असार २३, २०८२ सोमबार July 7, 2025

खेल क्षेत्रको विकासमा दशवटै स्थानीय तहको सक्रियता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः खोटेहाङ गाउँपालिकाका नौमध्ये सात वडामा खेल मैदान निर्माण गरिएको छ । हरेक वडामा एउटा खेलमैदान निर्माण अभियान थालेको गाउँपालिकाले हालसम्म वडा नं १ लिकुवापोखरी, वडा नं २ वाप्लुखा, वडा नं ३ सावाकटहरे, वडा नं ५ चिप्रिङ, वडा नं ६ इन्द्रेणीपोखरी, वडा नं ८ सिम्पानी र वडा नं ९ लिच्कीराम्चेमा खेलमैदान निर्माण गरेको हो ।

सात वडामा २०७५-०७६ मा खेलमैदान निर्माणको काम पुरा गरिएको खोटेहाङ गाउँपालिका प्रमुख प्रदीपकुमार राईले बताउनुभयो । यस्तै, वडा नं ७ खोटाङबजारमा चालु आर्थिक वर्ष खेलमैदान निर्माणको काम गरिने जनाइएको छ । खोटाङ बजारमा खेलमैदान निर्माणका लागि रु पाँच लाख बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । जग्गा अभावमा खोटेहाङ गाउँपालिका–४ बड्कादियालेमा भने हालसम्म खेलमैदान निर्माणको काम अघि बढाउन सकिएको छैन ।

बड्कादियालेमा खेलमैदान निर्माणका लागि उपयुक्त जग्गाको खोजी भइरहेको गाउँपालिका प्रमुख राईले बताउनुभयो । “खेलकुद क्षेत्रको वृत्ति र विकासका लागि गाउँपालिकाको तर्फबाट आर्थिक वर्ष २०७४÷०७५ देखि हरेक वडामा उपयुक्त खेलमैदान निर्माण अभियान शुरु गरिएको छ”, उहाँले भन्नुभयो, “आगामी दुई वर्षभित्र सबै वडा तथा पालिकास्तरीय खेलमैदान निर्माण सम्पन्न गरेर खेल गतिविधि अगाडि बढाइनेछ ।”

गाउँपालिकाका अनुसार इन्द्रेणीपोखरीमा भने वडास्तरीय बाहेक गाउँपालिकास्तरीय खेलमैदान निर्माणको काम भइरहेको छ । प्रदेश सरकार र गाउँपालिकाको लगानीमा पालिकास्तरीय खेलमैदान निर्माणको काम शुरु गरिएको हो ।

यसैबीच, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले हरेक वडामा एकै साइजका खेलमैदान निर्माण गरेको छ । समग्र खेलकुदको विकासका लागि गाउँपालिकाले सातवटै वडामा १०० मिटर लम्बाइ र ६० मिटर चौडाइको खेलमैदान निर्माण गरेको हो । आर्थिक वर्ष २०७५÷०७६ मा गाउँपालिकाबाट प्रतिवडा रु १०÷१० लाख बजेट विनियोजन गरेर ‘एक वडा एक खेलमैदान’ निर्माण गरिएको गाउँपालिका प्रमुख भूपेन्द्रकुमार राईले बताउनुभयो । फुटबल, भलिबल, टेबलटेनिसलगायत सबै प्रकारका खेलको विकासका लागि एकै मापदण्ड र आकारका खेलमैदान निर्माण गरिएको हो ।

गाउँपालिकाको लगानीमा हरेक वडामा खेलमैदान बनेपछि खेलकूदसम्बन्धी गतिविधि सञ्चालन गर्न सहज भएको खेलाडीले बताएका छन् । गाउँपालिकाले हरेक वडामा उपयुक्त खेलमैदान निर्माण गरेर सञ्चालनमा ल्याएपछि खेलाडीले खेलकूदसम्बन्धी गतिविधिसमेत अगाडि बढाएका छन् । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सबै वडामा निर्माणाधीन खेलमैदानको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । पन्ध्र वडा रहेको उक्त नगरपालिकाको वडा नं २ सोल्मा, वडा नं ११ खार्मी र वडा नं १४ बुइपामा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको खेलमैदान निर्माण भइरहेको छ ।

नगरपालिकाको आर्थिक र प्राविधिक सहयोगमा खार्मीमा १२० मिटर लम्बाइ र ९० मिटर चौडाइको खेलमैदान गत वर्ष नै निर्माण सम्पन्न गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष हर्कराज राईले बताउनुभयो । खार्मीमा निर्माण गरिएको खेलमैदानलाई स्तरोन्नति गर्ने पहल भइरहेको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

उता, हलेसी तुवाचुुङ नगरपालिकामा पनि सबै वडामा खेलमैदान निर्माणको काम भइरहेको जनाइएको छ । एघार वडा रहेको उक्त नगरपालिकामा निर्माणाधीन खेलमैदान निर्माणको काम पनि अन्तिम चरणमा पुगेको नगरप्रमुख ईवन राईले बताउनुभयो ।

उक्त नगरपालिकाले विभिन्न विधाका खेल प्रशिक्षकसमेत नियुक्त गरेर खेलाडीलाई प्रशिक्षण दिइरहेको छ । खेलकूद क्षेत्रको समग्र विकासका लागि खेलमैदान निर्माणका साथै सितोरियो कराँते र फुटबल खेलका लागि प्रशिक्षकसमेत नियुक्त गरेर गतिविधि अगाडि बढाइएको नगरप्रमुख राईको भनाइ छ । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा खेलमैदान निर्माण गरिरहेका छन् । स्थानीय तहले खेल क्षेत्रको विकासका लागि क्रियाकलाप अगाडि बढाएपछि खेलाडीसमेत उत्साहित भएका छन् ।

खेलमैदान निर्माण भइसकेका ठाउँमा पछिल्लो समय खेलकूद गतिविधिसमेत हुन थालेका छन् । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि सबै स्थानीय तहमा खेलमैदानका साथै भौतिक निर्माणको काम धमाधम भइरहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार