असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रिय गौरवका आयोजना राष्ट्रिय रोग बन्दै ‘ढिलासुस्ती’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिएको जनाए पनि विगतमा जस्तै हुने ढिलासुस्ती भने हटेको छैन ।

विकास र समृद्धिको मुख्य नारा लिएको सरकारले विकास निर्माणमा छलाङ मार्न भने सकेको छैन । विकास र समृद्धिका लागि न्यूनतम भौतिक पूर्वाधार आवाश्यकता परिपूर्ति गर्न रणनीतिक र रूपान्तरणकारी विकासका आयोजनालाई छनोट गरेर सरकारले राष्ट्रिय गौरवका आयोजनाको रूपमा घोषणा गरेको छ । तर, यस्ता आयोजनाको पनि उल्लेखनीय प्रगति हुन सकेको छैन ।

हाल २५ वटा राष्ट्रिय गौरवका आयोजना छन् । सरकारले सिक्टा सिँचाइ आयोजना, माथिल्लो तामाकोसी जलविद्यत् आयोजना, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र मेलम्ची खानेपानी आयोजनाको म्याद पटकपटक थप गर्दै चालू आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

२०५५/५६ बाट निर्माण सुरु गरिएको मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य हरेक वर्ष सम्पन्न गरिने घोषणा गरिए पनि अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन । सरकारले पछिल्लोपटक चालू आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको छ । यो २०७०/७१ मै सक्ने लक्ष्य थियो । म्याद थप गरेर चालू वर्ष सम्पन्न गर्ने लक्ष्य लिइएको हो । १७ अर्ब ४३ करोडमा सक्ने सुरुवाती अनुमान भए पनि समय थपिएसँगै हाल ३१ अर्ब ३६ करोड लागत लाग्ने अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०६१/६२ बाट निर्माण सुरु भएको सिक्टा सिँचाइ आयोजनाको २०७१-७२ मा सक्ने अनुमान रहे पनि समय थप हुादै चालू आर्थिक वर्षमा सक्ने लक्ष्य छ । पटकपटक म्यादथ थप हुँदा यसको लागत २५ अर्ब ५ करोडको अनुमान पुगेको छ । पश्चिम मूल नहर ४५ किलोमिटर निर्माण कार्य सकिएको जनाइएको छ भने पूर्वी मूल नहरको ५० प्रतिशत काम सकिएको छ ।

२०६७/६८ सालबाट निर्माण सुरु भएको बहुप्रतिक्षित माथिल्लो जलविद्युत् आयोजनाको यसै चालू आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ४ सय ५६ मेगावाट जलविद्युत् उत्पादन क्षमता भएको आयोजना अब सञ्चालनको तयारीमा छ । आयोजना अन्तर्गत हेडबक्सको सबै संरचना निर्माण गरी रिजर्भ वायरको परीक्षण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

दोस्रोपटक म्याद थप गरेर यसै वर्ष सकिने लक्ष्य राखिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पुस मसान्तसम्म ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । सरकारले यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया