । त्यो अवस्था कस्तो हुन्छ, अनुमान गर्न पनि सहज छैन । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५, शुक्रबार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय
२०८३ असार ५, शुक्रबार