काठमाण्डौंः कोरोना कहरमा झण्डै एक वर्ष प्रभावित बनेको खेलकूद क्षेत्र लयमा फर्किन थालेको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीसँगै खेलकूद क्षेत्रमा अभ्यासलगायतका कार्यक्रम स्थगन बनेपछि खेल जगत् नराम्ररी प्रभावित बनेको थियो ।
यहाँ १६ खेलमा कबर्डहल र खुलामञ्चका साथै यहाँको झलारी, दोधारा चाँदनी, पुनर्वास क्षेत्रमा खेल गतिविधि सञ्चालनमा रहेको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले जानकारी दिनुभयो । करीब डेढ वर्षदेखि पदाधीकारीविहीन रहेको जिल्ला खेलकूद विकास समिति कर्मचारी र खेल प्रशिक्षकको अग्रसरतामा खेल गतिविधि भइरहेका छन् ।
बक्सिङ ओलम्पियन तथा जिल्ला खेलकूद विकास समितिका बक्सिङ प्रशिक्षक डम्बरदत्त भट्टले पुरानै लयमा फर्किन खोजेको बताउनुभयो ।
“कोरोना कहरमा खेलाडीको मनोबल घटेको थियो”, उहाँले भन्नुभयो, “अब नियमित प्रशिक्षणमा आएर व्यस्त हुन थालेका छन् ।” उहाँले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलगत्तै कोरोना चपेटा पर्दा समस्यामा परेको बताउनुभयो ।
त्यसैगरी भलिबल खेलका राष्ट्रिय प्रशिक्षक जगदीशप्रसाद भट्टले कोरोना कहरले खेल जगत् प्रभावित भएका बेला यहाँ भलिबल प्रशिक्षण केन्द्रको जीर्णोद्धार गर्नुभयो । उहाँले पहिलो पटक यहाँ अन्तरराष्ट्रिय मापदण्डको बीच भलिबल कोर्टकोसमेत निर्माण गर्नुभएको छ ।
विसं २०६१ मा सुदूरपश्चिममै पहिलो पटक यहाँस्थित कबर्डहलमा नेपाली सेनाको सहयोगमा भलिबल प्रशिक्षण केन्द्र निर्माण गरेका प्रशिक्षक भट्टले अहिले भलिबलको प्रशिक्षण र व्यवस्थापनमा देखिएको सक्रियताले प्रशिक्षण केन्द्र थप आकर्षणको केन्द्र बन्न हो ।
अहिले भलिबलमा मात्रै दैनिक ८० जनाभन्दा बढी नयाँ खेलाडीको आगमन भएको छ । त्यसैगरी पछिल्लो समय विभिन्नस्तरका प्रतियोगितामा बढी उपाधि जितेर चर्चामा आएको कुस्ती खेलका प्रशिक्षक राजेन्द्र चन्दले खेलाडी नियमित प्रशिक्षणमा आइसकेको बताउनुभयो ।
“कोरोनाका बेला पनि खेलाडीले घरमा पनि सामान्य तालीम गरेर बसे”, उहाँले भन्नुभयो, “कोरोना कम भएसँगै खेलाडी नियमित प्रशिक्षणमा जुटिसके ।” कुस्तीका लागि प्रशिक्षण गर्न हलको समस्या भएपछि प्रशिक्षक चन्द यतिबेला नयाँ हल निर्माणका लागि पहलरत हुनुहुन्छ ।
“सदस्य सचिबवदेखि धेरै ठाउँबाट कुस्तीको भवन बनाउन आश्वासन मिलेको छ ।” चन्दले भन्नुभयो, “हल नहुँदा खेलकूदको सानो कोठामा प्रशिक्षण गराउनुपर्ने बाध्यता छ ।”रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया